बेनुबाजाको १९ औं सभामा आठ सम्मानित

0
791

सुरुङ्गा।

कनकाई नगरपालिका–५ स्थित बेनुबाजा अंग्रेजी माविको १९आंै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

सो अवसरमा विद्यालयका संस्थापक र शिक्षकलाई सम्मान समेत गरिएको थियो । विद्यालयका संस्थापक सदस्य तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोपालप्रसाद बिमली, विद्यालयका संस्थापक प्रिन्सिपल वीरेन्द्रबहादुर खड्का, शिक्षकद्वय दीपककुमार श्रेष्ठ र कृष्णमाया अधिकारीलाई कार्यक्रममा सम्मान गरिएको हो ।

त्यसैगरी माध्यमिक शिक्षा परीक्षा २०७५ मा उच्च अंक ल्याउने विद्यार्थीहरु रक्षा खड्का, अनिता श्रेष्ठ र उर्मिला फुयाँललाई पुरस्कासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापाले पछिल्लो समय निजी विद्यालयको शिको गर्दै सामुदायिक विद्यालयले समेत अंग्रेजी र गुणस्तरीय शिक्षाको थालनी गरे पनि सामुदायिक विद्यालय अल्छे शिक्षकका कारण असफल भइरहेको बताए । कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पिताम्बर गौतम लगायतले गुणस्तरीय शिक्षाको मामिलामा बेनुबाजा अंग्रेजी मावि अब्बल भएको बताए ।

कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै प्रिन्सिपल बिनोद सुब्बाले कनकाई नगरको दक्षिणी क्षेत्रका विद्यार्थीहरुले गुणस्तरीय शिक्षाका लागि बाहिर जान नपर्ने अवस्था सृजना गर्न आफूहरु लागीपरेको बताए ।

कार्यक्रममा नगर शिक्षा समितिका सदस्य एवम् भगवती आधारभूत विद्यालयका अध्यक्ष ओमप्रसाद पाठक, सम्मानित व्याक्तित्व वीरेन्द्रबहादुर खड्का, अभिभावक संघका अध्यक्ष दीपक ढुङ्गेल लगायतले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बिमलीको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए । विद्यालयका सहायक प्रिन्सिपल रघुनाथ तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थीहरु अनुप भट्टराई, आकृति बस्नेत, निरञ्जन मैनाली र विनिसा ढुङ्गेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here