पन्ध्रसय विद्यार्थीको मुटु परीक्षण

0
1105

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

विद्यार्थीहरुलाई लक्षित गरेको झापाको मेचीनगरमा एकदिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । सानै उमेरमा बालबालिकामा लाग्ने मुटुरोग पहिचान गरी समयमै उपचार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको आयोजनामा आदर्श माध्यमिक विद्यालय परिसरमा भएको शिविरमा नगरभरिका करीव आधा दर्जन विद्यालयका विद्यार्थीहरुले मुटु परीक्षण गराएका थिए ।

नेपाल ह्र्ट फाउण्डेशन काठमाण्डौ र एडवर्ड लाइफसाइन्स फाउडेशनको प्राविधिक सहयोगमा भएको शिविरमा मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी नेतृत्वको टोलीले एकहजार चारसय बढी विद्यार्थीको मुटु परीक्षण गरेको रोटरी क्लब अफ काँकरभिट्टाका क्लब व्यवस्थापन संयोजक सुजन प्रधानले बताए ।

रोटरी क्लब अफ विर्तामोड, विर्तामोड मिडटाउन, भद्रपुर र सुरुङ्गाको व्यवस्थापनमा भएको शिविरमा नेपाल ह्र्ट फाउण्डेशन काठमाण्डौका डाक्टर दीपेन्द्रपुरुष ढकाल, डाक्टर सत्यनारायण सुवाल, डाक्टर उर्मिला शाक्य, डाक्टर प्रेमराज बैद्यलगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा स्वास्थ्य परीक्षण गरेका शंकाष्पद १ सय ३५ जनाको इकोकाड्योग्राफी गरिएको थियो । ती मध्ये तीनजनामा समस्या देखिएको फाउडेशनका प्रोजेक्ट म्यानेजर अनोमोल मर्हजनले बताए । उनका अनुसार एकजनामा बाथ मुटुरोग र बाकी दुईजनामा जन्मजात मुटुको समस्या देखिएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका मध्ये मुटुमा समस्या भएकालाई नेपाल ह्र्ट फाउण्डेशन काठमाण्डौले अब हुने सवै उपचार निःशुल्क प्रदान गर्ने विर्तामोड मिड टाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताए ।

आफ्नै घर आगनमा मुटुरोग विशेषज्ञहरु आएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने हल्लाले शिविरमा विद्यार्थीहरुमात्र होइन सर्वसाधारण समेतको विहानैदेखि ठुलो भीड लागेको थियो । २०४५ सालमा स्थापना भएको नेपाल ह्र्ट फाउण्डेशन काठमाण्डौको झापासहित देशका ५२ वटा जिल्लामा शाखा रहेको र हालसम्म देशका ४५ वटा जिल्लामा मुटुरोग सम्बन्धि विभिन्न स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम गरेको छ । विशेषगरी बालबालिकामा हुने बाथमुटुरोगका बारेमा फाउण्डेशनले काम गदैं आएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा भएको उद्घाटन सत्रमा आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद पुरी आयोजक संस्थाका पुर्व अध्यक्ष दिलीप सुवेदीलगायतले बोलेका थिए ।

प्रिसिडेन्ट इलेक्ट कृष्णकान्त खनियाले स्वागत तथा सञ्चालन रोटरी क्लब अफ काँकरभिट्टाका क्लब व्यवस्थापन संयोजक सुजन प्रधानले गरेका थिए । कार्यक्रममा सहभागी सवैलाई आयोजक क्लबका प्रेसीडेन्ट नोमिनि रोहितकुमार बुडाथोकीले धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here