जलवायु परिवर्तन, सगरमाथा संवाद र चन्द्रागिरि रिसोर्ट

१३ फाल्गुन २०७६, मंगलवार मा प्रकाशित

तुलसीराम खरेल,

उत्तरतिर तिब्बतीयन प्लेटु र दक्षिणतर्फ गंगाको सम्म फाँट दुबैलाई छोएको हिमालयको काखमा रहेको दक्षिण एसीयाको एउटा सुन्दर मुलुक नेपाल आज जलवायु परिवर्तको उच्च जोखिममा परेको छ । जलवायु परिवर्तनको चपेटामा परेका धेरै हिमाली मुलुकहरुको पंक्तीमा नेपाल पनि अग्रभागमा उभिएको छ । संसारका अन्य मुलुकहरुमध्ये पहाडी र हिमाली क्षेत्रमा हुने जलवायु परिवर्तन एवम् तापक्रम वृद्धिको असर भयावहरुपमा देखिएको छ । नेपाल, भारत, भुटानका हिमाली क्षेत्रहरु हिम नदी बिष्फोटनको उच्च जोखिममा रहेका छन् । पृथ्वी तात्ने प्रक्रियाको तिव्रताले यहाँको जैविक विविधता, पर्यावरण, दीगो बिकास, खेती प्रणाली सबैतिर विविध प्रकारका असरहरु देखाउन थालेको छ ।

नेपाल जलवायु परिवर्तन र यसको जोखिमको हिसावले चौथो मुलुकको रुपमा रहेको छ । यस कुरामा संसारको ध्यान आफूतर्फ आकर्शित गराउन माधवकुमार नेपाल नेतृत्वको सरकारले विगतमा सागरमाथाको आधार कालापत्थरमा मन्त्रीपरिषदको बैठक गराएको थियो । वर्तमान सरकारले नेपालमा सगरमाथा संवादको योजना बनाएको छ । पक्कै पनि सगरमाथा संवादले यस क्षेत्रले भोगिरहेका जलवायु परिवर्तनजन्य असरका कुराहरु र पूरा हिमालय क्षेत्रको पारिस्थितिक प्रणालीमा पार्ने असरहरुको बारे विश्वको ध्यान खिच्न सम्भव गराउन सक्छ ।

यस्तो अवस्थामा नेपालका निर्माण कार्यहरु जलवायु परिवर्तनको जोखिम कम गर्ने र पर्यावरणीय प्रभाव समेत नकारात्मक प्रकारको नहुने हुनुपर्दछ । तर, नेपाल सरकार कसैका आग्रह वा आफ्नै आसेपासे र ठेकेदारहरुको चंगुलमा फँसेको भन्ने आरोपहरु लागीरहेको देखिन्छ । काठमाडांै खाल्डोदेखी बाहिर रहेका डाँडाकाँडाहरुमा शुरु गर्ने भनिएका कतिपय व्यापारिक प्रयोजनका संरचनाहरुले उपत्यकालाई अक्सिजन प्रवाह गराउने जंगलको फँडानी हुने, जलीय पारिस्थितिक प्रणालीमा असर देखाउने, वाटर टेवलको असन्तुलन, पानीका स्रोतहरु सुक्न सक्ने चुनौतिलाई ध्यान दिन नसकेको देखिन्छ ।

ऐतिहासिक चन्द्रागिरिमा निर्माण गरिएका संरचनाहरु कतिपय पर्यावरणमैत्री नरहेका र वातावरणीय प्रभाव मूल्यांकन गराउँदा गलत ढंगले तथ्याङ्कहरु दिएको तथा गलत ढंगले कंक्रीटका भवनहरु बनाएको भनेर ठूलै आलोचना भएकै हो । तत्कालीन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०६९ भदौ १९ मा स्वीकृत ईआइए प्रतिवेदनमा वातावरणमैत्री ४० वटा कटेज निर्माण गरिने उल्लेख भए पनि चन्द्रागीरी हिल्सले त्यस विपरित कंक्रीट संरचना खडा गरेपछि सरकारले जरिवाना गरेर पूरक ईआईए गर्न समय दिएको थियो । जरिवाना पछि हिल्सले पूरक ईआईए गरी पहिले निर्माण गरिएका छ वटा कंक्रीट संरचनालाई बैध बनाएको कुरा सञ्चारमाध्यमहरुमा समेत प्रकाशित भइसकेको छ । प्रतिवेदन स्वीकृत गरिसकिएको अवस्था छ । प्रतिवेदनमा बोरिङको पानी प्रयोग गर्दा उपभोक्ता समिति सम्बन्धित निकायबाट इजाजतपत्र लिनुपर्ने र वाटर रिचार्जको लागि उचित प्रविधि अपनाउनुपर्ने एवम् सकभर पानी पुनः प्रयोग गर्ने व्यवस्था लगायत अन्य सबै शर्त पूरा गर्नुपर्ने उल्लेख छ भनिन्छ ।

नेपाल सरकारले आगामी चैत २० गते शुरु हुने जलवायु परिवर्तन बारेको अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ गर्ने तयारी गरेको छ । तीन दिने उक्त सम्मेलनको उद्घाटन सत्र सोल्टी होटलमा गरिने र अन्य कार्यक्रमहरु पेलेनरी सेसन, अन्य प्यारालल सेसनहरु उक्त रिसोर्टमै हुने कुरा सगरमाथा संवाद सचिवालयको वेबसाइटमा उल्लेख छ । कार्यक्रममा सार्क र बिमस्टेकसहित करिब दुई दर्जन मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री, राष्ट्र संघीय निकायका प्रतिनिधिहरु एवम् ७० देशका करिब दुई सय ५० प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइरहेको र यसैबीच सगरमाथा संवाद नेपालमै गर्नु एकदमै राम्रो कुरा हो । पाँच सत्रमा सगरमाथा राष्ट्रिय संवाद भइसकेको छ । परराष्ट्र मन्त्रालयद्वारा आयोजित उक्त संवादले अन्तर्राष्ट्रिय संवादको क्रममा नेपालले राख्नुपर्ने धारणाहरु प्रष्ट पार्न सक्ने अनुमान गरिएको थियो ।

आगामी संवादको पहिलो संस्करणको बिषय नै ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ राखिएको छ । पर्वतीय मुलुकहरुले जलवायू परिवर्तनको चपेटामा परेको टड्कारो यथार्थ नेपालले दीगो विकासमा भोग्नुपरेको अप्ठेरो अनि नेपालको हिमालयन इकोसिष्टममा देखिएका चुनौतिहरुलाई विश्वका मुलुकहरुको सामु राख्न पाउने एउटा ठूलो अवसर पनि हो । तर, सम्मेलन पर्यावरणीय हिसाबले आलोचनाको वृत्तभित्र परेको र सजाय समेत भोगेको चन्द्रागिरि हिल्सको निर्माण संरचनाभित्र गर्नु कतिको व्यवहारिक होला ? पर्यावरणको मुद्दालाई झन् आलोचनाको केन्द्रभित्र पार्ने सम्भावनालाई नकार्न सकिएला र ?

चन्द्रागिरि त विवादमा प¥यो नै फेरि पनि शिवपुरीलाई समेत आलोचनाभित्र पार्न खोजिएको छ । तीन तिरैबाट केवलकार चलाउने भन्नेखाले समाचारहरुले दीगो बिकास र स्वच्छ पर्यावरणको नारालाई सिँधै नकारात्मक असर पार्ने बुझिन्छ । काठमाडौँ खाल्डोलाई अक्सिजन प्रवाह गर्ने वरिपरीका डाँडाहरुको जंगल फँडानी र मानवीय क्रियाकलापले काठमाडौँलाई कालान्तरमा मृत शहर बनाइ दिनेछ । इकोटुरिजम एण्ड केवलकार लिमिटेड अनि स्थानीय सरकार एवम् संघीय सभासद र मन्त्रीहरु नै यसको लविङमा लाग्नु पक्कै पनि सुखद् होइन् । गोकर्णेश्वरबाट केवलकारको अन्तिम विन्दु मानिएको मुलाबारीको बस्ती २०३८ सालमा हटाएर जलाधार संरक्षणको लागि कार्य गर्न खोजिएकोमा आज ३८ बर्षपछि त्यसको उल्टोतिर गर्न खोजिएको हाम्रो यात्रा विगतभन्दा कसरी दुरदृष्टि भएको मान्न सकिन्छ ?

उक्त क्षेत्रमा रहेका बागद्वार, जामाचो, तारेभीर, नागी गुम्बा जस्ता धार्मिक पर्यटकीय क्षेत्रको उत्थान गरी तिनीहरुका मौलिक पहिचान बचाउने कुरामा किन ध्यान नगएको होला ? शिवपुरी नागार्जुन क्षेत्र जैविक विविधताको दृष्टिकोणले सम्पन्न मानिन्छ । जलाधार क्षेत्र र जैविक विविधतायुक्त स्थानमा मानवीय कोलाहाल मच्चाउनेखाले क्रियाकपला हुनबाट रोक्नु आजको प्रमुख आवश्यकता बनिसकेको छ । चन्द्रागिरि एउटा ऐतिहासक स्थान हो । यस स्थानबाट पृथ्वीनारायण शाहले उपत्यकाको दृष्यावलोकन गरेका थिए । लोभलाग्दो काठमाडौँ खाल्डोलाई हेरेर त्यहीँबाट उपत्यकाको आक्रमण योजना बनाएर एकीकरणको अभियान चालिएको थियो ।

यस्तो ऐतिहासिक स्थान चयन नराम्रो मान्न सकिन्न । तर, वातावरणीय प्रभाव मूल्यांकनमा चुकेको र कारवाहीमा समेत परेको चन्द्रागीरी हिल्सको संरचनामै यस्तो सम्मेलन गर्नुले उल्टै गलत तरिकाले व्यवसाय गर्नेहरुले पुरस्कार पाएका त होइनन् भन्ने प्रश्न उब्जाइ दिने पक्का छ ।

(खरेल निधि–इन्द्रेणी क्याम्पस तथा महेन्द्र–रत्न मावि बिर्तामोडका जीव बिज्ञान बिषय शिक्षक हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here