नमूना बन्दै गैंडे सामुदायिक वन

0
636

विनोद सापेकाटा/ झापा।

शिवसताक्षी नगरपालिका–१०का बासिन्दाको संरक्षणमा रहेको गैंडे सामुदायिक बन नमूना बन्दै गएको छ ।

जिल्ला वन कार्यालय इलाम मातहत रहेको चुरे र समथर वन क्षेत्रमा वृक्षरोपण गरेर उपभोक्ताले जंगलको स्वरुप नै परिवर्तन गरेपछि गंैडे नमूना वनको नजिक पुगेको हो । तराईबाटै हरियो देखिने गैंडे सामुदायिक वन सेल्फी खिच्नेको प्रमुख रोजाई नै बन्न थालेको छ । उपभोक्ता समूहको मेहनत र परिश्रमले गैंडे सामुदायिक वनले आफ्नो हैसियत अव्बल बनाउन सकेको स्थानीय बासिन्दा बताउँछन् ।

जिल्ला वन कार्यालय इलामले २०५४ सालमा ११७८.०२२ हेक्टर जंगल क्षेत्र झापाका उपभोक्तालाई संरक्षण र उपभोगका लागि दिएको थियो । उक्त वन क्षेत्र साविकको महमाई हाल माई नगरपालिकाको वडा नम्बर ८ मा पर्छ । साविक सतासीधाम–८ हाल शिवसताक्षी नगरपालिका वडा नम्वर १०का उपभोक्ताले २३ वर्षदेखि उक्त वनको संरक्षण गर्दै आएका छन् ।

इलामका सामुदायिक बनमध्ये गैंडे उत्कृष्ट वन हो । जिल्ला बन कार्यालय इलामका वन अधिकृत मेघराज राईका अनुसार गैंडे सामुदायिक बनले तोकेको मापदण्ड पूरा गरेको छ । ‘इलामको बन झापाका उपभोक्ता रहेका १९ सामुदायिक बनमध्ये गैंडे नम्वर वान नै हो’– उनले भने । सामुदायिक बनले वार्षिक कार्ययोजना बनाएर जिल्ला बन कार्यालयमा आफ्ना योजना पेश गर्नु पर्छ । जिल्ला बनले स्वीकृत गरेको कार्ययोजनामा वन विकास, महिला उद्यम र गरिवी निवारणमा सामुदायिक बनले ध्यान दिनुपर्छ । यी तिनै मुख्य योजनामा इलामका १७ सामुदायिक बनमध्ये गैंडे सामुदायिक बन नम्वर वान भएको उनले बताए ।

सामुदायिक बनले जिल्ला बन कार्यालयले दिएको मापदण्ड सवै पूरा गरेको छ । बन अधिकृत राई भन्छन्– भूगोलले साथ नदिए पनि उपभोक्ताले साथ दिएका छन्, गैंडे सामुदायिक बन इलामका सामुदायिक बनमध्ये अव्बल बनेको छ । सामुदायिक बनको सवैभन्दा ठूलो काम बन पैदावर चोरी निकासी नियन्त्रण गर्नु हो । बन्दुक बोकेका तस्कर गंैडेका उपभोक्ताको साहस देखेर बन क्षेत्रमा पस्ने हिम्मत गर्दैनन् । बन अधिकृत राईले भने– ‘गैंडेका स्थानीयले संरक्षण गरेको सामुदायिक बन निकै राम्रो भएको छ । सरकारले गरेको अपेक्षा अनुरुपको उद्देश्य पूरा गर्ने काम समुदायबाट भएको छ । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड सजाय त राज्यको नम्स नै हो नि’– उनले भने ।

सामुदायिक बनले राम्रो बन बनाउन वर्षेनि वृक्षरोपण गर्ने गरेको छ । दोमुखा बन क्षेत्रमा उपभोक्ता समूहले यस वर्ष २ हजार ५ सय टिक, मसला र मलेसियन सखुवाको विरुवा रोपेको छ । सामुदायिक बनका १६ सय उपभोक्ता लाई तेजपातको विरुवा वितरण गरेको सामुदायिक बनकी सचिव कुमारी योङ्हाङ फागोले बताएकी छन् । ‘सामुदायिक बन हेर्नु छ भने दोमुखा जाआंै’ यो स्लोगन इलाममा प्रख्यात छ । गैंडे सामुदायिक बनले इलाममा जति नाम कमाएको छ, झापामा खासै नभएको स्थानीय उपभोक्ता स्वयम् बताउँछन् । ‘हुन त इलामको बन इलाममै चर्चा हुन्छ नि, उपभोक्ता झापाका हुँदा गरेका काम देखिँदैन’– स्थानीय हरेराम साहले भने ।

सामुदायिक बनको अध्ययन अवलोकन गर्नेको संख्या पनि कम छैन । उपभोक्ता समूहका कोषाध्यक्ष रवीन न्यौपाने भन्छन्– ‘अन्तर सामुदायिक बनका उपभोक्ता बेला–बेला अध्ययन भ्रमणमा आउने गरेका छन् । सामुदायिक बनको वार्षिक कार्ययोजना, कार्यालय व्यवस्थापन, चोरी तस्करी नियन्त्रणका उपाय लगायतकाबारेमा वाहिर बाट आउने सामुदायिक बनका उपभोक्ताले चासो लिनुहुन्छ र बनको निरीक्षण पनि गर्नुहुन्छ ।’

समूहले वन क्षेत्रमा चरिचरण तथा घाँस दाउरा काट्न पूर्णरूपमा बन्देज लगाउँदै आएको छ । आवश्यकता अनुसार सरसफाई र गोडमेल पनि गर्दै आएको छ । ‘विरुवाहरु हुर्किन थालेका छन्, त्यसको संरक्षण हामीले निरन्तर गरिरहेका छौं’– सामुदायिक बनका अध्यक्ष अमृतबहादुर कार्कीले भने– ‘विरुवा जोगाउन अहिले केही समस्या भए पनि भविष्यका लागि राम्रो हुन्छ ।’ सामुदायिक बनले स्थानीयवासिन्दाहरूका बीचमा सामुहिक कार्य गर्ने, एकताबद्ध हुने, सहयोग आदानप्रदान गर्ने बानीको बिकास भएको अध्यक्ष कार्कीले बताए ।

सामुदायिक बनले गरिवीका कारण घर बनाएर बस्न नसकेका परिवारलाई घर निर्माण गरिदिएको छ । यो वर्षमात्र ३ वटा घर निर्माण गरेर उपभोक्तालाई हस्तान्तरण गरेको समूहका उपाध्यक्ष नन्दप्रसाद रायले बताए । उनले भने– ‘भुइँमा सुत्ने २१ घरका परिवारलाई खाट निर्माण गरेर वितरण गरेका छांै ।’ उपभोक्ता मा जटिल प्रकृतिका रोग लागे १५ हजारसम्म दिने सामुदायिक बनले नियम बनाएको छ । क्यान्सर, मृगौला जस्ता प्राणघातक रोग लागेमा उपभोक्ताले सामुदायिक बनबाट आर्थिक सहयोग पाउने गरेका छन् ।

उपभोक्ताको मृत्यु हुँदा दाहसंस्कार गर्न पनि सामुदायिक बनले निःशुल्क दाउरा उपलव्ध गराउँदै आएको छ । काजक्रिया खर्च १० हजार सम्म उपलव्ध गराउने गरेको सामुदायिक बनले जनाएको छ । शिवसताक्षी नगरपालिकाको योजनामा नपरेका विकासे काममा पनि सामुदायिक बनले सहयोग गर्ने गरेको छ । सामुदायिक बनले स्थानीय वडा र नगरपालिका संग मिलेर विकास निर्माणमा काम गरिरहेको छ । सेवा क्षेत्रका उपभोक्तालाई सहज हुनका लागि वाटो, कल्भर्ट, पुल निर्माणमा सामुदायिक बन लागीपरेको स्थानीयले बताएका छन् ।

अध्ययनका लागि इच्छा शक्ति छ तर पोल्टामा रुपैयाँ नभएका एक दलित परिवारका सदस्यलाई कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन अध्यापनको सामुदायिक बनले जिम्मेवारी लिएको छ । गंैडे सामुदायिक बन मेची अंग्रेजी बोर्डिङ स्कूलको संस्थागत अभिभावक समूह हो । सो समूहले मौसम विकलाई अध्ययन अध्यापन गराइरहेको छ ।

सामुदायिक बनको सुरक्षाका लागि उपभोक्ता दिनहुँ गस्ती गर्छन् । विभिन्न टोली बनाएर उपभोक्ता दिनहुँ बन सुरक्षाका लागि गस्तीमा परिचालित हुने गरेका छन् । बिभिन्न कामका लागि उपभोक्ता नियमित बैठक बस्ने छलफल गर्ने, योजना बनाउने र काम गर्ने गर्दै आएका छन् ।

उपभोक्ता वन ऐन २०४९ बन नियमावली २०५१को अधिनमा रही राष्ट्रिय बन क्षेत्रमा स्वीकृत बन कार्य योजना अनुरुप गैंडे सामुदायिक बनको स्थापना भएको हो । ०५४ सालमा स्थापना भएको सामुदायिक बनले मेदनी शिवाकोटीको २, लीलाप्रसाद भट्टराईको ३, देवीप्रसाद सिटौलाको १ र अमृत वहादुर कार्कीको २ कार्यकालको नेतृत्व पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here