पूर्वाञ्चलको रजत महोत्सब : ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार ’ चार जनालाई

0
509

 

बिर्तामोड,

यस वर्षको ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिने भएको छ ।

 

 

 

 

 

 

 

१५ हजार रुपैयाँ पुरस्कार राशि रहेको २०७५ सालको पुरस्कार भद्रपुर निवासी अग्रज पत्रकार नकुल काजी र मेचीनगर निवासी चन्द्र भण्डारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो । फागुन १८ गते आइतवार रजत महोत्सवको अबसर पारेर पूर्वाञ्चल दैनिकले मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार बितरण गर्ने विहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ ।

पत्रिकाका सम्पादक एकराज गिरीले पुरस्कारको विषयमा जानकारी दिँदै रजत महोत्सवमा ०७५ र ०७६ को उक्त पुरस्कार एकैसाथ चारजना झापाली अग्रज पत्रकारहरुलाई प्रदान गर्न लागेको जानकारी गराएका थिए । पूर्वाञ्चल दैनिकका तत्कालीन प्रधान सम्पादक मदन ढकालको ०७३ मंसीर २३ गते निधन भएपछि पत्रकारितामा उनको योगदानको कदर र सम्झनाका लागि संस्थाले ०७४ सालमा ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको थियो ।


हरेक वर्ष वार्षिकोत्सवमा वितरण गर्न शुरु गरिएको पुरस्कार पहिलोपटक पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादक, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको थियो । पुरस्कार प्रदेश नम्वर १का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच प्रदान गरिने सम्पादक गिरीले जानकारी दिए ।
त्यस्तै पूर्वाञ्चल दैनिकको स्थापनाकालदेखि अविच्छिन्न सेवारत् अग्रज पत्रकार पत्रिकाका डेस्क सम्पादक लक्ष्मण ढकाललाई ‘उत्कृष्ट पत्रकार’ सम्मान र व्यवस्थापक चन्द्रकान्त ढकाललाई ‘उत्कृष्ट व्यवस्थापक’ सम्मान प्रदान गरिने प्रकाशक भरतलाल गिरीले जानकारी दिएका छन् ।

 


‘उत्कृष्ट स्तम्भकार÷लेखक’ सम्मान यस वर्ष मानवअधिकारकर्मी विष्णुप्रसाद खरेललाई प्रदान गरिनेछ । विशेषाङ्कका लेखकहरु र संस्थाका कर्मचारीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रिका प्रकाशनको २४ बर्ष पूरा भई २५ बर्षमा प्रवेश गरेको अबसरमा पत्रिकाले ‘पूर्वाञ्चल’ विशेषाङ्कको लोकार्पण समेत गर्ने भएको छ ।

 

रजत महोत्सवको सन्दर्भमा पत्रकारिता विषयका विविध पक्ष समेटेर प्रकाशित ‘पूर्वाञ्चल’ विशेषाङ्क २४४ पृष्ठको रहेको पत्रिकाका सहसम्पादक सुरेन्द्र भण्डारीले जानकारी दिए । पुस्तकमा विभिन्न खण्डमार्फत विभिन्न विषयवस्तु समेटिएको छ । झापाको मात्र नभएर मेची अञ्चल र मुलुककै पत्रकारिताको पृष्ठभूमि, अवस्था तथा पत्रकारिता विषयका विविध पक्ष समेटिएको हुनाले पत्रकारिता विषयमा खोज अध्ययन गर्न चाहनेहरुका लागि उक्त विशेषाङ्क स्रोत पुस्तक बन्न सक्ने विश्वास गरिएको सहसम्पादक भण्डारीले बताए ।

त्यस्तै रजत महोत्सवको अवसरमा कार्यक्रम परिसरमा पूर्वाञ्चल दैनिकका फोटो पत्रकार तथा फोटो पत्रकार महासंघ झापाका अध्यक्ष कमलप्रसाद पाण्डे ‘बिनोद’को एकल फोटो प्रदर्शनी रहेको र फोटो मानव जीवनशैलीसँग सम्वन्धित रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यसैगरी रजत महोत्सवको अवसरमा कार्यक्रम परिसरमा पूर्वाञ्चल दैनिकका व्यङ्ग्य चित्रकार (कार्टुनिष्ट) प्राज्ञ पवन राजवंशीको एकल व्यङ्ग्य चित्र (कार्टुन) प्रदर्शनीमा रहनेछ । व्यङ्ग्य चित्रले देश, काल, परिस्थतिलाई उजागर गर्ने पत्रिकाका उपसम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए । अग्रणी सञ्चारगृहको रुपमा स्थापित पूर्वाञ्चल दैनिक मोफसलमै पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पत्रिका भएको संस्थाका व्यवस्थापक चन्द्रकान्त ढकालले बताए ।


पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका रहेको र प्रदेश १का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा प्रत्यक्ष विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै यहाँका हरेक विषयलाई विश्वभरका पाठक सामु क्षणभरमै सम्प्रेषण गर्न धधध।उगचधबलअजबमिबष्थि।अयm नामक अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रजत महोत्सवको समुद्घाटन फागुन १८ गते आइतबार बिर्तामोडको अतिथि सदनमा हुनेछ । रजत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । समारोहलाई थप आकर्षक बनाउन विभिन्न विद्यालयसंगको सहकार्यमा जिल्लाका उत्कृष्ट नृत्य प्रदर्शन गरिने बताइएको छ । पत्रकार सम्मेलनको सञ्चालन डेस्क सम्पादक लक्ष्मण ढकालले गरेका थिए ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here