झापामा मास्कको अभाव, देशभर १५५ वटा आइसोलेसन वार्ड

0
739

बिर्तामोड।

दक्षिण पूर्वी एशियाली मुलुकहरुमा कोरोना भाइरस फैलने क्रम जारी रहेका बेला नेपालमा भने मास्कको अभाव भएको छ । कोरोना भाइरसको संत्रास फैलिएसँगै बजारमा मास्कको चरम अभाव भएको हो । फार्मेसी केन्द्र, स्वास्थ्य चौकी, अस्पतालहरूमा एकाएक मास्कको माग बढ्न थालेको छ ।

कोरोनाको उच्च जोखिममा रहेको नेपालमा मास्कको आभाव हुनुका साथै कालो बजारी शुरु भएपछि झापामा अनुगमन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, स्थानीय तह र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार बिर्तामोडका केही क्लिनिक तथा औषधि पसलहरुको अनुगमन गरेको छ । स्वास्थ्य कार्यालयका ईश्वरी पौडेल, जिप्रकाका यदुनन्दन दाहाल, घरेलु कार्यालयका बिनोद न्यौपाने, बिर्तामोड नगरपालिकाकी स्वास्थ्य शाखाकी सावित्रा ढकाल र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहित गरिएको अनुगमनका क्रममा झापामा मास्कको अभाव भएको पाइएको छ । कालो बजारी गरेको फेला नपरे पनि अभाव सिर्जना भएकाले अब मास्क पाउनै मुस्किल भएको स्वास्थ्य कार्यालयका पौडेलले बताए ।

विश्वमा नोवेल कोरोना भाइरसको महामारी फैलिरहेका बेला नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको हो । अनुगमन टोलीले पसल–पसलमा गएर मास्क भए नभएको सोधेको थियो । स्थानीयले भने नाम मात्रैको अनुगमन भएको भन्दै कालोबजारी गर्ने व्यापारीसम्म अनुगमन टोली पुग्नै नसकेको बताएका छन् ।

यसैबीच झापाबाट मास्क काठमाडौंसम्म पु¥याएको बताइएको छ । कालोबजारी गर्नेहरुले मास्क प्रतिगोटा एक सय ५० रुपैयाँसम्ममा विक्री गरेको जनाइएको छ । कोरोना भाइरसबाट जोगिनका लागि ‘एन ९५’ नामक मास्क आवश्यक पर्छ । तर बजारमा ‘एन ९५’ सँगै साधारण मास्कको पनि अभाव भएको छ । कतै साधारण मास्क पाइए पनि व्यापारीले मूल्य बढाएर बिक्री गर्न थालेका छन् । समान्यतः विगतमा १० रुपैयाँ पाइने साधारण मास्क अहिले २५देखि ३० रुपैयाँसम्ममा बिक्री भइरहेको स्थानीय सन्दीप न्यौपानेले बताए ।

सर्वसाधारण, विद्यालय, संघ–संस्था लगायतबाट मास्कको ठूला माग रहेको बताइएको छ । तर, बिर्तामोड, काँकरभिट्टा, दमक, भद्रपुर लगायतका स्थानमा रहेका औषधि पसलहरुमा मास्कको अभाव छ । विगतमा ५० वटा मास्कको प्याकेटलाई करिब २ सय ५० रुपैयाँ पर्ने भए पनि अहिले लुकिछिपी एक हजार ५ सयभन्दा बढीमा बिक्री गरिरहेको बताइएको छ ।

नेपालमा मास्कको बजार सबैभन्दा बढी चीनले ओगटेको छ । तर, चीन कोरोनाले जुधिरहेको कारण त्यहाँबाट मास्क आयात गर्न सम्भव नभएको बताइएको छ । यसैबीच चिकित्सकहरुले मास्क लगाएर सुरक्षित हुनु राम्रो भए पनि अभाव भएकाले वैकल्पिक उपाय अपनाउन आग्रह गरेका छन् । मेची अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले मास्कको सट्टामा सफा कपडाको प्रयोग गर्न सकिने बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय झापाले नजिकिएको फागू पूर्णिमा अर्थात् होली पर्व नमनाउन आग्रह गरे छ । रंगहरुको पर्व होली मनाउँदा ठूलो भीड हुने भएकाले धेरै भीडभाडमा नगई पर्व मनाउन आग्रह गरिएको छ । त्यस्तै विवाह, ब्रतबन्ध तथा ठूला महोत्सव तथा भीडभाड हुने कुनै पनि कार्यक्रमहरु नगर्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सबैले सजगता अपनाएर रोगबिरुद्ध लड्नुपर्ने बताए । उनले गलत हल्लाको पछि नलाग्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् । सबै स्थानीय तह, विभिन्न संघ–संस्थाहरुलाई भीडभाड हुने कुनै कार्यक्रम नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको जनाएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको छ । नगरपालिकाले होली पर्व धेरै मानिस भेला भएर नमनाउन आग्रह गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएको छ । कोरोनाको त्रास बढेसँगै झापाका सबै अस्पतालहरुलाई आइसोलेसन कक्ष तयारी अवस्थामा राख्न आग्रह गर्दै सबैले आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताइएको छ ।

यसैबीच संसद्मा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिएर सरकारले विभिन्न अस्पतालमा १५५ वटा आइसोलेसन वार्ड अथवा एक्लै राखेर उपचार गर्न मिल्ने शय्याहरू छुट्याइएको बताएका छन् ।

स्वास्थ्यमन्त्री ढकालले कोरोना भाइरसको संक्रमणलाई ‘नपड्किएको एम्बुस’ सँग तुलना गर्दै सावधानीको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले कोभिड–१९ नियन्त्रणका लागि सतर्कता अपनाउन १५५ वटा एक्लै राखेर उपचार गर्न मिल्ने शय्याहरू तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले ७ वटा अस्पताललाई ‘हब अस्पताल’ का रूपमा विकास गरिएको पनि बताए ।

यता नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने बताएको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जस्तोसुकै परिस्थिति आए पनि तीन महिनालाई पुग्ने औषधि अहिले नै रहेको र त्यसपछिको परिस्थितिमा पनि औषधि उत्पादन गर्न कच्चा पदार्थ मौजाद रहेको बताएको छ । संघका महासचिव विप्लव अधिकारीले भूकम्प र नाकाबन्दीका बेला पनि देशमा औषधि अभाव हुन नदिएको स्मरण गराएका छन् ।

बिर्तामोडका सबै अस्पतालमा हेल्प डेस्क

कोरोना भाइरस (कोभिड–१९) बाट बच्न बिर्तामोडका सबै अस्पतालले हेल्प डेस्क स्थापना गर्ने भएका छन् । नगरपालिकाले शुक्रबार सबै अस्पताल सञ्चालकहरुसँग छलफल गर्दै डेस्क स्थापना गर्न भनेपछि सबै अस्पतालले हेल्प डेस्क स्थापना गर्ने भएका हुन् । ‘नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्व सचेतना अपनाउन लागेका हौँ’– बिर्तामोडका नगर प्रमुख धु्रव शिवाकोटीले भने– ‘यसका लागि सरोकारवाला सबै संघ–संस्था एकजुट हुन आवश्यक छ ।’

बिर्तामोड पूर्वको मुख्य व्यापारिक केन्द्र भएकाले उच्च आवागमन हुने हुँदा सतर्कता अपनाउन यस्तो नीति लिइएको नगरप्रमुख शिवकोटीले बताए । छलफलपछि केही अस्पतालले शुक्रबारदेखि र केहीले शनिबारदेखि हेल्थ डेस्क सञ्चालन गर्ने भएका छन् ।

त्यस्तै, आँखाको उपचारका लागि बिर्तामोडमा आउने भारतीय बिरामीको स्वास्थ्य परीक्षण गरेर मात्र उपचार अघि बढाइने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण देखिएकाले त्यस्तो गर्न लागिएको हो । बिर्तामोडका तीन मुख्य बस बिसौनी पूर्व बस स्टेण्ड, पश्चिम बस स्टेण्ड र इलाम स्टेण्डमा पनि हेल्थ डेस्क राखिने भएको छ । बिर्तामोडमा आइसोलेसन सेन्टर स्थापना गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरिने भएको छ ।

यसैबीच बिर्तामोड नगरपालिकाले साना–ठूला भेला नगर्न, होली पर्व नमनाउन र आवश्यक सचेतना अपनाउन नगरबासीलाई आग्रह गरेको छ । बिर्तामोडमा १० वटा निजी अस्पताल, ४ वटा आँखा अस्पताल र ३ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here