इन्डोर्फिन, संविधान संशोधन र नेकपाको शक्ति सन्तुलन

१४ फाल्गुन २०७६, बुधबार मा प्रकाशित

चिन्तामणि दाहाल,

अहिले सत्ताधारी दल भर्माउन थालेको छ । नेकपा नाम गरेको राजनीतिक दलका नेताहरुको चौतर्फी सोच, विचार र शैलीमा पनि एकमत हुन नसकेर पुरै दल भर्माउन थालेको हो । यस भर्माईभित्र साना–तिना कारण थुप्रै होलान् र छन् । तर, अहिले तत्कालीन र मूख्य तीन कुरा देखिएका छन् ।

एक, इन्डोर्फिन (भ्लमयचउजष्लभ), दुई संविधान संशोधन र तीन शक्ति सन्तुलन । इन्डोर्फिन मानसिक समस्या हो भने संविधान संशोधन र शक्ति सन्तुलन राजनीतिक समस्या हो । पहिलो कारणले उनीहरुमा रहेको परपीडकको मनोवृत्तिलाई देखाउँछ अर्थात अर्कोलाई पीडा दिन आफैं पीडा खपेर आनन्दित हुने हो । तर, दोश्रो र तेश्रो कारण भनेको विशुद्ध राजनीतिक हो ।

पहिलो कुरा इन्डोर्फिनमा जाउँ । मानिस पनि अरु विविध प्राणीहरु जस्तै एउटा प्राणी हो । यसको बुद्धिमा विकास र विस्तार भएसँगै यसले आफैंलाई बाँध्ने नियम विनियम बनाएको छ । त्यस नियम विनियममा शासक र शासित पनि बनाइए भने समाज भनेर समाजका ठेकेदार पनि बनाइए । धर्म जोडिएपछि धार्मिक ठेकेदार पनि भए । स्वार्थ जोडियो र पल्लवित भयो । बलियो र निर्धो, ज्ञानी र अज्ञानी, रोगी र निरोगी प्राणीको स्वभाविक विकासक्रमकै अंग भएकोले त्यसलाई व्यवस्थित बनाउन बनाइएका नियम कानूनले समूह तयार भए । समूहबाट राजनीतिक दलहरु पनि सृजना गरिए ।

जसले जे बनाए पनि जन्मँदै प्राणीमा हुने स्वार्थी जिनले गर्दा मान्छेमा पनि रहेको स्वार्थी जिन आवश्यकता अनुसार हावी हुँदा अरुलाई दुःख दिएर आफ्नो स्वार्थ पूरा गरेर आनन्दित हुने कार्यहरु अघि बढ्ने नै भए । अर्थात् परपीडा गरेर आनन्द लिने नै भए । तर,मान्छे बुद्धि पनि भएको प्राणी भएकोले उसले अरुलाई मात्र दुःख दिएर होइन आफैंलाई पनि दुःख दिएर आनन्दित हुन थाल्यो । अर्थात् हाम्रो शरीररको संरचना नै यस्तो बनेको छ कि शरीरका कुनै अंगलाई हामीले दुःख दियौं भने हाम्रो मष्तिस्कले त्यो पीडा कम गर्न एउटा जैविक रशायन उत्पादन गर्छ र पीडा कम गराई मान्छेलाई आनन्दित बनाइ दिन्छ । त्यसैलाई जैविक शब्दावलीमा इन्डोर्फिन भनिन्छ । जस्तो हामी पिरो भए पनि खुर्सानी खान्छौं र स्या–स्या सु–सु गर्दै स्वादिलो भयो भन्छौं । जति नै पीरो भए पनि पटक–पटक खुर्सानी खान्छौं । शरीरलाई कष्ट भए पनि कडाभन्दा कडा व्यायाम गर्छौं र आनन्दित हुन्छौं । त्यो आनन्द दिने काम इन्डोर्फिनले गरेको हो ।

अर्कोलाई पीडा दिएर आनन्द लिंंदा इन्डोर्फिन सक्रिय हुँदैन । तर, आफैंलाई दुःख दिँदा इन्डोर्फिन रसायन बन्छ । जीव वैज्ञानिकहरुले लामो सोध अनुसन्धानपछि दुःख दिएर पनि आनन्द मिल्ने कारण पत्ता लगाउनेक्रममा यस रसायनको बारेमा जानेका हुन् । अहिले नेकपाभित्र आफैंले आफैंलाई दुःख कष्टमा राखेर आनन्द लिन केही नेताहरु सक्रिय छन् । यस्तो काम उनीहरुले जानेर वा नजानेर गरिरहेका होलान् । कुन नेताले कसरी यस्तो काम गर्दै छन् भन्ने पत्ता लगाउने काम पाठक वर्गमा छोडेर आलेखलाई अरु कारणतिर लान्छु ।

दोश्रो, संविधान संशोधनको कुराले अहिले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । बेला न कुबेला बजिमेला जस्तै मानिएको छ संविधान संशोधनको अहिलेको कुरा । विगत चार बर्षदेखि अर्थात् संविधान जारी भएकै दिनदेखि संशोधनको माग गरिरहेका मधेशी र जनजातिका माग पूरा गर्न संविधान संशोधन गर्न भनेर नेकपाले कार्यदल बनाएको भए यस्तो तरंग हुने थिएन ।

तर, एउटा नेताको इच्छा पूर्ण गर्न बरिष्ठ मध्येका नेता माधव नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएपछि भने नेकपाभित्रै, कार्यदलभित्रै र समग्र राजनीतिक क्षेत्र तरंगित बनेको हो । नेपाका सदस्ययहरुले यसको विरोध शुरु गरिसकेका छन् भने प्रमुख प्रतिपक्षका संविधानका जानकारले पनि यस किसिमको नेकपाको हर्कतको विरोध गरेका छन् ।
यो आलेख प्रकाशन भएका बेला यो कार्यदल भताभुंग भइसकेको हुन सक्छ । भए पनि वा नभए पनि नेकपाभित्रको विचलन भने यो कार्यदल निर्माणको कुराले देखाउँछ । दुई अध्यक्ष मध्ये संगठनको सामान्य जिम्मा पाएका प्रचण्डको प्रस्तवमा केपी शर्मा ओलीकै उपस्थितिमा यो कार्यदल बन्यो । तर, कार्यदल बनेर समाचार सार्वजनिक भएसँगै यसको विरोध र हौवा उडाउन थालियो ।

कार्यदलकै दुई सदस्यले कार्यदलमा बस्न अस्वीकार गरे । उनीहरुले अहिले संविधान संशोधन त्यो पनि राष्ट्रिय सभा सदस्यबाट पनि प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने प्रात्रधान राखेर गरिने संशोधन आवश्यक छैन भनेर विरोध नै गरे । ती कुरा बाहिर आएपछि कार्यदल भताभुंग भयो भनेर सञ्चारमाध्यमले समाचार नै लेखिसकेका छन् ।

तेश्रो, भनेको नेकपाभित्रको शक्ति सन्तुलन । एमाले र माओवादीको एकीकरण भए पनि भावनात्मक एकीकरण भई नसकेकोले आउँदो महाधिवेशनलाई लक्षित गरी दुबै पुराना समूहले नयाँ समीकरण बनाएर शक्ति सन्तुलनको प्रयास थालेका छन् । एउटाको नेतृत्व प्रण्डले र अर्कोको नेतृत्व ओली स्वयमले गरिरहेका छन् । तर, सन्तुलनको स्ववरुप र अवस्था भने ठ्याक्कै पूर्व एमाले र पूर्व माओवादी आ–आफ्ना धारमा छैनन् । ओलीको कार्यशैली मननपराउने एमालेकै केहीलाई लिएर प्रचण्डले र प्रचण्डको शैली मननपराउने माओवादीकै केहीलाई लिएर ओलीले शक्ति सन्तुलन बनाउने काम गरिरहेका छ्न् । उनीहरुको व्यवहारबाट यस्तो विश्लेषण गरिएको हो ।

यही शक्ति सन्तुलनकै परिणाम हो अहिलेको विचलन र अन्तर विरोधका कुरा । बामदेव गौतमलाई उपाध्यक्ष बनाउन पार्टीको विधान संशोधनदेखि नै यस्तो देखिएको हो । अहिले पनि गौतमलाई राष्ट्रिय सभामा लगेर ओलीविरुद्ध प्रधानमन्त्रीको दाबेदार बनाएर समूह तयार पार्ने अनि गौतमलाई पाखा लगाएर आफैं प्रधानमन्त्री बन्ने कुटिल चाल प्रचण्डले गरिरहेका हुन कि भन्ने आशंका पनि नेकपाभित्रै व्याप्त छ ।

यही शक्ति सन्तुलनकै कडीका रुपमा अहिलेको संविधान संशोधनको राग गाउन थालिएकोले कतै यसले नेकपालाई फुटको संघारतिर त लाँदैन भन्ने आशंका छ । त्यसमाथि एमसीसी पनि पार्टीभित्र फुट ल्याउने अर्को कडी छँदैछ भने महरा काण्ड र बास्कोटा काण्ड पनि यही समयको सेरोफेरोको कडी हो भन्दा अन्यथा नहोला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here