चारपाने।

कनकाई नगरपालिकास्थित कनकाई माई पूर्वीतटमा बृहत् कनकाई माई गंगा आरती आयोजना हुने भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन र वातावण संरक्षण र शुद्धीकरण गर्ने अभियान अनुसार कनकाई माई गंगा आरती गर्न लागिएको मंगलबार कनकाई नगरपालिकाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
ग्लोवल मल्टी कल्चर अर्गनाइजेशन नेपालको आयोजनामा हुने आरतीको व्यवस्थापन कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाले र संरक्षकका रुपमा कनकाई नगरपालिका र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम रहने कार्यक्रममा जानकारी दिइयो ।
झापाको करिब बीच भागबाट बग्ने जिल्लाको सबैभन्दा ठूलो र पवित्र नदी कनकाई माईको विशेष धार्मिक महत्व रहेको छ । पौराणिक कालमा कनकाई नदीमा सुन भेटिने र सुन भएको पानी पवित्र हुने भएकोले कनकाईमा स्नान गर्ने प्रचलन शुरु भएको भनाइ छ । यस नदीको धार्मिक र वैज्ञानिक मान्यतालाई अझ व्यापक बनाउन कनकाई माई गंगा आरतीले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस कार्यलाई पूर्णता र निरन्तरता दिन नगरपालिका संरक्षक बनेर सहयोग गर्ने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।
फागुन २३ गते शुक्रबार हुने गंगा आरतीमा पाँच हजार सर्वसाधारणको सहभागिता गराइने, स्थानीय संघ–संस्था, समाजसेवी, धर्मप्रेमी महानुभावहरुको पूर्ण साथ रहेको कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले बताए । धर्म–संस्कृति नै पर्यटनको मुख्य आधार भएकोले आन्तरिक रुपमा भए पनि यस्ता कार्य गर्न जरुरी रहेको उनले बताए ।
मनको शुद्धी, वायुलाई स्वच्छ बनाउन आरती महत्वपूर्ण माध्यम हो, यो धार्मिक मान्यता सँगै विज्ञानले पनि पुष्टी गरेकोले सात वटै प्रदेशमा नियमित गंगा आरती गराउने अभियान अन्तर्गत प्रदेश १ को कनकाईबाट अभियानको थालनी गर्न लागिएको आयोजक संस्था ग्लोवल मल्टी कल्चर अर्गनाइजेशन नेपालका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले बताए ।
उनले भने– ंकनकाई माईमा गंगा आरतीसहित आयोजना गर्न लागिएको तीन दिने धार्मिक महोत्सवको तयारी पूरा भइसकेको अवस्थामा सरकारले कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गर्न गरेको सूचना अनुसार दुई दिनको कार्यक्रम स्थगित गरी फैलिने भाइरस र दुषित हावालाई शुद्ध पार्न गंगा आरती मात्रै गरिन लागेको हो ।’
कार्यक्रममा कनकाई वडा नं. ४ का अध्यक्ष गोविन्द पौडेल, कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष नवलकिशोर दत्त, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित, नेपाल–भारत मैत्री संघका भवानी लुइँटेल, कनकाई वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवाल लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी विमलीले गरेका थिए ।






























