मेचीनगरमा फागुन २० देखि बुद्धिचाल प्रतियोगिता हुने

0
748

काँकरभिट्टा ।

स्वर्गीय पीवी थापा स्मृति अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता फागुन २० देखि २५ गते सम्म झापाको मेचीनगरमा हुने भएको छ ।

प्रतियोगिता आयोजक नाईट चेस क्लव काँकरभिट्टाले शनिबार पत्रकार सम्मेलन आयोजना गरी तयारी पुरा भएको जनाएको हो । प्रतियोगिताको आधारभुत तयारी भइसकेको र नेपाल चेस एसोसिएशनबाट अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा स्वीकृती समेत लिइ सकिएको क्लबका अध्यक्ष राजु कार्कीले बताउनुभयो । औपचारिक रुपमा सन् २००४ बाट बिभिन्न प्रतियोगिताको माध्यमबाट नाइट चेस क्लवले बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै बुद्धिचाल खेल र खेलाडीलाई प्रवद्र्धन गर्दै आएको कार्कीले बताउनु भयो ।

प्रतियोगितामा खुल्लातर्फ २० उत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्दितीय, तृतीय हुनेले क्रमशः नगद ६० हजार, ५० हजार तथा ४० हजार प्राप्त गर्नेछन् । साथै थप उत्कृष्ट १७ जनालाई अधिकतम १८ हजार देखि न्युनतम ५ हजार सम्मको नगद पुरस्कार राशीको ब्यवस्था गरिएको अध्यक्ष राजु कार्कीले जानकारी दिनु भयो ।

भेट्रान, प्रदेश स्तरीय, मेचीनगरका बिभिन्न उमेर समुह लगायत अन्य थप २० जनाले ३ हजार देखि १ हजार सम्म नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनमा करिव २४ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । जस अन्तर्गत पुरस्कार राशीमा मात्र नगद २ लाख ८४ हजार ९ सय खर्च हुने अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगितालाई मेची युमा चेस एकाडेमीले सहयोग गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजन मेचीनगर ६, काँकरभिट्टा निवासी अनिता थापाले ब्यक्तिगत रुपमा गर्नु भएको बताइएको छ । थापाका पुज्नीय पिताको पुण्य स्मृतिमा यो प्रतियोगिता सञ्चालन हुँदै आएको पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले बताउनु भयो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका गरी करिब २५० जना खेलाडीको सहभागीता रहने क्लवका संस्थापक अध्यक्ष एवम् प्रतियोगिताका निर्देशक विश्व विजय घिमिरेले बताउनु भयो । अहिले सम्म बंगलादेशका २०, भारतका ३० तथा नेपालका केही खेलाडीहरुले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराई सकेको र भुटानबाट समेत खेलाडीहरु सम्पर्कमा आईरहेको घिमिरेले जानकारी दिनु भयो ।

घिमिरेका अनुसार प्रतियोगिताको प्रमुख आर्विटारको रुपमा विजयकुमार थापा रहनु हुनेछ । क्लवका अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका महासचिव अशोक राईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here