(कृति समिक्षा)
भुवन तामाङ,
नेपाली साहित्यको काव्य भण्डारमा एउटा चम्किलो काव्यकृति थपिएको छ । अर्जुनधारा नगरपालिका वडा नं. १, नेते गाउँ, शान्तिचोक, झापा निवासी ‘कालीबहादुर थापा’का चम्किला कविताहरुले भरिएका कविता संग्रह भर्खरै प्रकाशित भएको छ ।
कवि थापाका कविताले सामाजिक चेतना व्यक्त गर्दछन् । ‘अब त युग लीला थालनी गर्नुपर्छ’, ‘एक मुठी चामल’, ‘कम्मर कसेर उठ’, ‘कालोपाटी’, ‘पसीनाको पैसा’, ‘बेला भएन र !’ साथै अन्य केही कविताहरु समाजको यथार्थ व्यक्त गर्दछन् । कतिपय कविताहरुले हार्दिकता व्यक्त गर्दछन् । ‘आमा र हामी’, ‘आमाहरु’, ‘ज्यूँनुको प्रयत्न’, ‘दुखेको मन’, ‘मन र आकाश’, ‘यता जङ्गे आएनछ’ लगायत कविताहरुले मानवीय संवेदना व्यक्त गर्दछन् । केहीले भने जीवन भोगाई व्यक्त गर्दछन् । ‘कवि र माइलो’, ‘जीवन र पैसा’, ‘परीक्षा’ जस्ता कविताहरु मार्पmत कविले जीवन भोगाई, अनुभूति उजागर गरेका छन् । ‘उज्यालो’, ‘एकादेशमा’, ‘धर्तीपुत्रहरु’, ‘खोल’ र अन्य केही कविताहरुले युग र विश्वबारे बोल्दछन् । केही कविताहरु प्रणयका कुरा गर्छन् । ‘दुखेको मन’, ‘मन र आकाश’ जस्ता कवितामा कविको प्रणयचेत स्पष्ट अनुभूत गर्न सकिन्छ ।

यी मार्मिक शीषकहरुबाट नै थाहा हुन्छ कि कवि थापाका कविताका विशेषता र स्वादहरु । उनका कविताहरुमा सत्य, भावना, पीडा, व्यथा, जीवन भोगाई, वेदना, प्रणय, देशप्रेम, चिन्तन आदि पाइन्छन् । रोचक, चोटिला, जोश र उर्जा भर्ने उनका कविताहरु पढुँ पढुँ लाग्ने कोटीका छन् । ग्रामीण जनजीवन, जीवन भोगाई, दुःख कष्टहरुका कथा, गाथा सुनाउँदै भरपुर खुशी र आशा जगाउँदछन् थापाका सिर्जनाहरुले ।
कवि थापा उनी हुर्केको, खाइखेलेको, कुदेको, लडिबुडि गरेको, पढेको, जीवनको लामो समय हिँडेको, दुःख गरेको, रुझेको, घाम खपेको, शीतल तापेको, पानी खाएको, दाउरा घाँस पात, खेती, अर्मपर्म गरेको, खोला फर्काएको, खोला तरेको, खोलाले तर्र्र्साएको, माछा मारेको, काँस घारीमा लुकामारी खेलेको, हाटबजार भरेको साथै प्राकृतिक वातावरण र मानव समाजको प्रभाव, भोगाईका अभिव्यक्ति नै उनका कतिपय कविताहरु हुन् भन्न सकिन्छ । पूर्वमा जयपुर, होक्से, उत्तरमा शान्तिपुर, साधुटार, बर्पmल्याङ, पश्चिमा खुदुनाबारी, दक्षिणमा शनिश्चरे अर्जुनधारा । यिनै भौगोलिक परिधीभित्र ग्रामीण जीवन बाँचेर यहीँका बिरिङ, टाङटिङ बिरिङ र नेते खोला आदिका भेल, बाडीसँग लाप्पा खेल्दै, हिँउदको कञ्चन पानी पिएर, यहाँ चल्ने सिरेटो र हावासँग बात मारेर, यीनकै बगरका ढुङ्गामा ठेस लागेर औँला रगताम्मे पारेर, यहीँका वनजंगलमा गीत गाउँदै घाँस दाउरा गर्ने, यहीँका स्कुलहरुमा गाउँले नानीहरुलाई शिक्षाको उज्यालो छर्ने कालीबहादुर थापाको लामो अनुभव, कथा, भावना र मनोविज्ञान हुन् बगरका कणहरु सिर्जना ।
बगरका कणहरु फगत कणहरुमात्र होइनन् र फगत थिएनन् । भविष्यमा त झन् फगत हुने छैनन् । व्यबस्था परिवर्तनपश्चात नेपालमा विकास निर्माणको लहर तिव्रगतिमा चलिरहेको छ । अब सारा जमिनहरु बहुतल्ले, ठूला पक्की घरहरुले भरिने छन् । यत्रतत्र बाटो, पुल, नाला, बाँधहरु आदिका लागि बगरका कणहरु नै प्रचुरमात्रामा चाहिन्छन् । हालका दिनहरुमा बगरका कणहरु कति महंगा भैरहेका छन् ? सुनको भाउमा ढुंगा, बालुवा, गिट्टी बिक्री भैरहेका छन् । यीमात्र होइनन्, यी खोला (सम्पदा)हरु आसपासका बासिन्दाहरुका लामो अनुभव, अनुभूतिहरु पनि सुन जस्तै मूल्यवान हुन् । अनि कवि थापाका अनुभवले खारिएका कविताहरु त झन् अकबरी सुन जस्तै मूल्यवान हुन् । उनका कविताहरुले जीवन दर्शन प्रवाह गर्छन् ।
कवि थापाले कृतिको शुरुमै ‘बगरका कणहरु’ शीर्षक दिएर कविता लेखेका छन् जसलाई कृतिको मूल कविता खण्डमा पारेका छैनन् । लाग्छ यही कविता थापाको मनको खास भावना हो । कविता यस्तो छ ः ‘बीज रोपेर, धर्तीका मलिला फाँटहरुमा, मान्छे उमार्छ सपनाहरु रहरहरु, चाहनाका थुप्रै ठेलीहरु, पोखिन्छ बिउ, कतै अप्ठ्याराहरुमा, अनकन्टार जंगलहरुमा, मरुभूमिका सुख्खा जर्जर छातीहरु, कष्ट र दुःखका भुमरी, बज्रपात ! मृत्युशैयामा छटपटाउँदै, निख्खर अनुवाद हुन्छ बगरका कणहरुमा । न्यानो बसन्त पूmल्छ कतै, एकथरी माटोमा बिउ, सौभाग्यको बिल्ला भिरेर, समकालीन विजेता ऊ, सिकन्दर र नेपोलियन बन्छ, युग हाँक्दछ, मानव बस्तीहरुमा, सञ्चार गाउँछ, ध्वस्त पार्दै अग्ला पर्खालहरु, पहाड चिरेर, नदी छिराउँछ, उमार्दछ चेतनाका पहेँलपुर बालीहरु, बग्रेल्ती सपनाहरु, अगणित इच्छाहरु, समयका पखेटाहरुमा वेग मारिरहन्छन् कतै, कतै समयका त्रूmर प्रहारमा, क्षत बिक्षत बन्दै, परिणत हुन पुग्दछन्, बगरका कणहरु, उप्m बगरका कणहरु ।’
कृतिभित्रका अधिकांश कविताहरु कवि थापाले समयका विभिन्न कालखण्डमा सिर्जना गर्दै सुनाउँदै आएका हुन् । उनका मित्रजन, शुभचिन्तकहरुले ती कविताहरुसहित पुस्तक प्रकाशन गर्न सुझाएकाले यसरी कृतिको रुप दिएको कुरा उनले कृतिमा उल्लेख गरेका छन् ।

उनका कृतिमा छापिएका नव्बे वटा छोटाछोटा कविताहरुमध्येको एक कविताको अंश पढौँ ः ‘उप्m हाँस्न लेख्या रै’नछ सानेलाई, फापेन अरब, मुगलान पनि, अभागी खप्परमा आँसुको भेल लेखेछ, पापी रै’छ भावी पनि, आधारातमा साने बिउँझ्यो, बिरिङ्ग बगरमा ढुङ्गा र गिट्टीसँग साने, हिजो आज आँशु हैन पसिना बगाइरहेछ । पसिनामा ऊ पैसा साटिरहेछ ।’ वाह कति मन छुने, बगर र बगरका कणहरुसँग साइनो गाँसेको कविता । ‘उसको कुरो’, ‘चोइटो’, ‘निभेको चुर’, ‘रात र म’, ‘सुतेको देश’ र यस्तै यस्तै कविताहरुले भरिएका छन् स्रष्टा थापाका कृति ।
मदन पुरस्कार बिजेता साहित्यकार कृष्ण धरावासीका अनुसार, ‘थापाका सिर्जनाहरु सामाजिक, पारिवारिक, राजनीतिक सन्दर्भहरुमा कविताहरु सुन्दर बिम्ब र प्रतीक बोकेर प्रस्तुत भएका छन् । आजको बदलिँदो समयमा तर केहीपनि बदलिन नसकेको अवस्थाप्रति कविताहरु कतै निराश र कतै विद्रोही छन् । खासमा अघिल्ला राजनीतिक पद्धतिहरुबाट विद्रोह गरेको पुस्ता आज किन निराश हुँदै छ ? किन राज्यले समाजको आकांक्षालाई सम्बोधन गर्न सकिरहेको छैन भन्ने विषयमाथी कविताहरु सशक्त भएर उभिएका छन् ।’ थापाको कविताहरुबारे डा. दुबसु क्षेत्रीले कृतिमा लामो विश्लेषण लेखेका छन् । डा. कर्णाखर खतिवडा र शिव प्रणतका विचारहरु पनि समावेश भएका छन् ।
कवि थापाले सम्भवतः सबै आयाम छोएका छन् । देशप्रति चिन्तन गरेका छन् । उनी असल शिक्षक हुँदै हुन् र संगीतका पारखी पनि हुन् । स्कुल तथा गाउँसमाजमा साँगीतिक माहौल बनाउन र कार्यक्रम सम्पन्न गर्न उनको खोजी हुने गर्दछ ।
माता तीलरुपा सिंजापती भण्डारी, पीता ज्ञानबहादुर गोदार थापाका पुत्र वि.संं. २०१४ असार १९ मा ओयाम पाँचथरमा जन्मेका कालीबहादुर थापाले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् ।
वि.संं. २०३२ देखि २०७२ सम्म झापाका मध्य उत्तरीक्षेत्रका चार सामुदायिक विद्यालयमा विभिन्न कालखण्डमा शिक्षकको रुपमा सेवारतरही लाखौँ विद्यार्थीहरुमा शिक्षाको उज्यालो छरेका छन् । स्रष्टा थापा सेवा निवृत्त अवस्थामा साहित्य कर्ममा सक्रिय रही गहन कविता बाचन गरिरहेका भेटिन्छन् । सयपत्री युवा क्लब अर्जुनधारा १, झापाले प्रकाशन गरेको यो कविता कृति आपैmमा नेपाली बाङमयको आकाशमा सुन्दर तारा भएर उदाएको छ ।

























