सुनसरी ।
प्रहरीकै कमजोरीका कारण बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरी फरार भएको भन्दै आलोचना भइरहेका बेला फरार गिरीले मंगलबार अदालतमा आत्मसमर्पण गरेका छन् ।
आरोप लागेकै अवस्थामा भारततर्फ फरार भएका भनिएका उनले नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले सिद्धबाबा अदालतमा उपस्थित भएको जानकारी दिए । एक अनुयायी महिला बलात्कार गरेको आरोप लागेका उनलाई विराटनगर उच्च अदालतले गत माघ दोस्रो साता पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
गिरीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला सिद्धबाबा सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पसेका थिए ।
जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएपनि उच्च अदालतले उक्त आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनलाई अदालतको आदेश बमोजिम मंगलबार नै जेल चलान गरिएको छ ।
मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।
मंसिर १६ गतेबाट विराटनगरस्थित विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका सिद्धबाबा ३८ दिनसम्म अस्पतालमा बसेका थिए । प्रहरीले उनको बयान अस्पतालमै लिएको थियो ।































