पर्यटक भित्र्याउन ‘इको टुरिजम’

१२ फाल्गुन २०७६, सोमबार मा प्रकाशित

सुरेन्द्र भण्डारी / बिर्तामोड।

एकदशक अघिसम्म आन्तरिक पर्यटकका लागि बाह्रदशी डाँडो उत्कृष्ट गन्तव्य थियो । विशेषगरी बनभोजका लागि उत्कृष्ट गन्तव्यका रुपमा रहेको बाह्रदशी सामुदायिक वनलाई व्यवस्थित गर्न नसकिएकै कारण यो गन्तव्य ओझेलमा परेको थियो ।

अझ, बनाइएका ‘पिकनिक स्पट’लाई समेत व्यवस्थित नगर्दा साविक डाँगीवारी गाउँ विकास समिति वडा नम्वर ८मा पर्ने यो ठाउँ ओझेलमा मात्र परेन संरक्षणको अभावमा बनाइएको पिकनिक स्पट पनि जीर्ण भए । ५० विगाह क्षेत्रफलमा रहेको यो सामुदायिक वनलाई संरक्षण गर्न नसक्दा २०६५ अघि अतिक्रमणमा परेको थियो । जसका कारण वनको क्षेत्रफल अहिले खुम्चिएको छ ।

महाभारतकालीन इतिहास बोकेको कञ्चनगढ शिवालय मन्दिर समेत यही बन क्षेत्रभित्र पर्ने भएकाले पौराणिक महत्व बोकेको भए पनि यो ठाउँ अझैं ओझेलमा छ । समुद्री सतहबाट ३०० मिटर उचाइमा रहेको बाह्रदशी आफैंमा मधेशभित्रको पहाड हो । यहाँ पानीको अभावका कारण पर्यटकीय गन्तव्य भएर पनि विकास हुन नसकेको स्थानीय मधुराम पनेरु बताउँछन् । उनी भन्छन्– ‘पहिला नाम चलेको ठाउँ थियो, अहिले ओझेलमा प¥यो । तर, ‘इको टुरिजम’को अबधारणा अघि बढाएसँगै यस ठाउँले मुहार फेर्ने निश्चित छ ।’

केही वर्ष अघिसम्म यहाँ पानीको व्यवस्था नभएकै कारण जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य भएर पनि केही गर्न सकिएन– उनले भने– नेपाल सरकारको आर्थिक सहयोगमा अहिले यस ठाउँमा खानेपानीको व्यवस्था गरिएको छ, अब यसलाई पर्यटकीय गन्तव्यको रुपमा व्यवस्थित गरेर लाने योजना बनाएका छौं ।’

विज्ञहरूले यस ठाउँलाई ‘इको टुरिजम’ (पर्या–पर्यटन) का लागि नमूना गन्तव्य भएको बताएका छन् । जसका कारण यस ठाउँमा बढीभन्दा बढी पर्यटक भित्र्याउन पर्या–पर्यटनलाई व्यवस्थित ढंगले अघि बढाउन लागिएको उनको भनाइ छ । उनी भन्छन्– यहाँको इको टुरिजमलाई प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक भित्रिने थिए, किनकि यो ठाउँ ऐतिहासिक भएकाले यहाँ धार्मिक पर्यटकहरु बढी आउँछन् ।’

ऐतिहासिक महत्व बोकेको कञ्चनगढ साधुकुटी धाम पनि यहीं भएकाले यस ठाउँको विकासका लागि गाउँपालिकाले विशेष योजना अघि सारेको छ । बाह्रदशी गाउँपालिका वडा नम्वर ७का अध्यक्ष रत्नप्रकाश योङ्हाङ भन्छन् – अब बाह्रदशी डाडाँमा भ्यू टावर बनेपछि बाह्रदशीबाट सिङ्गो झापाको अबलोकन गर्न सकिनेछ ।’
गाउँपालिकाले भ्यू टावर निर्माणका लागि विशेष कार्ययोजना बनाएर एक करोड रुपैयाँ लगानी गर्दैछ । प्रदेश सरकार र गाउँपालिकाको तर्फबाट विनियोजित बजेटले भ्यु टावर निर्माण हुने बताइएको छ । भ्यू टावरको केही दिनमै शिलान्यास गरिने अध्यक्ष योङ्हाङले बताए ।

पर्यापर्यटनका लागि प्रशस्त सम्भावना बोकेको यो ठाउँ प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको भन्दै स्थानीय घनेन्द्र कोइराला भन्छन्– बाह्रदशी गाउँपालिकाको नाम पनि यही ठाउँको नामबाट राखिएको छ । तर, यस ठाउँको विकासका लागि पहल नगरिँदा पर्यटकीय गन्तव्यका रुपमा रहेको बाह्रदशी ओझेलमा प¥यो ।

सामुदायिक बनले ‘इको टुरिजम’ को अबधारणा ल्याए पनि गाउँपालिकाले पर्यापर्यटनका लागि सहयोग पु¥याउनुपर्ने उनको भनाइ छ । उनी भन्छन्– बाह्रदशीमा भ्यू टावर निर्माणसँगै बाल उद्यान, बगैंचा, व्यवस्थित पिकनिक स्पट, मिनी चिडिया घर, होमस्टे र मनोरम पार्क निर्माण गर्ने हो भने पर्यटकहरुको घुइँचो लाग्ने निश्चित छ ।

पर्यापर्यटनको हिसाबले हेर्ने हो भने स्थानीय वन पैदावारमा आधारित काष्ठ कलाका वस्तुहरू निर्माण गरी बिक्री वितरण, होम स्टे सञ्चालन, मिनी जु गार्डेन, पिकनिक स्पट, स्मारक निर्माण आदिमा पहल गर्न जरुरी छ– उनले भने– पर्यापर्यटन प्रवद्र्धनमा समेत सामुदायिक वनको एक्लो प्रयासले नभ्याउने हुँदा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग आवश्यक छ । यस ठाउँमा पर्या पर्यटनलाई व्यवस्थित गर्दै लान सकिए यहाँका कोही माासिन बेरोजगार बस्नु पर्दैन– कोइराला भन्छन्– पर्यापर्यटन यहाँको अहिलेको प्रमुख आवश्यकता हो । जसका लागि फागुन १७ गतेको बैठकले यस ठाउँलाई कुन रुपमा अघि बढाइन्छ निक्र्यौल हुन्छ ।

अझ बाह्रदशीमा रहेको कञ्चनगढ शिवालय मन्दिरलाई व्यवस्थित गर्दै लैजाने हो भने बाह्रदशीमा धार्मिक पर्यटकहरु पनि उत्तिकै भित्रिन्छन्– कोइरालाले भने– यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा पनि विकास गरेर लान स्थानीय सरकारको पहल जरुरी छ ।

कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवम् श्रीकृष्णको मन्दिरसमेत रहेको छ । प्रत्येक वर्ष शिवरात्रि, बालाचतुर्दशीमा यस ठाउँमा मेला लाग्ने गर्छ । महाभारतको विराट पर्वमा, श्रीस्वस्थानी व्रतकथा र श्रीमद्भागवतको अष्टम स्कन्धमा यहाँको चर्चा भएको पाइन्छ । जसअनुसार समुद्र मन्थनका क्रममा भगवान् शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्य पतन हुँदा उक्त स्थानको निर्माण भएको र वीर्य पतन सँगसँगै सुनचाँदी, हीरामोती आदिसमेत पतन भएको किंवदन्ती रहेको छ । यस स्थानमा वि.सं. १९९० तिर एक साधुले कुटी बनाएर बसेकाले यस स्थानलाई साधुकुटी समेत भन्ने गरिएको कोइराला बताउँछन् ।

साधुकुटीमा गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रम समेत निर्माण गरिएको छ । यहाँ आवाससहितको बटुकका लागि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । जनस्तरबाट आर्थिक स्रोत जुटाएर लामो समयदेखि यहाँ बटुकलाई राखेर शिक्षा प्रदान गरिँदै आइएको छ ।

यहाँको अर्को विशेषता भनेको गौरीशंकर शिवालय मन्दिरकै छेउमा झण्डै २०० वर्ष पुरानो एक वृक्ष थियो– कोइराला भन्छन् – त्यो वृक्ष अहिले ढल्यो । हाँगाबाट जरा पलाएर सो वृक्ष झांगिएको थियो । ब्रह्मनिष्ट १००८ स्वामी डा. रामानन्द गिरीजस्ता विद्वानले पदार्पण गरेको यो स्थान तीन बिगाह १८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । १८ औँ शताब्दितिर यो स्थान पत्ता लगाएका एक साधुले अलौकिक वृक्षको फेदमा त्रिशुल गाडी, धुनी जगाई बसेको वृक्ष मासिए पनि नजिकै रहेको ताडीको वृक्ष भने अहिले पनि देख्न सकिन्छ । वि.सं. १९९३मा नापी भएपछि यस ठाउँमा ठाना र बजारको समेत व्यवस्था गरिएको उनी बताउँछन् । तर, २००७ सालको क्रान्तिपछि यहाँका कार्यालय सारिएको उनको भनाइ छ ।

पौराणिक र ऐतिहासिक महत्व बोकेको यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास गरेर लान सकिए भित्रिने पर्यटकको संख्या उल्लेख्य हुने थियो ।
पर्यापर्यटनको सम्भावनालाई मध्यनजर गर्दै बाह्रदशीमा विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको बाह्रदशी सामु्दायिक बनका अध्यक्ष केशव लिवाङले बताए । ५० विगे सामुदायिक वनका रुपमा चिनिने यो वन अहिले २२.५१ हेक्टर क्षेत्रफलमा खुम्चिएको छ । यसको कारण हो– सामुदायिक वनको अतिक्रमण । वन समुदायलाई हस्तान्तरण अघि अतिक्रमण भएको र घर टहरा बनेको अध्यक्षको भनाइ छ ।

यो वन समूह आफैंमा सानो छ । तर, सम्भावना भने त्यत्तिकै धेरै छ– उनले भने– आर्थिक अभावका कारण यस ठाउँको विकास हुन सकेको थिएन, अब यस ठाउँको विकासका लागि स्थानीय सरकारसंग मिलेर इको टुरिजमलाई प्राथमिकतामा राख्छौं ।

६ सय ३४ उपभोक्ता रहेको यो वन क्षेत्रभित्र मनोरम दृष्य भएकाले यसलाई अझ व्यवस्थित गर्दै भ्यू टावर निर्माणसंगै पिकनिक स्पट र पोखरीलाई पनि व्यवस्थित गरिन्छ– अध्यक्ष लिवाङले भने – जसका कारण यस ठाउँको विकास हुने र आन्तरिक तथा वाह्य पर्यटकहरु भित्रिने हामीले अपेक्षा गरेका छौं ।

के हो पर्यापर्यटन ?

सेवामूलक उद्यमको रुपमा चिनिने पर्यटनका धेरै आयामहरु छन् । जसमध्ये सबै भन्दा विशाल क्षेत्र भएको पर्यापर्यटन हो । पर्याको अर्थ पर्यावरण र पर्यटनको अर्थ घुम्नु हो । पर्यावरणीय क्षेत्रमा पर्याबरणलाई खलल नपर्ने गरी सञ्चालन गरिने पर्यटन सम्बन्धी क्रियाकलापहरु पर्यापर्यटनको मर्म र सिद्धान्त अनुसार सञ्चालन हुन्छन् ।

पर्यापर्यटनले बाताबरणलाई असर पर्ने सामग्रीहरुको प्रयोगमा निषेध गर्दछ । Take only Photographs and leave only foot-print भन्ने हो । त्यसकारण पर्याबरणीय पर्यटन अति बाताबरण मैत्री हो, जसले पर्यटकहरुलाई जतिसक्दो कम बाताबरणीय असर कम गराउने वा बाताबरणलाई असरमुक्त गराउने अवधारणा राख्दछ ।

पर्यालाई अंग्रेजीमा (Eco) भनिन्छ, यो शब्द ग्रीक भाषाको (OIKOS) ग्रीक भाषाबाट आएको हो । यसको अर्थ हुन्छ, परिवार तथा आश्रयस्थल । त्यसकारण शाब्दिक अर्थमा पर्यापर्यटनले प्रकृतिसंगको निकट आश्रय स्थलको गन्तव्यलाई परिभाषित गर्दछ ।

बाताबरणमैत्री क्रियाकलाप सञ्चालन गरी बाताबरणलाई दीगो राख्ने उपायहरुको अवलम्बन गर्दछ । अथवा पर्यापर्यटकीय क्षेत्रमा धुँवा, धुलो, जैविक विविधता नष्ट, प्राकृतिक श्रोतको दोहन, वनजंगल फँडानी, इत्यादिलाई निषेध गर्दछ । अथवा सरल भाषामा भन्नुपर्दा त्यस क्षेत्रमा गई फोटो मात्र खिच र पैतलाको डोब मात्र छोड भन्ने अर्थ लाग्छ । पर्यावरणीय पर्यटन अति बाताबरण मैत्री हो, जसले पर्यटकहरुलाई जतिसक्दो बातावरणीय असर कम गराउने वा बाताबरणलाई असरमुक्त गराउने अवधारणा राख्दछ ।

प्रकृति पर्यटन, हरियाली पर्यटन, प्रकृतिमुखी पर्यटन, जंगलप्रधान पर्यटन, साहसीक पर्यटन, वैकल्पिक पर्यटन, दीगो पर्यटन, उचित पर्यटन, पर्यावरणीय पर्यटन, र शान्तपर्यटन इत्यादि बढी प्रचलनमा रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here