मेचीनगरमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

0
705

लक्ष्मी उप्रेती /कांकरभिट्टा ।

झापाको मेचीनगरमा मंगलबारदेखि स्वर्गीय पीवी थापा स्मृति अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा शुरु प्रतियोगिताको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसा मैनालीले उद्घाटन गर्नुभएको थियो । उहाँले मेचीनगरक्षेत्र खेलकुदको उर्वरभूमि भएको भन्दैं प्रतियोगिता नगरकै प्रतिष्ठाको विषय भएको बताउनुभयो ।

सामाजिकक्षेत्रमा दलिय राजनीतिक भागवण्डा त्यागेर राम्रा कामको हरेकले प्रशंसा गर्नुपर्ने प्रदेशसभा सदस्य मैनालीको भनाई थियो । उहाँले नाइट चेस क्लबले स्वास्थ्य, शिक्षा र खेलकुदकाक्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं समाजलाई सकरात्मक बाटोतर्फ डोर्याउने गतिविधि गर्ने हरेक संघ संस्थालाई प्रदेश सरकारको साथ सहयोग रहने उहाँको भनाई थियो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारको हैसियतमा नगरक्षेत्रभित्र हुने हरेक खेलकुद गतिविधिमा साथ सहयोग रहने बताउनुभयो । उहाँले अहिले देखिएको कोरोना भाइरसका कारण सोचे अनुसार प्रतियोगितामा खेलाडी सहभागी नभएको भन्दैं कोरोनाको संक्रमणबाट बच्न समेत आग्रह गर्नुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रतियोगितालाई सफलरुपमा सम्पन्न गर्न स्थानीय सरकार सक्रियपुर्वकरुपमा लाग्ने बताउदैं यसमा हरेकले साथ सहयोग गर्नुपर्नेमा जोडदिनुभयो ।

प्रतियोगिता आयोजक नाईट चेस क्लव काँकरभिट्टाका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुभद्रा भट्टराई अर्याल, मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, नेकपाका मेचीनगर इञ्चार्ज देवकुमार राई, नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुडाथोकी राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य क्लबका पुर्व अध्यक्ष बालाजित राईलगायतले बोल्नुभएको थियो ।

फागुन २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत तथा बंगलादेशका गरी करीव १ सय ५० खेलाडी सहभागी रहेको क्लबले जनाएको छ । नेपाल चेस एसोसिएशनबाट अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा स्वीकृती समेत लिइ सकेको क्लबका अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतियोगितामा खुल्लातर्फ २० उत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः नगद ६० हजार, ५० हजार तथा ४० हजार प्राप्त गर्नेछन् । साथै थप उत्कृष्ट १७ जनालाई अधिकतम १८ हजार देखि न्युनतम ५ हजार सम्मको नगद पुरस्कार राशीको व्यवस्था गरिएको छ ।

भेट्रान, प्रदेश स्तरीय, मेचीनगरका बिभिन्न उमेर समुह लगायत अन्य थप २० जनाले ३ हजार देखि १ हजार सम्म नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनमा करिव २४ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । जस अन्तर्गत पुरस्कार राशीमा मात्र नगद २ लाख ८४ हजार ९ सय खर्च हुने अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

प्रतियोगितालाई मेची युमा चेस एकाडेमीले सहयोग गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजन मेचीनगर –६, काँकरभिट्टा निवासी अनिता थापाले ब्यक्तिगत रुपमा गर्नु भएको बताइएको छ । उहाँले नगद तीनलाख रुपैयाँको चेक समेत हस्तानतरण गर्नुभयो ।

प्रतियोगिताको प्रमुख आर्विटारको रुपमा विजयकुमार थापा रहनु भएको छ । कार्यक्रमको सञ्चालन क्लवका महासचिव अशोक राई तथा स्वागत प्रथम उपाध्यक्ष सुरेन्द्र बुडाथोकीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here