अनशनकारीको माग पूरा गर्न काँग्रेसको आग्रह

१० फाल्गुन २०७६, शनिबार मा प्रकाशित

काठमाडौँ,

प्रमुुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चितवनको माडी नगरपालिका–४ मा स्थानीय समस्या समाधानका लागि चार दिनदेखि आमरण अनशन बसिरहेका अनशनकारीको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी सो आग्रह गर्नुभएको हो ।

अनशनकारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचाँै संशोधन नियमावली २०७६ ले माडीजस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानवअधिकारसहितको संरक्षणका लागि पुनः संशोधन हुनुपर्ने माग राखेका छन् ।

यस्तै, बाँदरझुला, अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोसरूपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी सीमामा पर्ने रीउखोला करिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने मागसमेत राखेका छन् ।

अनशनकारीले कसरादेखि वनकट्टा साथै वगहीदेखि बाँदरझुलासम्म बाटो स्तरोन्नति गरी चौबिसै घण्टा खुला राख्नुपर्ने, माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरूपमा स्थानीय तहको अधिकार हुनुपर्ने माग राखेका छन् ।

स्थानीयवासीले पटक–पटक माग उठाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन गर्न नसकेपछि माडी नगरपालिका–१ का अध्यक्ष कृष्णप्रसाद पौडेलसहित वडा सदस्य फागुन ७ आमरण अनसन बसेका थिए । काँग्रेसले स्थानीय तहले उठाएको मागलाई समर्थन गर्दै अनशनरत व्यक्तिको जीवन रक्षार्थ सरकारलाई तत्काल माग सम्बोधन गर्न ध्यानाकर्षण गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here