कास्की जिल्लाको सुन्दर नगरी पोखरामा वि.सं. २००७ साल पुस २२ गते आमा सावित्रा र बुबा लीलाधर अधिकारीको सुपुत्रका रुपमा जन्मिएका सोमनाथ अधिकारी प्यासी हाल प्रदेश नम्वर १को प्रमुख छन् ।
पोखरा नगरपालिका–१६ बाटुलेचौर मदन–आश्रित मार्ग स्थायी ठेगाना भएका प्यासीले बिन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । प्रविणता प्रमाणपत्र तह (आइए) पृथ्वीनारायण क्याम्पसबाट उत्तीर्ण गरेका उनले स्नातकतह सोही क्याम्पसबाट उत्तीर्ण गरेका छन् ।
२०२४ सालबाट प्रगतिशील विचार अध्ययन समूहको सदस्य भएर राजनीतिक जिम्मेवारी शुरु गरेका प्यासी २०२५ साल जेठ ३० गते नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दल (गण्डकी–धौलागिरी)को संस्थापक सदस्य भए । २०२८ सालमा गण्डकी विद्यार्थी परिषद्द्वारा आयोजित प्रथम प्रगतिशील साहित्य सम्मेलन पोखरामा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए उनले ।

उनले पृथ्वीनारायण क्याम्पस स्ववियूको तर्फबाट माछापुच्छ्रे पत्रिकाको प्रकाशन गरेका थिए । २०२७÷०२८ सालमा पृथ्वीनारायण क्याम्पसमा प्रगतिशील प्यानलको तर्फबाट प्यासी स्ववियू सभापतिमा निर्वाचित भएका थिए । प्यासीले २०२७ सालको फागुनमा पार्टीको ‘आफैं बाँच, पार्टी काम गर’ भन्ने नारासहित पार्टी संगठन र विस्तारका लागि म्याग्दी दरवाङ्ग र दोभानमा जनप्रिय मावि, भानु निमाविमा शिक्षण समेत गरेका थिए ।
वि.सं. २०२९÷०३०सम्म नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दलको जिल्ला सचिव, २०३२ सालमा पार्टीको निर्देशनमा म्याग्दी जिल्लाको दोभा गाउँ पञ्चायतको ‘तीन महिना कव्जा’ को नेतृत्व समेत गरेका प्यासीले २०३२ सालदेखि २०३४ सालसम्म तीन वर्षको अवधि जेल जीवनमा बिताएका थिए ।
२०३५÷०३६को विद्यार्थी आन्दोलनमा पृथ्वीनारायण क्याम्पस पोखराको नेतृत्व, २०३६ सालमा अनेरास्ववियू कास्की जिल्लाको अध्यक्ष, २०३६÷०३७मा अनेरास्ववियू पश्चिमाञ्चल क्षेत्रीय कमिटीको अध्यक्ष, २०३७ सालमा भएको अनेरास्ववियू पाँचौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित हुँदै पश्चिमाञ्चलको विशेष जिम्मा समेत प्यासीले निर्वाह गरेका थिए । २०३७ सालमा केन्द्रीय बिद्यार्थी फ्रयक्सनको सदस्य, २०३७÷०३९मा नेकपा (माले) इलाका कमिटी कास्कीको सचिव, २०३९–२०४१मा नवलपरासी जिल्लामा शिक्षण पेशामा रही नेपाल राष्ट्रिय शिक्षक संगठनमा पार्टी र शिक्षकको काम गरेका थिए । विभिन्न राजनीतिक नेतृत्व सम्हाल्दै प्यासी २०४६ सालमा पञ्चायत विरोधी आन्दोलनमा बाममोर्चा जिल्ला कमिटी कास्कीको जिल्ला सभापति भएका थिए । २०४७ सालमा नेकपा मालेको कास्की कार्यालय सचिव, नेकपा माले पोखरा नगर कमिटी सचिव, २०४८ सालमा नेकपा एमाले अञ्चल कमिटी सदस्य, २०४८ सालमा नै एमाले कास्कीको उपसचिव भएर उनले राजनीतिक नेतृत्व सम्हालेका थिए ।
राजनीतिक नेतृत्व सम्हाल्ने क्रममा पार्टीको विभिन्न जिम्मेवारी निर्वाह गरेका प्यासी २०६८ साल फागुन २१ गते नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद्बाट केन्द्रीय निर्वाचन आयोगको सदस्यमा निर्वाचित भए । २०६८ फागुन २३ गते एमाले केन्द्रीय निर्वाचन आयोगको प्रथम बैठकबाट केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा निर्वाचित प्यासी एमालेको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्यमा चयन भए । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी आमन्त्रित सदस्य भएका प्यासी हाल प्रदेश नम्वर १को प्रमुखका रुपमा रहेका छन् । उनले कास्की जिल्लाबाट प्रगतिशील साहित्य सृजनालाई आधार मान्दै सबै प्रगतिशील र देशभक्त शक्तिको प्रतिनिधित्व हुने गरी एक साहित्यक एवम् राजनीतिक प्रकाशन ‘नौलो हाँक’ प्रकाशनको व्यवस्थापन गरी प्रकाशन गरेका छन् ।
प्रदेश १ प्रमुखका रुपमा रहेका प्यासी राजनीतिकसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका छन् । उनले पोखरा विश्वविद्यालयको सभासद् रही कार्य गर्नुका साथै पृथ्वी नारायण क्याम्पस सञ्चालक समितिमा रही उत्कृष्ट भूमिका निर्वाह गरेका छन् ।
दुई कार्यकाल विन्ध्यवासिनी मावि व्यवस्थापन समितिको अध्यक्ष समेत भएका प्यासी धारापानी निमावि ढिकुरपोखरी, ¥यालेपातले प्रावि अरमला पोखरा, रिप निमावि हुम्ला, भानु निमावि, दोभा र दरबाङ्ग मावि म्याग्दीमा संस्थापक शिक्षकका रुपमा कार्यरत् रहेका थिए । उनले २०२० सालमा विन्ध्यवासिनी मावि बाल संगठन साहित्य मन्त्री, २०२३ सालमा विन्ध्यवासिनी मावि पोखरा बाल संगठनको कोषाध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्न भ्याए । २०२४ सालमा प्रगतीशिल बिचार अध्ययन समूहको सदस्य हुँदै प्यासीले २०६५देखि २०७६ कात्तिक १७ सम्म शहीद स्मारक जनस्वास्थ्य सहकारी संस्था लि. कलंकी, काठमाडौँको अध्यक्षको रुपमा काम गरिसकेका छन् ।
कास्कीका पुराना वाम नेता प्यासी पूर्वसांसद समेत हुन् । पञ्चायतभित्र घुुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले त्यतिबेलाका चर्चित युवा सोमनाथ प्यासी अधिकारीलाई ०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो ।
सोमनाथ प्यासी, द्रोणाचार्य क्षेत्री, गोविन्दनाथ उप्रेतीहरु त्यतिबेलाको पार्टी नीति अनुरुप चुनाव जितेर राष्ट्रिय पञ्चायतमै बहुदलको पक्षमा आवाज बुलन्द गर्थे । त्यही राप र तापले सोमनाथलाई ०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो । ६९ वर्षीय अधिकारी ०२५ सालदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर छन् ।
०४८ मा कास्की–३बाट सांसद जितेका उनी संसदीय दलको सचिवसम्म भए । एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल कमिटी र केन्द्रीय कमिटीमा पुगेका प्यासी पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । नेकपाको उनी आमन्त्रित स्थायी कमिटी सदस्य हुन् ।
सरल स्वाभावका प्यासी राजनीतिक क्षेत्रमा भने निक्कै चतुर मानिन्छन् । उनी राष्ट्रिय पञ्चायत सदस्य भएको अबस्थामा पञ्चायत रजत समारोहमा बोल्दा (यो रजत जयन्ती होइन, देशका योद्धाहरुको रगतले लत्पतिएको ‘रगत जयन्ती’ हो भनी सम्बोधन गर्दा उनलाई मञ्चमै लाठी प्रहार भएको थियो । कम्युनिष्ट सिद्धान्तका प्यासी पञ्चायती व्यवस्थाविरुद्ध लाग्दा पञ्चायत भित्र नै छिर्न सफल भएका थिए । २०४४ सालमा कास्कीमा भएको दुर्गा आचार्य बलात्कार काण्डविरुद्ध विरोधसभालाई सम्बोधन गर्न जाँदा श्रीमती जानुका अधिकारीसहित प्यासी मुङ्लिङ्गबाट गिरफ्तारीमा परेका थिए । प्यासीलाई पूर्वराजा वीरेन्द्रले तीन पटकसम्म मन्त्री बनाउने प्रस्ताव गर्दा समेत उनले अस्वीकार गरेका थिए ।
२०४४ सालमा राष्ट्रिय पञ्चायतको रोष्टमबाटै नेपाल मै पहिलोपटक संविधानसभाको माग गर्दा प्यासी १५ दिनसम्म निलम्वनमा परेका थिए । झापा, मोरङ, सुनसरीको जुट काण्डको विरुद्धमा पोखरामा भएको विरोधसभाको नेतृत्व गर्दा प्यासीलाई एक हप्तासम्म पोखरा जेलमा राखिएको थियो ।
विभिन्न राजनीतिक सन्देश लिएर जनपक्षीय सांसदहरुको नेतृत्व गर्दा प्यासी पटक–पटक गिरफ्तारीमा परेका थिए । प्रजातन्त्रप्रति सँधै अग्रस्थानमा आफ्ना भनाइ राख्ने प्यासी पञ्चायती व्यवस्थाविरुद्ध भने खरो रुपमा उत्रिएका थिए ।
साधारण जीवनशैली र पार्टीप्रति जिम्मेवार रुपमा प्रस्तुत भएकै कारण प्यासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको बर्तमान सरकारले प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । प्यासीले विभिन्न समयमा विदेश भ्रमण समेत गरेका छन् । उनले फ्रान्सको पेरिस, इटाली, जर्मन, दुवई, भारत लगायतका देशहरुको भ्रमण गरिसकेका छन् । प्यासीका श्रीमती जानुका अधिकारी, छोराहरु नवीन प्यासी अधिकारी, रोशन अधिकारी र छोरीहरु मञ्जु अधिकारी लम्साल र सञ्जु अधिकारी खनाल रहेका छन् ।
२०३२ सालमा तीन बर्षे जेलजीवनको प्रारम्भमा जोमसोम जेलमा वयान लिँदा आफ्ना नेताको नाम बताउन नमान्दा उनले कठोर यातना पाएका थिए । त्यसक्रममा उनलाई बोरामा हालेर कालीगण्डीमा चोबल्ने जस्तो अमानवीय कार्य पञ्चायती शासकबाट गरिएपछि उनी झन राजनीतिमा सक्रिय भएका थिए ।
प्रस्तुतिः नरेन्द्र ढकाल/सुरेन्द्र भण्डारी































