गौरादह।
गौरादह नगरपालिका–८ जुरोपानीका बजरा माझीले नयाँ घर बन्ने भएपछि गत पुस महिनामा आफ्नो घर भत्काए । नयाँ घर बन्ने भएपछि उनीसँगै उनीकी श्रीमतीसहित सात जनाको परिवार दङ्ग थियो । ३ छोरा र २ छोरीसहित बसेको उनको परिवार पुस महिनादेखि कोही छिमेकीकोमा र कोही एक कोठे पुरानो घर र भान्सा घरमा कोच्चिएर रात कटाउने गर्छन् । जाडोयाममा कठ्याङ्ग्रिएर रात कटाउन निकै गाह्रो भएको छ – उनले भने– घर कहिले बनाइ दिने हो थाहा छैन ।
वडा कार्यालयले घर निर्माण गरिदिने आश्वासन दिएपछि उनले घर भत्काएका हुन् । बेला–बेलामा कर्मचारी र जनप्रतिनिधिहरूले घर निर्माण हुने विषयमा सोधपुछ त गर्छन्, तर कहिले बन्छ भनेर सोध्दा अब बनिहाल्छ नि भनेर जवाफ दिने गरेको उनी बताउँछन् । पुरानो एक कोठे भएको साँघुरो घरमा बस्दै आएका बजाराले छोराबुहारीसहित एकैघरमा बस्न बाध्य भएको बताए ।
१० धुर जग्गामा नयाँ घर निर्माण हुने भएकाले पुरानो एक कोठे घरमा बस्दै आएको उनले बताए । जग्गाको नाममा १० धुर मात्र त्यो पनि ऐलानी जग्गा रहेको उनले बताए । दैनिक ज्यालादारीबाट घर परिवारको आवश्यकता टार्दै आएका बजरा मात्र होइन वडा नं. ८का अन्य तीन घर परिवारको पनि अवस्था उस्तै छ ।
गौरादह–८मा बजारा माझीसहित परमानन्द ऋिषिदेव, तारादेवी दर्जी र जितु रिखियासनको घर पनि निर्माण हुन सकेको छैन । उनीहरूले पनि घर निर्माण गरिदिने वडा कार्यालयबाट आश्वासन पाएपछि पुरानो घर भत्काएर अस्थायी रूपमा झुपडी बनाई पुस महिनादेखि बस्दै आएका छन् । वडा कार्यालयमा पटक–पटक बुझ्न जाँदा तुरुन्तै निर्माण हुने बताउने वडा कार्यालयले हालसम्म निर्माण शुरू नगर्दा निर्माणका लागि झारिएको गिट्टी र बालुवा हेरेर चित्त बुझाउनु परेको उनीहरू बताउँछन् ।
गौरादह नगरपालिका सबै वडाहरूमा गरीब तथा विपन्न परिवारलाई घर निर्माणका लागि प्रदेश तथा संघीय सरकारबाट वजेट विनियोजन भई निर्माण कार्य थालनी भए पनि एकाएक निर्माण कार्य रोकिएपछि विपन्न परिवार अलपत्र परेका हुन् । वडा कार्यालयहरूले विपन्न परिवारलाई घर निर्माण गर्ने आश्वासन दिँदै गिट्टी, बालुवा तथा घर निर्माण सामग्री गत पुस महिनामै झारेका थिए । घर निर्माण हुने आशामा उनीहरूले आफ्नो भएको घर भत्काएका थिए । घर भत्काएपछि न नयाँ घर बन्यो न त पुरानो घरमा उनीहरू बस्न पाए ।
गौरादह नगरपालिकाका वार्ड नं. ६मा १ घर, वार्ड नं. ७मा ३ घर, वडा नं. ८मा ४ घर निर्माणको प्रक्रिया अघि बढाइएको थियो । तर, नगरपालिकासंग भने हालसम्म सम्झौता नभएको पाइएको छ । घर निर्माणका लागि शहरी विकासको जनता आवास कार्यक्रम अन्तर्गत प्रतिघर परिवार ३ लाख ५० हजार रूपैयाँ विनियोजित भएको शहरी विकासका ओभरसियर जीवन तामाङले बताए । उनले वरण्डासहितको २ कोठे टिनको छानो लगाएर घर निर्माण गरिने जनाएका छन् ।
गौरादह नगरपालिकाभित्र शहरी विकासले ३३ वटा विपन्न परिवारका घरहरू निर्माण गर्ने जनाए पनि हालसम्म नरपालिकासंग सम्झौता नभएका कारण घर निर्माणमा ढिलाई भएको ओेभरसियर तामाङ बताउँछन् । नगरपालिकासँग सम्झौता भएको ३ महिनाभित्रमा घर निर्माण कार्य सम्पन्न गरिने ओभरसियर तामाङले जानकारी दिए ।
शहरी विकासले २ कोठाको घरको चौडाइ १२ फिट र लम्बाइ २२ फिट रहने जनाएको छ । गौरादह–८का वडाध्यक्ष भूमिराज पोख्रेलले वडा नं. ८भित्र निर्माण गरिने ४ वटा घरको सम्पूर्ण कागजात बुझाइसकेको भए पनि अन्य वडाहरूले नबुझाएका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको बताए । शहरी विकाससंग समन्वय भइरहेकोले केही दिनभित्रमा निर्माण कार्य शुरू गरिने उनले जानकारी दिए ।































