अर्जुनधारा ।

सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको आयोजनामा प्रदेश १स्तरिय महिला फुटबल प्रतियोगिता सुखानी शहीद स्मृति गोल्डकप यही फागुन २१ गतेदेखि सुरु हुने भएको छ ।
शहीदहरुको सम्मान, महिला खेलाडीहरुको प्रोत्साहन भन्ने उद्धेश्यले झापा जिल्ला फुटबल संघको प्राविद्यिक सहयोगमा आयोजना हुने उक्त प्रतियोगिताको विषयमा आइतबार आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।
चौथो संस्करणकोरुपमा अर्जुनधारा–९स्थित नमूना खेल मैदानमा हुने प्रतियोगितामा नौ जिल्लाका १० वटा टिमको सहभागीता रहने प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले जानकारी दिए ।
सहभागी हुने टिमहरुमा कनकाई नगर खेलकुद विकास समिति(झापा), पारीजात महिला फुटबल क्बल (झापा), जिल्ला फुटबल संघ(इलाम), जिल्ला फुटबल संघ(पाँचथर), कर्णसिंह सोनाम फुटबल क्बल (ताप्लेजुङ), लेटाङ फुटबल क्लब(मोरङ), माउण्ट एभरेष्ट स्र्पोटीङ क्लब(सुनसरी), बसाहा क्लब(उदयपुर), जिल्ला फुटबल संघ(धनकुटा) र म्याङलुङ नगर खेलकुद विकाश समिति(ते¥हथुम) रहेका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश एक लाख २५ हजार र ७५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतिष्ठानका व्यवस्थापक पूष्प तिवारीले बताए । त्यसैगरी प्रत्येक खेलको वुमन अफ दी म्याच हुने खेलाडीलाई नगद पुरस्कार तीन हजारसहित ट्रफी प्रदान गरिने बताइएको छ ।
त्यस्तै प्रतियोगिताको अन्य विधातर्फ बेस्ट गोलकिप्पर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र बेस्ट फरवार्डलाई जनही नगद पुरस्कार सात हजारसहित ट्रफी तथा फाइनल खेलको बेस्ट प्लेयरलाई नगद पाँच हजारसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको वुमन अफ दी टुर्नामेन्ट हुने खेलाडीलाई नगद पुरस्कार १२ हजारसहित ट्रफी र फेयर प्ले टिमलाई नगद पुरस्कार १० हजारसहित ट्रफी प्रदान गरिने बताइएको छ ।
अनुमानित १२ लाख खर्च लाग्ने प्रतियोगिता सम्पन्न गर्न प्रतिष्ठानका सदस्य एवम् प्रदेश १का सांसद् वृख प्रधानको संयोजकत्वमा मूल समिति, व्यवस्थापक तिवारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, मोसेस खड्काको संयोजकत्वमा प्राथमिक उपचार व्यवस्थापन उपसमिति, गौरीमाया चिमरीयाको संयोजकत्वमा टिम व्यवस्थापन, खाद्य तथा आवास व्यवस्थापन उपसमिति, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”को संयोजकत्वमा खेल प्राविद्यिक व्यवस्थापन उपसमिति, सुखानी शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बरालको संयोजकत्वमा अतिथि सत्कार उपसमिति र टेकराज तिलिङ तथा मनोज गोम्देनको संयोजकत्वमा स्वमंसेवक परिचालन, मञ्च तथा खेलमैदान व्यवस्थापन उपसमिति गठन भएको छ ।
प्रदेश सरकार, स्थानीय सरकार, प्रायोजकहरु र दाताहरुको आर्थिक सहयोग रहने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । उपाध्यक्ष भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन व्यवस्थापक तिवारीले गरेका थिए ।

























