जनमुखी र पारदर्शी गैरसरकारी संस्था

१६ फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

तीर्थराज खरेल,

आज फेब्रुअरी २७ अर्थात् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दिवस । समाजको सर्वाङ्गीण विकासको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा पछि परेका वर्ग, समुदाय, जाति, लिङ्ग तथा भूगोलका जनसमुदायलाई सेवा पु¥याउने, आर्थिक एवम् सामाजिक रूपमा सक्षम बनाउने र समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई राज्यले निर्दिष्ट गरेको विकास निर्माण कार्यसँग आबद्ध गराउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु क्रियाशील छन् । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष फेबु्रअरी २७ का दिन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दिवस मनाउने गरिन्छ ।
सन् १९४५ मा नवनिर्मित संयुक्त राष्ट्रसंघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक ‘गैरसरकारी संगठन’ शब्दले एउटा औपचारिक स्थान पायो । त्यहाँ गैरसरकारी संगठनको परिभाषा कुनै पनि देश वा सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैरनाफामूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनेर उल्लेख गरिएको थियो । त्यसपछि अहिलेसम्म आइपुग्दा प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू बनेका छन् । जसले आफ्नो मुख्य लक्ष्य र उद्देश्य अनुरुप विश्वका शहर, गाउँ वा जिल्लामा हुने स्थानीय समस्याहरुको समाधानका लागि ती देशका सरकारहरुको सहयोगीको रुपमा काम गरेका छन् र साथसाथै नागरिकको अधिकार र मानवीय, प्राकृतिक, धार्मिक, आर्थिक, जातीय लगायतका द्वन्द्वहरुको व्यवस्थापनमा राज्य र विश्वको ध्यानाकर्षण गराएका छन् ।

थुप्रै यस्ता गैरसरकारी संस्थाहरुले समाज उत्थानको लागि दिएका योगदानहरुलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्रसंघले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ । सबैको साथ र सहयोगको आधारमा हरेक सामाजिक क्रियाकलापलाई अघि बढाउन सक्ने हो भने समाजमा समता र समानता दुबै प्राप्त गर्न सकिन्छ । वास्तवमा गैरसरकारी संस्थाहरुले नेपाल र नेपाली समाजका लागि के–कस्तो योगदान गरे र स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैरसरकारी संस्थाले समाजमा पु¥याएको योगदानको बिना आग्रह पूर्वाग्रह मूल्यांकन हुनुपर्छ । सामान्यतया गैरसरकारी संस्थाहरुलाई ‘डलरको खेती’ गर्ने संस्थाका रुपमा हेरिन्छ । साथै परचक्री राजनीतिक, जातीय र धार्मिक संस्थाहरुले सञ्चालन गरेका शंकास्पद गतिविधि गर्ने खेतालाका रुपमा गैरसरकारी संस्थाहरुलाई चित्रित गर्ने गरिएको छ नेपाली समाजमा । तर, कुरालाई एकतर्फी मात्र हेरेर हुन्न । वास्तवमा गैरसरकारी संस्थाहरुमा कार्यरत स्वयम्सेवक, सदस्य र समर्थकहरुलाई उनीहरुले समाजमा पु¥याएको योगदानको लागि धन्यवाद दिनुपर्छ । उनीहरुले कुनै न कुनै रुपमा यस्ता गैरसरकारी संस्थाहरूका कार्य र परियोजनाहरुलाई सफल पार्न आफूलाई समर्पित गरेका छन् । गैरसरकारी संस्थामा आबद्ध मानिसहरु सबै पैसाका लागि मात्र काम गर्नेहरु छैनन् । ती संस्थाहरुमा निस्वार्थी सहयोगीहरु पनि छन् । समाजमा हरेक कुरालाई नकारात्मक रुपमा हेर्ने प्रवत्ति पनि छ । गैरसरकारी संस्थाहरू समाजको आवश्यकताका कारणले स्थापना भएका हुन् ।

नेपाल जस्तो विकासको पथमा लम्किरहेको देशमा यी संस्थाहरूको योगदान अतुलनीय रहने गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालमा भित्र्याएको बजेट हेर्दा तिनीहरुको योगदानलाई उच्च मूल्यांकन गर्न सकिन्छ । यस्ता संस्थाहरुले मानवीय, शिक्षा, स्वास्थ्य, सार्वजनिक नीति–निर्माण, सामाजिक अधिकार, मानव अधिकार, पर्यावरणीय र अन्य क्षेत्रमा उनीहरूका उद्देश्य अनुरूप परिवर्तनका लागि प्रभाव पार्दछन् । तिनीहरू यसरी नागरिकहरूद्वारा आर्थिक सहयोग दिइएका सबै सङ्गठनहरूका एउटा सह–समूह हुन्, जसमा क्लबहरू र अन्य सङ्गठनहरू जसले सेवाहरू, फाइदाहरू प्रदान गर्दछन् र सदस्यहरूका लागि मात्रै प्रतिबद्ध हुन्छन् । कहिलेकाहीँ नागरिकद्वारा आर्थिक स्रोत प्रदान गरिएको कुनै पनि सङ्गठनलाई जनाउनका लागि ‘नागरिक समाज सङ्गठन’ को पर्यायवाची शब्दका रूपमा प्रयोग गरेको पनि पाइन्छ । गैरसरकारी संस्था मूलतः गैरनाफामूलक, स्वयम्सेवी नागरिकहरूको समूह हो, जो स्थानीय, राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय स्तरमा संगठित गरिएका हुन्छन् । एउटा साझा चाहनासित जोडिएका जनताद्वारा केही निश्चित काम सक्न र उपलब्धि देखाउन स्थापित संगठित संस्थाका रुपमा क्रियाशील संस्थाहरुले विभिन्न प्रकारका सेवाहरू र मानवीय कार्यहरू प्रदान गर्दछन्, नागरिकका सरोकारहरूलाई सरकारसम्म लैजान मद्दत गर्दछन्, जनअधिकारको वकालत गर्दछन् र नीतिहरूको लेखाजोखा गर्दछन् र जानकारीको सहज पहँुच मार्फत् राजनीतिक सहभागितालाई प्रोत्साहन दिन्छन् । सामान्यतः गैरसरकारी संस्थाहरूलाई दान उपहारद्वारा आर्थिक सहयोग प्रदान गरिन्छ । तर, केहीले अ‍ैेपचारिक आर्थिक सहयोगलाई इन्कार गर्दछन् र स्वयमसेवकहरूमार्फत् आर्थिक सहयोग जम्मा गर्दछन् । कतिपय यस्ता संस्थाहरु सामाजिक लक्ष्यको स्वीकृतिको आधारमा कर छुटका लागि दर्ता गरिएका हुन सक्छन् । अरूहरू राजनीतिक, धार्मिक अथवा अरू चाहनाहरूका लागि हुन सक्छन् । दोस्रो विश्वयुद्धको अन्त्यदेखि यस्ता संस्थाहरूको अन्तर्राष्ट्रिय विकासमा, खासगरी मानवीय सहयोग र गरिबी निवारणको क्षेत्रमा बढदो भूमिका रहँदै आएको छ । अहिले गैरसरकारी संस्थालाई सामाजिक विकास संस्थाको नाम दिन थालिएको छ । कतिपय अवस्थामा यिनीहरुले सरकारलेभन्दा पनि बढी काम गर्छन् । चुस्तता, समयपालना र समयसीमाभित्र काम सम्पन्न गर्ने कार्यसंस्कृतिका कारण गैरसरकारी संस्थाहरु सरकारी निकायका लागि पनि अनुशरणीय मानिन्छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै प्रकारका गैरसरकारी संस्थाले आफ्नो आर्थिक स्रोत पारदर्शी राख्नुपर्ने, समुदायको प्रत्यक्ष हित हुने गरी काम गर्नुपर्ने, गलत गर्ने संस्थालाई जरिवाना र संस्था खारेज गर्ने लगायतका काम गरेर वा गराएर तिनीहरुलाई नियन्त्रण र नियमन गर्न आवश्यक पनि छ । अहिले नेपालमा ५० हजारभन्दा बढी गैरसरकारी संस्थाहरु क्रियाशील रहेको तथ्यांक छ । तिनीहरुमध्ये १० हजार संस्थाहरु मात्र बढी सक्रिय छन् । गैरसरकारी संस्थाहरु मार्फत धार्मिक, राजनीतिक, आर्थिक अभिष्ट पूरा गर्ने गरिएको भनी गैरसरकारी संस्थाहरुको व्यापक आलोचना पनि भइरहेका छन् । पछिल्लो समयमा जातीय, धार्मिक, अल्पसंख्यक, पिछडिएको क्षेत्र र सीमान्तकृत वर्गको हकअधिकार प्रबद्र्धन र संवैधानिक र कानूनीरुपमा उनीहरुको सबलीकरणका लागि भनेर विदेशी दातृ राष्ट्रहरुको आर्थिक, भौतिक र प्राविधिक सहयोगमा नेपालमा कयौं गैरसरकारी संस्थाहरु सक्रिय छन् । ती संस्थाहरु मार्फत नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र साम्प्रदायिक सद्भाव बिथोल्ने गरी कामहरु पनि भएका उदाहरणहरु पनि छन् । विश्व गैरसरकारी संस्था दिवस मनाउने कुराको शुरुवात परोपकारी मार्सिस लिओर्स स्काड्मानिसले गरेको मानिन्छ र यसलाई औपचारिक मान्यता २०१० अप्रिल १७ मा सम्पन्न बाल्टिक सागर गैरसरकारी संस्था मञ्चले प्रदान गरेको थियो ।

यो दिवसले गैरसरकारी संस्थाहरु, सरकार, जनता र निजी क्षेत्रको सहकार्यलाई बढावा दिन्छ भने गैरसरकारी क्षेत्रमा क्रियाशील मानिसलाई अझ क्रियाशील हुन उत्प्रेरित गर्दछ । अहिले लगभग ९६ भन्दा बढी देशहरुमा यो दिवस मनाउने गरिन्छ । मुलुकको समृद्धि र स्थायित्वका लागि नीतिगत, आर्थिक, विकास र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा जनताका पक्षमा काम गर्दै गैरसरकारी संस्थाहरुले अहम् भूमिका खेलिरहेका छन्, तर यस्ता संस्थाहरुलाई मूल लक्ष्यबाट अलगथलग हुन नदिन र कुनै पनि मुलुकको आन्तरिक मामिलामा विभिन्न स्वार्थ समूहबाट हस्तक्षेप हुन नदिन नियन्त्रण र नियमन गर्न हरेक देशका सरकारको कर्तव्य र दायित्व दुवै हो । अतिले खति निम्त्याउँछ भने झैं गैरसरकारी संस्थाहरुको भूमिकालाई न्यूनीकरण गर्न मिल्दैन, त्यसैगरी विदेशी स्वार्थी समूहहरुको मतियार बनेर कुनै पनि देशको अस्मिता, जातीय तथा साम्प्रदायिक सद्भाव र जनताका बीचमा रहेको मेलमिलाप र सहिष्णुतालाई दख्खल दिने गरी गैरसरकारी संस्थाहरुलाई काम गर्न दिनु पनि हुँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here