झापा आन्दोलन र फागुन २१

0
1519

अमित खम्बू/अर्जुनधारा।

कम्युनिष्टहरुले फागुन २१ लाई महत्वपूर्ण दिनका रुपमा हेर्ने गरेका छन् । झापा आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते पाँच जना योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठले शहादत प्राप्त गरेसंगै फागुन २१लाई कम्युनिष्टहरुले महत्वपूर्ण दिनका रुपमा हेर्ने गरेका हुन् ।

तत्कालीन पञ्चायती व्यवस्थाकोे विरोधी घोषित उनीहरुलाई २१ फागुन २०२९मा चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने बहानामा इलाम र झापाको सीमानामा पर्ने सुखानीमा हत्या गरिएको थियो । झापा आन्दोलनका क्रममा वर्तमान प्रधानमन्त्री ओली पनि सहभागी भएको र सहयोद्धाको गोली हानी हत्या गरेपछि उनी भागेर भारतको कानपुर पुगेका थिए ।

ओलीको खोजीमा रहेको तत्कालीन पञ्चायती व्यवस्थाले उनलाई नेपाल फर्कने क्रममा रौतहटबाट गिरफ्तार गरेको थियो । सो क्रममा उनले पनि १४ वर्षसम्म जेल जीवन बिताएका थिए ।
झापा आन्दोलनका योद्धा अहिले देशका लागि दोस्रोपटक प्रधानमन्त्री छन् । नेकपा नेतृत्वको दुई तिहाइको सरकार सञ्चालन गरिरहेका ओलीका लागि फागुन २१ निक्कै महत्वपूर्ण मानिन्छ । किनकि आज फागुन २१ गते नै प्रधानमन्त्री ओलीको दोस्रोपटक मृगौलाको प्रत्यारोपण गरिँदै छ । यसअघि झापा आन्दोलनका क्रममा पनि २०२९ साल फागुन २१ गते ओलीले भागेर ज्यान जोगाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएपछि २०७५ सालको फागुन २१ गते कम्युनिष्ट आन्दोलनको जगका रुपमा हेरिएको सुखानीमा पहिलोपटक पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहभागिता जनाउँदै श्रद्धाञ्जलि सभामा सम्बोधन गरेका थिए ।
झापा आन्दोलनका योद्धाको स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा हत्या भएको ४३ वर्षपछि उनीहरुलाई शहीद घोषणा गरेसंगै फागुन २१को महत्व अझ बढेर गएको हो ।
सुखानी उत्तरी झापा र दक्षिणी इलामको सीमानामा अवस्थित छ । यो अर्जुनधारा नगरपालिकाको ३ र माईनगरपालिकाको ४ नम्वर वडाको सीमानामा रहेको छ । जहाँ झापा आन्दोलनका पाँच शहीदको अर्धकदको शालिक निर्माण गरिएको छ । जुन शालिकमा अहिले पनि नेकपाले फागुन २१ गते श्रद्धाञ्जलि सभासहित विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यस वर्ष पनि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डले संयुक्त रुपमा श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, ओलीको स्वास्थ्य अवस्था र कोरोना भाइरसको संक्रमण फैलने त्रासका कारण कार्यक्रम स्थगित गरिएको नेकपा १ नम्वर प्रदेश कमिटीले जनाएको छ ।

नेकपा झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार सुखानीमा यसपटक शहीदलाई सम्झिएर पुष्पगुच्छासहित शहीदको शालिकमा माल्यार्पण गरिने भएको छ । यसैबीच झापा आन्दोलनका शहीदहरुको सम्झनामा अहिले अर्जुनधारा–९ मा सुखानी शहीद स्मृति उद्यान निर्माण गरिएको छ । यहाँ पनि हरेक वर्ष फागुन २१ गते नै कम्युनिष्ट नेता तथा कार्यकर्ताले शहीदलाई सम्झँदै विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले उद्यानमा पाँच शहीदको पूर्ण कदको शालिक निर्माण गरेको छ । २०५६ साल चैत २९ गते जिल्ला प्रशासन कार्यालयमा काठमाडौंमा दर्ता भएको प्रतिष्ठानले उक्त उद्यान निर्माण गरेको हो ।

२२.४ हेक्टर क्षेत्रफल रहेको उद्यानमा पाँच जना शहीदको पूर्ण कदको शालिक, शहीद स्मारक, कछुवा उद्धार तथा संरक्षण केन्द्र, अध्ययन केन्द्र, भीमसेन पोखरी, सामुदायिक भवन, वनभोज स्थल, बाल उद्यान, पैदल मार्ग निर्माण गर्दै उद्यानलाई व्यवस्थित र पूर्वकै पर्यटकीय गन्तव्यका रुपमा समेत विकाश गरेर लगिएको छ ।

यसैबीच शहीदहरुको सम्झनामा प्रतिष्ठानले ‘शहीदहरुको सम्मान र महिला खेलाडीहरुको प्रोत्साहन’ २०७३ सालदेखि निरन्तर महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । मुलुक नयाँ व्यवस्थामा प्रवेश गरेसँगै उक्त प्रतियोगित गत वर्षदेखि एक नम्बर प्रदेशस्तरीय फुटबल प्रतियोगिता सुखानी शहीद स्मृति गोल्डकपमा रुपान्तरण भएको छ ।

शहीदहरुको स्मृतिमा यो वर्ष पनि गोल्डकप आयोजना गरिने प्रतिष्ठानका व्यवस्थापक पुष्पलाल तिवारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here