अर्जुनधारा,
झापाको अर्जुनधारा–८मा रहेको एम्स एकाडेमीले शैक्षिक बुलेटिनकोरुपमा ‘एम्स दर्पण’ सञ्चालनमा ल्याएको छ ।
विद्यालयको गतिविधिसँगै विविध क्षेत्रमा रुची राख्ने विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले सञ्चालनमा ल्याएको उक्त बुलेटिनको बिहीबार आयोजित २२औं वार्षिकोत्सवको सन्दर्भमा लोकार्पण गरिएको थियो ।

चार पन्नाको उक्त बुलेटिनमा विद्यालयमा हुने गतिविधिसँगै चुट्किला, चित्रकला प्रदर्शनी, साहित्य सामग्री, फोटो फिचरलगायत समावेश हुने उक्त पत्रिका मासिकरुपमा प्रकाशन गर्ने लक्ष्य विद्यालयको रहेको प्रधानाध्यापक टीकाराम गौतमले बताए ।
शिक्षक अभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षता र प्याब्सन प्रदेश नं.१का उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रधानाध्यापक गौतमले विद्यालयको वर्तमान गतिविधि र भावी रणनीतिबारे जानकारी गराएका थिए ।
कक्षा–१०का पूर्व विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, रायम्स, फेसन सो, नाटक मञ्चन, सांस्कृतिक भेषभूषा प्रदर्शनीलगायत प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक यमनकुमार दनुवारले स्वागत र संयोजक धनन्जय रिमालले कार्यक्रमको सञ्चालन गरेका थिए ।































