नेकपाको प्रशिक्षण र आमसभा स्थगित, मास्क नै संक्रमित, सीमावर्ती पालिकामा हेल्प डेस्क

0
844

नरेन्द्र ढकाल / झापा।

विश्वमा नोवेल कोरोना भाइरसको महामारी फैलिरहेका बेला नेपालमा भने त्रास धेरै सुरक्षा अवस्था भने कमजोर देखिएको छ ।

भाइरसको उच्च जोखिममा रहेको नेपालमा सरकारले तीब्र रुपमा तयारी गर्नुपर्नेमा समान्य तयारी मात्रै गरेको बताइएको छ । यता कोरोनाविरुद्ध झापामा पनि सतर्कता अपनाउन शुरु गरिएको छ । स्थलमार्ग हुँदै बाह्य पर्यटक भित्रिने झापाको काँकरभिट्टा नाकाबाट भारत तथा तेस्रो देशका पर्यटक निर्वाध भित्रिरहेको र शंकास्पद व्यक्तिलाई भने हेल्प डेक्समार्फत स्वास्थ्य परीक्षण गरेर मात्र पठाउने गरेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

भद्रपुरस्थित भन्सार कार्यालय छेउमा पनि मंगलबारबाट हेल्प डेस्क राखेर परीक्षण शुरु गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य कार्यालयले भारतसँग सीमाना जोडिएका पालिकाहरुलाई अनिवार्य रुपमा हेल्प डेस्क राख्न आग्रह गर्दै पत्र पठाइएको छ । झापामा सुरक्षाको तयारी भइरहे पनि माथिको निर्देशन नआएको भन्दै कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको स्वास्थ्य कार्यालयका कर्मचारीले स्वीकार गरेका छन् ।

हेल्प डेस्क स्थापना गरे पनि दक्ष चिकित्सक र पूर्व तयारी नगर्दा हेल्प डेस्क नाम मात्रैको बनेको स्थानीयले बताएका छन् । दैनिक सयौँको संख्यामा नागरिकहरु आवतजावत गर्ने सीमा नाकामा अध्यागमन कार्यालयका कर्मचारीले आफ्नो विवेकले शंकास्पद मानिएका व्यक्तिलाई परामर्श कक्षतिर पठाउने गरेका छन् । जहाँ दुईजना स्वास्थ्यकर्मीले सामान्य परामर्श दिने, ज्वरो मापन गर्ने गरेका छन् ।

अध्यागमन कार्यालयका अनुसार यस नाकाबाट भारतसहित चीन, बंगलादेश, जापान, अमेरिका, म्यान्मार, इंग्ल्याण्ड, फ्रान्स र भियतनामबाट बढी पर्यटक आउने गरेका छन् । छिमेकी राष्ट्रहरुमा समेत यो भाइरस फैलिए रहेपनि नाकामा स्वास्थ्य परीक्षण डेस्क प्रभावकारी नहुँदा यसबाट कोरोनाको जोखिम बढेको छ । फेब्रुअरी महिनामा मात्र यो नाकाबाट ७ सय ४ विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख जनक कोइरालाले बताए ।

विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने खतरा छ । सम्भावित खतरालाई मध्यनजर गर्दै भारतसँग सीमानाका जोडिएको काँकरभिट्टा नाकामा समेत उच्च सतर्कता अपनाउनु पर्ने आवश्यक देखिएको चिकित्सकहरुले बताए । झापामा चिकित्सकहरुले कोरोनाको खतरा रहेको बताए पनि सुरक्षाको विषयमा सरकारले पूर्वतयारी गर्न नसकेको स्थानीयको भनाइ छ ।

नेकपा : प्रदेश भेला र आमसभा स्थगित

कोरोना भाइरसको त्रासका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश–१को भेला र सुखानीको कार्यक्रम स्थगित भएका छन् । नेकपाले मंगलबारको लागि राखेको प्रदेश–१ स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेको हो ।

कोरोनाका कारण कार्यकर्ता प्रशिक्षण र आमसभा स्थगित गर्नुपरेको अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखा परेको भन्दै सरकारले सोमबार भीडभाड र विवाह भोज नगर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम नेकपाले भेला स्थगित गरेको जनाइएको छ ।

कार्यक्रमका लागि झापा आएका पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता झलनाथ खनालले प्रदेश स्तरीय भेलाका साथै २१ फागुनमा सुखानीमा हुने शहीद स्मृति सभा पनि स्थगित भएको बताएका छन् । उनले सबैलाई स्वास्थ्यप्रति सजगता अपनाउन सुझाव समेत दिए ।

बिर्तामोडस्थित सिटीसेन्टरको साई पार्टी प्यालेसमा कार्यक्रमको भव्य तयारी गरेको नेकपाले सरकारको निर्देशनलाई पालना गर्दै कार्यक्रम स्थगित गरेको जनाएको छ । भेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता खनाल, महासचिव विष्णु पौडेल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो ।

कार्यक्रम स्थगित भएपछि नेताहरु नआएको नेकपा झापाका अध्यक्ष पाठकले जानकारी दिए । नेकपाले बुधबार सुखानी पार्कमा हुन लागेको आमसभा पनि स्थगित गरेको छ । कार्यक्रम स्थगित भएसँगै कोरोना विरुद्ध एकतावद्ध भई प्रतिवाद गर्न समेत अपिल गरिएको छ ।

दीक्षान्त समारोह स्थगित

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसका कारण दीक्षान्त समारोह स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काललाई दीक्षान्त स्थगित गरिएको बताइएको छ ।

फागुन २४ गते शनिबार तय भएको दीक्षान्त समारोह अनिश्चितकालका लागि स्थगित भएको हो । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर ल्याउने तयारीमा रहेको प्रतिष्ठानले ओलीको स्वस्थ समस्याको कारण स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो ।

प्रतिष्ठानमा चार वर्षपछि दीक्षान्त हुन लागेको थियो । प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर गुरु खनालले सरकारले भेला तथा सम्मेलन नगर्न आव्हान गरेका कारण एक हजारभन्दा बढी सहभागी हुने दीक्षान्त समारोह तत्काल स्थगन गरेको बताए । उनले कोरोना संक्रमणको अवस्था हेरेर पछि नयाँ मिति तोकिने जानकारी दिए ।

मास्क नै संक्रमणमा

कोरोना भाइरसको महामारी फैलिरहेका बेला त्यसको रोकथामका लागि प्रयोग गरिने मास्क नै संक्रमणमा परेको छ । मास्कलाई सुरक्षित बट्टामा राखेर मात्रै विक्री वितरण गर्नुपर्नेमा झापाका अधिकांश स्थानमा खुल्ला रुपमा मास्कको विक्री वितरण भइरहेको छ ।

हावाको माध्यमबाट फैलिरहेको कोरोना रोक्न प्रयोग गरिने मास्क नै संक्रमणमा परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काले बताए । उनले भने– मास्क बट्टामा सुरक्षित राखेर मात्रै बेच्न पाइन्छ, खुल्ला ठाउँमा राख्दा मास्क लगाउनु र नलगाउनुको कुनै अर्थ हुन्न् । सचेतनाको कमीले पनि व्यापारीहरुले खुल्ला ठाउँमा राखेर मास्क विक्री वितरण गरेको हुन सक्ने खड्काले बताए ।

मास्कको कालो बजारी बढेको र खुल्ला स्थानमा विक्री–वितरण भएको प्रति स्वास्थ्य कार्यालयको ध्यानाकर्षण भएको अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै अनुगमनलाई तीब्रता दिने उल्लेख गरे ।

महोत्सव र सभा नगर्नुहोस् :राना

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुनै महोत्सव र सभा सम्मेलन नगर्न आग्रह गरेका छन् ।
नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै उनले मानिसको भीडभाड हुने स्थानमा नजान सबैलाई आग्रह गरेका छन् । अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी रानाले झापामा कसैमा संक्रमणको आशंका गरिए तत्काल आइसुलेनमा राख्न मेची अञ्चल अस्पताल भद्रपुरमा एउटा कोठा तयारी अवस्थामा राखिएको जानकारी दिए ।

झापामा अहिले नै आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रजिअ रानाले सुरक्षा सतर्कता अपनाउन भने सबैसंग आग्रह गरे । उनले हात नमिलाउन तथा कसैलाई संक्रमणको शंका लागेमा तत्काल चिकित्सकसँग परामर्श लिन अनुरोध गरे ।

तीन हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसको पहिचान सन् २०१९ को अन्तिम दिन भएको थियो । अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर तीन हजारभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

चीनको वुहान शहरबाट फैलन शुरु भएको यो भाइरसको लक्षण सार्स र मर्सको जस्तै लक्षण हुने बताइएको छ । यसको शुरु–शुरुमा श्वास प्रश्वासको समस्यादेखि पछि निमोनिया हुने मृगौलाले काम गर्न छाड्ने र कलेजोमा तरल पदार्थमा वृद्धि हुनेजस्ता लक्षण हुने चिकित्सकले बताएका छन् ।

श्वास प्रश्वास सम्बन्धी रोग भएका वृद्धवृद्धा र डायबेटिज र उच्च रक्तचाप भएका व्यक्तिहरूमा यसको उच्च जोखिम हुने बताइएको छ । यसको नियन्त्रणका लागि सँधै साबुन पानीले हात धुनmे हाच्छ्यूँ गर्दा नाकमुख छोप्ने, यदि बिरामी भएमा घरमा बस्नु नै यसको नियन्त्रणको उचित उपाय हुने चिकित्सकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here