सम्पादकीय
झापाको शिवसताक्षीमा आयोजित नेपाली झापामा शिक्षण प्रभावकारिताको खोजी तथा पाठ्यक्रम विमर्श विषयक गोष्ठीमा नेपाली भाषा र साहित्य सङ्कटमा परेको बताइएको छ । साहित्यकार एवम् पाठ्यपुस्तकका लेखक डा. रामप्रसाद ज्ञवालीले नेपाली भाषाको लेखन र उच्चारणमा शुद्धताको प्रयोग घट्दै गएको प्रति चिन्ता व्यक्त गरे । अर्का वक्ता पाठ्यक्रम विकास केन्द्रमा निर्देशक गणेशप्रसाद भट्टराईले अभिभावक र विद्यार्थीका अंग्रेजी भाषाप्रतिको मोह बढेका कारण विद्यार्थीहरु नेपाली विषयमा कमजोर भएको बताए । औपचारिक, कामकाजी र बहुसंख्यकको भातृभाषा नेपाली भएर पनि त्यही विषयमा कमजोर हुनुमा पाठ्यक्रम नै जिम्मेवार छ ।
नेपाली भाषाको शृद्धता नयाँ शिक्षा योजनाको आरम्भसँगै कमजोर भएको हो । पाठ्यक्रममा गरिएको फेरबदलले नेपाली विषयको पाठ्यसामग्री, पाठ्यभार घटाउँदै अंग्रेजी विषयलाई जोड दिन थालियो । नयाँ शिक्षा अघिसम्म नेपाली विषय अनिवार्य, इलिमेन्ट्री, संस्कृत लगायतका पाठ्यपुस्तकका माध्यमबाट गरिन्थ्यो । त्यस्तै गरी अंग्रेजी पनि पहिलो र दोस्रो गरी दुई सय पूर्णाङ्कमा अंग्रेजीका थुप्रै पुस्तक पाठ्यक्रममा समाविष्ट थिए । त्यसले भाषागत प्रयोग, शुद्धता र कुशलता दिन्थ्यो । तर, त्यसपछि भाषागत पाठ्यक्रम, पाठ्यपुस्तक र अंग्रेजी मोहले नेपाली भाषा क्रमशः ‘होचो अर्घेलो’ मा पर्दै गयो । शिक्षण गर्नेहरु नै कथ्य र लेख्यको शुद्धतालाई महत्व दिँदैनन् ।
बजारमा उपलब्ध पाठ्यपुस्तकको गुणस्तर मापन नगरी अध्यापन गराउँदा भाषा र संस्कृति सङ्कटमा पर्दै गएको प्रकाशन संस्था ऐरावतीका अध्यक्ष रामदेव पाण्डेले बताए । अझ पछिल्लो समय पाठ्यपुस्तकहरुको सूचीमा स्थानीय तह आफैंले पाठ्यपुस्तक थप्ने भएपछि शिक्षामा अनेकता देखिने निश्चित छ । भाषा ब्याकरणका विज्ञहरुले तयार गरेको पाठ्यक्रम र पाठ्यपुस्तकहरु अध्यापन गर्न सक्ने जनशक्ति अहिलेको पहिलो आवश्यकता हो । यसका साथै पाठ्यक्रम र पुस्तकमा परिमार्जन पनि जरुरी छ । यी दुबैको संयोजनले मात्र शिक्षणमा प्रभावकारिता र सिकाइमा उपलब्धि भेट्न सकिन्छ ।
शिवसताक्षीको यो अन्तरसंवादले नेपाली भाषा शिक्षण तथा सिकाइको खस्कँदोस्तरलाई रोक्न सक्यो भने कार्यक्रम सफल भएको ठहरिनेछ । तर, त्यसका लागि यस्ता कार्यक्रम देशव्यापी हुनुपर्छ, सरोकारवालाहरुको सहभागितामा हुनुपर्दछ । हाल नेपाली भाषा, साहित्य र संस्कृति प्रति घट्दै गएको मोहलाई पुनर्जागृत गर्न राज्यसँगै विज्ञहरुले पनि अग्रसरता देखाउनु पर्दछ । अन्यथा नेपाली जाति पहिचान र परिचय नभएको जाति कहलिनेछ । त्यसतर्फ सम्बद्ध सबैको ध्यान जाओस् ।


























