बिर्तामोड।

अझै पनि सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर छ भन्दै आफ्ना नानीहरु निजी विद्यालय अध्ययन गराउनेको जमात ठूलै छ । ‘गुणस्तरीय शिक्षा र अंग्रेजी मोह’का कारण महँगो शुल्क तिरेर पनि आफ्ना नानीहरु निजी विद्यालय अध्ययन गराउनेलाई चुनौति दिएको छ– बिर्तामोड नगरपालिकामा रहेको देवी माध्यमिक विद्यालयले ।
दुई हजार तीन सय विद्यार्थी अध्ययनरत् रहेको देवी माध्यमिक विद्यालयमा पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन अध्यापन हुन थालेपछि विद्यार्थीको चाप बढेको प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् । ‘अहिले विद्यालयमा दैनिक पाँच सय विद्यार्थीले नियमित कम्प्युटर शिक्षा लिइरहेका छन्’ –प्रधानाध्यापक श्रेष्ठले भनिन्– ‘विद्यालयमा विगत दुई वर्षदेखि व्यवस्थित कम्प्युटर ल्याव सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण अझ बढेको हो । ४१ वटा कम्प्युटर र ल्यापटपको प्रयोग गर्दै विद्यार्थीलाई अहिले कम्प्युटर शिक्षा दिइन्छ । जसका लागि कम्प्युटर विषयमा स्नाकोत्तर गरेको शिक्षक र टेक्निसियनको छुट्टै व्यवस्था गरिएको छ ।’
विद्यालयमा अहिले दुरसञ्चार प्राविधरण काठमाडौंले समेत २५ लाख रुपैयाँ बराबरको कम्प्युटर ल्यावका लागि सामग्री प्रदान गरेको छ । जसका लागि समेत छुट्टै ल्याव कक्ष निर्माण गरिने उनको भनाई छ । प्राधिकरणले २४÷२४ वटा मोनिटर र सिपियु, १६ वटा ब्याट्री, २४ वटै कम्प्युटरलाई व्याकअप दिनसक्ने गरिको युपियस, एक थान प्रोजेक्टर चार वटा सीसी क्यामेरा, साउण्ड सिस्टमसहितका सामग्री उपलब्ध गराएको विद्यालयका शिक्षक उमेश साहले जानकारी दिए । बिद्यालयमा थप कम्प्युटर ल्याब सञ्चालनका लागि प्राधिकरणले सहयोग गरेपछि थप दुई सय ५० बढीभन्दा बढी विद्यार्थीले कम्प्युटर शिक्षा लिन पाउने भएका छन् ।
‘अहिले विद्यालयमा बिहान ६ः२० देखि नियमित कम्प्युटर शिक्षा अध्ययन अध्यापन हुँदै आएको छ’ –प्रधानाध्यापक श्रेष्ठले भनिन्– ‘विद्यालयको शैक्षिक पाठ्यक्रम भित्रै कम्प्युटर शिक्षालाई पनि राखिएकाले रुटिङ अनुसार विद्यार्थीले ग्रुप बनाएर कम्प्युटर सिकिरहेका छन् ।’
विशेषगरी कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयले बिहानी सत्रमा कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ । त्यसको अतिरिक्त विद्यालयमा अन्य विषयमा समेत व्यावहारिक ज्ञान प्रदान गर्दै विद्यार्थीलाई दक्ष बनाउने काम गरिरहेको बताइएको छ ।

विद्यालयमा नै व्यवस्थित साइन्स ल्याव सञ्चालनमा भएकाले अहिले विद्यालयले विज्ञान तथा कला प्रदर्शनीको आयोजना गरेको छ । फागुन २८ र २९ गते हुने गरी विज्ञान तथा कला प्रदर्शनी राखिएपनि कोरोनाको त्रासका कारण प्रदर्शनी स्थगन गर्नु परेको विद्यालयका शिक्षक साहले बताए । प्रदेश नम्वर १ कै उत्कृष्ट र व्यवस्थित विज्ञान प्रविधि तथा कला प्रर्दशनी कार्यक्रम तय गरेका थियौ शिक्षक साहले भने–‘कोरोनाको सन्त्रास विश्वभर फैलिएपछि कार्यक्रम स्थगन भएको हो । केही दिनपछि यसलाई रुचारु गर्छाैं ।’
विद्यालयमा आयोजना गर्न लागिएको प्रदर्शनीमा १० लाखभन्दा बढी खर्च लाग्ने र ८० बढी स्टलको तयारी गरिएको साहको भनाई छ । जिल्लाभरका विद्यालयहरुलाई सहभागी गराउँदै विद्यार्थीको प्रतिभालाई उजागर गर्दै उत्कृष्ट प्रतिभा छनौट गरिने कार्यक्रम रहेको उनको भनाई छ । अहिले देवी माध्यमिक विद्यालयका विद्यार्थीले पढाई सँगै प्राविधिक ज्ञान समेत सिकिरहेका छन् ।
पूर्वाञ्चलकर्मी बिहीवार विद्यालय पुग्दा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थी कोही डिजिटल सिटीको अवधारणामा विज्ञानका सामग्री बनाउन व्यस्त थिए त कोही फिजिक्स र कम्प्युटरका सामग्री बनाउन व्यस्त देखिन्थे । विद्यार्थीहरुले ४० भन्दा बढी समूह बनाएर अहिले विद्यालयमा ड्रोन, पानी जहाज, राडर, वेदर स्ट्याण्ड, स्मार्ट ब्लायङ स्टिक, अफ ट्याकल एबोडिड रोवर्ड, आएफआइडी स्मार्ट गेम्स जेसीभी, स्मार्ट सिटी, रकेट तथा प्राचीन युगको साभ्यता झल्काउने चित्रहरु बनाउन तल्लीन छन् ।
‘विज्ञान शिक्षकको सहयोगमा उनीहरुले आफूले अध्ययन गरेको ज्ञान र सिपलाई व्यवहारमा उतारेको देख्दा आनन्द हुँदोरहेछ’ –विद्यालयकी प्रधानाध्यापक श्रेष्ठले भनिन्– ‘विद्यार्थीको मनोवल बढाउन उनीहरुले सिक्न चाहेको कुरा हामी आफैंले तयार गरिदिन्छौं । अहिले विज्ञान तथा कला प्रदर्शनीका लागि मात्रै विद्यालयले तीन लाख रुपैयाँभन्दा बढीको सामग्री हामीले विद्यार्थीलाई खरिद गरिदिएका छौं उनीहरुले त्यही सामग्रीलाई सदुपयोग गर्दै ज्ञान्त्रिक उपकरण बनाउँछन् । विद्यार्थीले बनाएको ड्रोन लगायतका सामग्रीको सफल परीक्षण समेत गरिएको छ । विद्यार्थीले बनाएको ड्रोन उडाउने क्रममा नयाँ बसपार्कसम्म पुगेको र रिमोर्ट कन्ट्रोलबाट विद्यार्थीले नै सफल अबतरण गराएको प्रधानाध्यापक श्रेष्ठले बताएन् ।
विद्यार्थीले तयार गरेको स्मार्ट सिटीका विषयमा बताउँदै उनले भनिन्– ‘अबको स्मार्ट सिटी सबै कुराले भरिपूर्ण हुनुपर्छ । बिर्तामोड नगरपालिकालाई लक्षित गर्दै हाम्रो नगर यस्तै होस् भन्ने सन्देश प्रवाह गर्न विद्यार्थीले स्मार्ट सिटी बनाएका छन् । विद्यार्थीले बनाएको स्मार्टसिटीमा गुड्ने सवारी र सहर पनि स्मार्ट नै कल्पना गर्दै विद्यार्थीले सामग्री नै तयार गरे प्रधानाध्यापक श्रेष्ठले भनिन्– ‘अध्यारो सडकमा गुड्ने सवारीको लाइट आफैं बल्छ, उज्यालो हुँदा आफैं बन्द हुन्छ त्यस्तो सवारीको विकास गरेका छन् भने सडक पनि त्यही अनुसारले विद्यार्थीले कल्पना गर्दै तयार गरेका छन् ।’
‘विद्यार्थीले बनाएको स्मार्ट सिटी विदेशी सहरलाई लक्षित गर्दै बनाएको छ । जुन सीटी विद्यार्थीले विज्ञान प्रदर्शनीका क्रममा देखाउने छन्’ –प्रधानाध्यापक श्रेष्ठले भनिन् । विद्यार्थीले आफैं वेदर नाप्ने उपकरण, दृष्टिविहीनका लागि सहारासिद्ध हुने छडी, अफ ट्याकल एवोडिड रोवट तयार गरिएको छ सबै सामग्री विज्ञान प्रदर्शनीमा राखिने छ । किताबी ज्ञान सँगै व्यावहारिक शिक्षा पनि दिन शुरु गरेकै कारण देवी माविमा विद्यार्थीको आकर्षण बढेको बताइन्छ ।





























