विर्तामोड ।

पार्टी कार्यालय तथा स्मृति भवनका लागि नेपाली कांग्रेसलाई करिब चार करोड मूल्य बराबरको साढे चार कठ्ठा जग्गा प्राप्त भएको छ ।
जग्गादान गर्ने दाताहरुलाई शनिबार आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं. २को क्षेत्रीय सम्मेलनकाबीच दाताहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नेपाली कांग्रेसको २ नं. क्षेत्रीय कार्यालय तथा विभिन्न गाउँ÷नगर र वडा कार्यालयका लागि जग्गा प्राप्त भएको हो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं. २को क्षेत्रीय कार्यालय स्थापनाका लागि स्व. सीके प्रसाईकी धर्मपत्नी गिरिराजकुमारी प्रसाई, छोरा विवेक र बुहारी संगीता प्रसाईले स्व. सीके प्रसाईको स्मृतिमा महानन्दचोक नजिक रहेको १ करोड मूल्य बराबरको १ कठ्ठा जग्गा प्रदान गरेका छन् ।
यसैगरी विर्तामोड नगर समितिको कार्यालय निर्माणका लागि नेपाली कांग्रेसका पूर्वसचिव स्व. लक्ष्मण खड्काकी धर्मपत्नी अञ्जु खड्काले स्व. खड्का स्मृति भवनका लागि एक करोड २५ लाख मूल्य बराबरको विर्ताबजारमा रहेको १ कठ्ठा जग्गा उपलब्ध गराएकी छन् ।
यसैगरी बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष समेत रहेका रमेश भुजेल र उनकी श्रीमती विनीता पौडेलले नेपाली कांग्रेस बुद्धशान्तिको कार्यालय निर्माणका लागि ५० लाख मूल्य बराबरको एक कठ्ठा जग्गा उपलब्ध गराएका छन् । उक्त स्थानमा समितिको कार्यालय स्थापना भइसकेको बताइएको छ ।
यसैगरी नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालय स्थापनाका लागि प्रजातान्त्रिक सेनानी पूर्णवहादुर ढकालको स्मृतिमा उनका भाइ हिक्मत ढकाल र सेवन्त ढकालले ५० लाख मूल्य बराबरको १ कठ्ठा जग्गा प्रदान गरे । उक्त जग्गामा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका अध्यक्ष हेमराज खरेलले जानकारी दिए ।
यसैगरी नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका वार्ड नं. ३को कार्यालय भवन निर्माणका लागि मित्रबहादुर चेम्जोङले १० धुरजग्गा उपलब्ध गराएका छन् । जग्गा उपलब्ध गराउने सबै दाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय केशवकुमार बुढाथोकी र सरिता प्रसाई, नेपाली कांग्रेसका सभापति उद्वव थापा, संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला, २ नं. क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनजस्तो गम्भीर विषयलाई कम्युनिष्ट पार्टीको आन्तरिक झगडा मिलाउने प्रयोजनमा दुरुपयोग नगर्न चेतावनी दिए ।
नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै भने– ‘हारेकालाई जिताउने गलत संस्कार बसाउन संविधान संशोधन गर्ने अधिकार कसले दियो ?’ निर्वाचनमा पराजय व्यहोरेकाहरुलाई आवधिक निर्वाचन नभएसम्म कुनै पदमा जाने हैसियत नभएको उनको भनाइ थियो ।
समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, केन्द्रीय सदस्य तथा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका सचेतक सरिता प्रसाई, संविधानसभा सदस्य तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा लगायतले मन्तव्य राखेका थिए ।
नेपाली कांग्रेस झापा क्षेत्र नं. २का सभापति खगेन्द्र मैनालीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा क्षेत्रीय सहसभापति धर्म लक्सम्बाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव किरण श्रेष्ठले गरेका थिए ।


























