कोरोनाको त्रास यसरी कम गरौं

0
1012

सम्पादकीय

चीनबाट शुरु भएको कोरोना भाइरसको प्रकोप अहिले विश्वव्यापी भएको छ । यसको महामारीको रुप लिन थालेको अवस्थाले नेपाल जस्तो विकासमा पछि परेको देशका लागि भने यो महाआतंक नै बनिएको छ । खुल्ला सीमाना, प्रविधि, जनशक्तिको अभाव र आतंकसँग लड्न सक्ने पूर्वाधारको कमीका कारण त्रस्त भएको नेपाली मानसिकतालाई स्वास्थ्य मन्त्रालय, सम्बद्ध निकाय र सरकारले आश्वासनसम्म पनि दिन नसक्दा जोखिम झन जटिल बनेको छ । पहिचानको छोटो समयमै विश्वका लागि टाउको दुखाइको विषय बनिएको कोरोनाबाट जोगिन हाम्रा चिकित्सक तथा विज्ञहरुले स्वयम्ले सचेतना अपनाउनु पर्ने भनेका छन् । यस्तो सचेतना कोरोनाको अन्तिम निदान चाहिँ होइन ।

कोरोना भाइरसको त्रासबाट सुरक्षित हुन आफूले मात्र सचेत भएर पुग्दैन । आफूले मास्क लगाउँदैमा, साबुनपानीले हात धुँदैमा वा भीडभाड भएको ठाउँहरुमा नजाँदैमा कोरोना भाइरसद्वारा जोगिन सकिने होइन । उपचार पनि नभएको भाइरसको संक्रमणबाट जोगिन आफ्नो घर, टोल, गाउँ, काम गर्ने ठाउँ, बजार अस्पताल सबै सङ्क्रमणरहित हुनु पर्दछ । मानिसहरुको आवागमन बढी हुने ठाउँहरु, नाका तथा यात्री मार्गहरुमा त्यत्तिकै उक्त सतर्कता अपनाउनु पर्दछ । चीनसँग सीमाना जोडिएको र अन्य तीनतिर भारतसँग खुल्ला सीमा रहेको कारण नेपालीको जीवन जोखिम मै छ भन्न गाह्रो छैन । अझ विश्वभर छरिएका नेपाली र पुगेको कोरोना भाइरस कुनै न कुनै तरिकाले भित्रिन सक्ने जोखिम त्यतिकै बलियो छ ।

विभिन्न माध्यमबाट आउन सक्ने कोरोनाका भाइरसका विरुद्ध लड्न सक्ने प्रतिरोधी क्षमतालाई भगवान पशुपतिनाथले बचाइ दिएका कारण जोगिनुपर्ने नेपालीको नियति हो । निरीह जस्तै रहेको सरकारले सूचना दिने बाहेक प्रतिरोध वा प्रतिरक्षाका लागि आशा गर्नु व्यर्थ नै हुन्छ । त्यसकारण पनि व्यक्तिको सचेतता, अग्रसरता, सजगता समूह, गैह्रसरकारी संस्था, स्वास्थ्य संस्था र आमजनतासँग जोडेर अभियानका रुपमा सञ्चालन गर्नुपर्छ ।

विश्वले यो महामारीबाट बच्न उच्च सतर्कता अपनाइरहेका छन् । विदेशीलाई भिसा नदिने, उपभोग्य वस्तु आयात नगर्ने, सीमा नाकामा नियन्त्रण गर्ने, शिक्षण संस्था बन्द गर्ने, खानपानमा ध्यान दिने लगायतका उपाय अवलम्बन गरिरहेका छन् । तिनीहरुको अग्रसरताले जनतालाई सङ्क्रमणबाट जोगिने विश्वास जगाउँछ । हामी त्यसै पनि पूर्वाधारहरुकै अभाव झेलेका नागरिक भयौं । त्यसकारण आशा र भरोसा गर्नुभन्दा स्वयम्को प्रतिरक्षामा लाग्नु श्रेयस्कर हुन्छ । भीडबाट जोगिऔं, सफाईमा ध्यान दिउँ, नमस्कार संस्कृतिको पालना गरौं, घरकै खाना खाऔं, मनोबल उच्च राखौं, ग्रामीण जीवनलाई रोजौं, निरामीस खाना खाऔं, भोजभतेर, विवाह, पुराण जस्ता भीडभाडमा नजाऔं । यसले कोरोनाको त्रासलाई कम गर्छ, सङ्क्रमणको जोखिम पनि घट्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here