कम्युनिस्टहरुले सम्झिए शहीद

0
973

भद्रपुर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता तथा नेताले झापा बिद्रोहका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

झापा बिद्रोहका पाँच जना योद्धाहरूलाई हत्या गरिएको दिन हो– फागुन २१ । नेकपा नगर कमिटी अर्जुनधाराले सोही दिन उनीहरुको सम्झनामा ४७औं सुखानी स्मृति दिवस मनाउँदै शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

शीर्ष नेताहरू सहभागी नभएपछि जिल्ला कमिटीले सबै कार्यक्रम रद्द गरेको अवस्थामा नेकपा नगर कमिटी अर्जुनधाराले शहादत स्थलमा पुगेर पाँच जना योद्धाको अर्धकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए । प्रदेश अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यमा यसबर्ष सुखानी स्मृति दिवस मनाइएको नेकपाका झापा जिल्ला सचिव बिजय साम्पाङले जानकारी दिए ।

सभामा नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेनेङ्गवो, धर्मशिला चापागाँई, जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव साम्पाङ लगायतको उपस्थिति रहेको थियो । त्यस्तै नेकपा निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियू)ले पनि झापा र इलामको सीमा स्थल सुखानी पार्क पुगेर स्मृति दिवस मनाएका छन् ।

योद्धा शहीदहरूलाई हत्या गरिएको स्थलमा निर्मित शहीद स्तम्भमा पुगेर माल्यार्पण गरिएको अनेरास्ववियूकी नेतृ सुनीता बरालले बताइन् । श्रद्धाञ्जलि कार्यक्रममा अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, सुनीता बराल लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी बुद्धशान्ति गाउँपालिकास्थित शहीद राम प्रधानको शालिकमा माल्यार्पण गरी सुखानी स्मृति दिवस मनाइएको छ । सालवारीस्थित सुखानीपार्कमा पनि श्रद्धाञ्जलिसभा सम्पन्न गरिएको छ । ज्यामिरगढीमा शहीद वीरेन राजवंशीको शालिकमा समेत माल्यार्पण गरी सुखानी दिवस मनाइएको छ ।

झापा आन्दोलनका सहयोद्धा नरेश खरेलको नेतृत्वमा गरामनीस्थित झापा विद्रोहका विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका ११ जना शहीदहरूको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि सभा मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here