सिक्किम र भुटानमा विदेशी नागरिकलाई प्रवेश रोक

0
485

भद्रपुर।

चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड—१९) विश्वभर महामारीको रूपमा फैलिरहेको भन्दै यसबाट बच्नलाई भारतको सिक्किम र भुटानमा विदेशी नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।

कोरोनाबाट आफ्नो राज्यको नागरिकलाई बचाउन सिक्किम सरकारले बिहीबारदेखि नै सबै इनरलाइन परमिट रद्द गरेसँगै विदेशी नागरिकको प्रवेशमा पूर्ण रूपमा रोक लागेको छ । बुधवार राज्यको सचिवालय टासिलिङमा बसेको उच्चस्तरीय बैठकमा मुख्यसचिव लगायत अन्य उच्च अधिकारीको उपस्थितिमा यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै नेपालसँग जोडिएको सिक्किमको सीमा क्षेत्र चिवाभञ्ज्याङलगायत राज्यका सबै नाकामा चौबीसै घण्टा निगरानी टिम खटाउने निर्णय समेत राज्य सरकारले गरेको छ । सिक्किमका स्वास्थ्य मन्त्री डा. एमके शर्माले कोरोना भाइरसलाई सिक्किम छिर्न नदिनका लागि यस्तो सुरक्षा व्यवस्था लागू गरेको जानकारी दिएका छन् ।

त्यस्तै भुटानमा पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भुटान सरकारले दुई हप्ताका लागि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । भुटानमा पनि कोरोना भाइरस संक्रमित बिरामी भेटिएको छ । भुटान घुम्न गएका अमेरिकन नागरिकमा कोरोना भाइरस देखा परेपछि भुटान सरकारले सजगता अपनाउँदै यस्तो निर्णय गरेको हो ।

यता सिक्किम राज्य सरकारले विदेशी नागरिकमाथि रोक लगाएपछि पश्चिम बङ्गालको शिलगढी बस पार्कमा सिक्किम घुम्न आएका पर्यटक अलपत्रमा परेका छन् । नेपालसहित भुटान, बङ्गलादेश लगायतका पर्यटकहरू सिक्किम घुम्न जान नपाएपछि दार्जीलिङतर्फ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here