दिपेन्द्र राउत,
‘भाइ होइन हउ ! यो दोउरानी जेठानी भनेका सौता हुन् कि के हुन् हउ ! फिटिक्कै मिल्दैनन् त ! एउटै घरमा बसेका छन् तलबाट माथि नजाने, माथिबाट तल नजाने खै के हो हउ ! बीचमा आमा के गर्ने के भन्ने दुईवटी नै आफ्नै बुहारी म त छक्क पर्छु ।’ एकजना दाजुले यसरी भनिरहनु भयो ।
सँगै बस्दा त कहिलेकाहीँ झगडा सामान्य नै भयो छुट्टिएर अलग–अलग बसेका छन् । आफू–आफू पकाएर खाएका छन् । आफ्नो–आफ्नो गरेका छन्, तर पनि मेलमिलाप छैन । एकले अर्कालाई सौता नै सम्झने मानसिकता देखाउँछन् हउ आखिर एकदिन मरेर जाने चोला हो, दाजुभाइ मिलिन्छ, यो बुहारीहरु चाहिँ किन यस्तो व्यवहार गर्छन् ? भन्दै एक जना दाजु हामी मलामी जाने क्रममा आफ्नो मनको उहाँ पोख्दै हामी गफिँदै मलामी जादै थियौं । हामी दाजुभाइको सम्बन्ध विवाह पूर्व अत्यन्तै राम्रो थियो, तर विवाह पछि बुढीको कारणले दाजुभाइमा तनाव सृजना भएको छ ।
आमालाई तनाव, बुवालाई तनाव कारण बुहारी बुहारीको लडाइँ हैन यो हाम्रो घरमा मात्र हो कि अरुका घरमा पनि यस्तो हुन्छ ? अरुका घरमा बाहिर बाट हेर्दा त राम्रो नै लाग्छ, सबैका बुहारी कति मिलेका भने जस्तो देखिन्छ, तर हाम्रो घर हेर्ने हो भने घरै नजाउ कि जस्तो लाग्छ । घरमा पुग्दा बुढी रिसले बसेकी हुन्छे, बा–आमा दुःखी हुनु भएको हुन्छ । आफू के गर्नु के गर्नु भएको हुन्छ, दाजु एकहोरो गफिँदै जानु भयो । दाजुले आफ्नो मनको बह पोखिरहँदा मैले सोचे के यो दाजुको घरको मात्र समस्या होला त ! यो हाम्रो समाज हेर्ने हो भने यकिन गर्न सकिन्छ कि दाजुको समस्या आफ्नो मात्र हो कि हरेक घरमा छ ! देउरानी जेठानी हाम्रो परिवारको सम्बन्ध हो । दाजुभाइ एउटै बाआमाका सन्तान हुन्छन् । तर, उनीहरुले विवाह गरेर ल्याएका श्रीमती अलग–अलग संस्कार, परिवेश र भू–भागबाट नै आएका पनि हुन्छन् ।
मानिस विश्वमा जुनसुकै देशमा जन्मिए पनि यो नाताको सम्बन्धको सोच उस्तै हुने रहेछ । देउरानी जेठानीबीचको सम्बन्ध के हो ? कस्तो बन्नु पर्छ ? भनेर भनि रहँदा एकले अर्कालाई एक आपसमा दिदीबहिनी भनेर सम्बोधन गरेको पाइएता पनि सोच दिदीबहिनीको हुँदैन । मानिस कहिलै नदेखेको मानिसलाई दया देखाउँछ, सहयोग गर्न खोज्छ, तर, यो सम्वन्धमा एक आपसमा रिस, इष्र्या, डाहा, घमण्ड बढी गरेको पाउने गर्दछांै ।
एउटा परिवारमा जेठी बुहारीले सबै परिवारलाई दुई छाक खाना पकाएको हुन्छ । घरधन्दा गरेको हुन्छ हाँसी–खुसी रहेको हुन्छ, तर तिनै बुहारी, देउरानी आए पश्चात दुईछाक पकाउन खोज्दिनन् । घरधन्दा गर्न खोज्दिनन् अनि हाँसी खुशी रहदिनन् । दश जनालाई हाँसी खुसी सबैथोक गर्ने एक जना देउरानी थपिँदा गर्न नखोज्ने हाम्रो समाजको यथार्थता । मैले बढी काम गर्नुहुँदैन भन्ने उसले भन्दा मैले बढी काम गरिरहेको छु भन्ने सोचाईले हाम्रो मानसिकता कता गई रहेको छ एकपटक सोचौं ।
सोच्नेलाई हिजो गरिरहेको काममा अब मेरो काम आदी भयो मलाई सहयोग गर्ने बहिनी या दिदी आइन भनेर सोच्न पनि सकिन्छ । तर, यसरी सकारात्मक सोच्ने कमै पाइन्छ । हिजो सँगै बसेका परिवार आज अलग भएर बस्दा दाजु–भाउजु या भाइ–बुहारी विदेशमा या अलगै बस्दा कति ढुक्क भएको छ भन्ने देउरानी जेठानी पनि भेटिने गरेको छ । आखिर किन त यस्तो सोचाई । संस्कार फरक, सस्कृति फरक, परिवेश फरक र देश फरक, भाषा फरक भएता पनि यो सम्बन्धमा सोच त्यही डाहा, इष्र्या, जलन, घमण्ड आखिर यो दिमाख उस्तै, सोचाई उस्तै, व्यवहार उस्तै आखिर किन यस्तो हुन्छ होला यो सम्बन्धमा ।
एक जना भाइ भन्दै थियो दाजु विदेशबाट आइयो भाउजु दाजुले विवाह गर्न भनेर केटी हेर्न थाल्नु भयो कति मिलेको परिवार हाम्रो विवाहपश्चात पनि यस्तै होला भनेर विवाह गरियो घर परिवारमा नयाँ सदस्यको आगमनले झन् रमाइलो होला सबै परिवार हाँसी खुशी बसिन्छ भनेको त विवाह गरेको एक महिनाबाट बुढीको झगडाले घरमा त के बस्नु र ! विदेशमा नै बसी रहौ जस्तो लाग्यो । यो भाउजु र मेरो बुढीको झगडाले वाक्क बनायो । यो सम्वन्धमा एक अर्कामा माया हुँदैन कि के हो ? सहयोगको भावना हुँदैन कि के हो ? एक अर्काको सम्मान हँुदैन कि के हो ! म त छक्क पर्छु ! भाइले यसो भनि रहँदा हाम्रो समाज कता जाँदैछ । अनि हाम्रो परिवार कता जाँदैछ । परिवारको सोच के हुँदैछ ।
परिवारको सदस्यको यस्तो सोचले के परिवारले प्रगति गर्न सक्छ । के दाजुभाइले प्रगति गर्न सक्छन् । यो आजको समाजको यर्थाथ चित्रण हो । मानिस दिन प्रतिदिन एक्लै बन्दै गएको छ । उसलाई दाजुभाइ नचाहिन सक्छ, दिदीवहिनी नचाहिन सक्छ, बुबाआमा दिन प्रतिदिन बोझ बन्दै गएका छन्, मामामाइजु, फुपुफुपाजु, दिदीभिनाजु, बहिनीज्वाइँ, भान्जाभान्जी, काकाकाकी, सानिमा सानोबुवा, ठूलोबुवा ठूलोआमा, भाइबुहारी, दाजुभाउजु, छोराछोरी, नाति–नातिना, भतिजभतिजी, भदाभदैनी लगायतका पारिवारिक सम्बन्ध आज हाम्रो समाजमा हराउँदै गएको छ । सम्बन्धको महत्व हामीले दिन प्रतिदिन बिर्सदै गएका छौं । एकीकृत परिवारबाट सिङ्गल परिवार हामी बन्दैछौ ।
सम्बन्ध नाता र आफन्त चुनावको बेलामा मात्र चाहिने जस्तो भएको छ । भोट माग्ने, छुट माग्ने र नोट माग्ने अवस्थामा मात्र साइनो, सम्बन्ध, आफन्त केलाउने हाम्रो समाजा भएको छ । साइनो नपर्नेलाई पनि साइनो गासेर भोट माग्न हामी पछि पर्दैनौ । सुखमा रमाउन सबै आउलान्, तर दुःखमा साथ दिन परिवार चाहिन्छ । आफन्त चाहिन्छ । देउरानी–जेठानीलाई दिदीबहिनी भनेर भनिरहँदा रगतको नाता नहोला, तर पारिवारिक कर्तव्य हुन्छ । जन्म एउटै घरमा नहोला, तर कर्म एउटै घरमा हुन सक्छ । संस्कार, संस्कृति, परिवेश अलग हुन सक्छ । तर देश एउटै हुन सक्छ । सिकाई, बुझाई अलग हुन सक्छ, तर गराई एउटै हुनुपर्छ ।
परिवार, नाता अलग हुन सक्ला, तर सम्बन्ध एउटै हुनुपर्छ । मान मर्यादा एउटै नहुन सक्छ, तर व्यवहार एउटै हुनुपर्छ । जीवनमा एउटा महिलाले स्वीकार नगर्ने सम्वन्ध भनेको सौता हो भनेर भन्ने गरिन्छ, तर अपवादमा यो सम्बन्ध पनि कति मिलेर बसेको देखेका छौ हाम्रो समाजमा । कुनै पनि सम्वन्ध आवश्यकताले जन्माउँदछ । त्यसैले सम्बन्ध भनेको आवश्यकता हो, यो हामीले बुझ्नु पर्दछ । बुझाउन सक्नु पर्दछ ।
























