अन्तर्राष्ट्रिय बुद्धिचालको उपाधि भारतीय खेलाडी हरिश शर्मालाई

0
883

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

झापाको मेचीनगरमा सम्पन्न पीवी थापा स्मृति केसीसी अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडीले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल चरणको खेलमा भारतका २०९५ रेटेड खेलाडी हरिश शर्माले उपाधि जितेसँगै नगद ६० हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् । प्रतियोगितामा भारतीय खेलाडीहरुको बर्चस्व रह्यो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भएको खेलमा शर्माले साढे आठ अंकसहित च्याम्पियन बनेका हुन । नवौँ चरणसम्म भएको खेलमा शर्माले आठौ चरणसम्म जीत दर्ता गरे पनि एउटा खेल बराबरी खेले । फाइनल चरणको खेलमा हरिशले भारतकै राकेश गुरुङसँग बराबरी खेलेका थिए । आठौँ चरणसम्मको खेलमा जीत हात पारेका हरिशलाई नवौँ चरणको खेलमा हराउन राकेशले निकै मिहिनत गरेका थिए ।

सेतो गोटी लिएर राकेशले खेलको ४८औँ चालमा घोडा फाइदा गरे । जसले गर्दा हरिश दबाबमा परेका थिए । दबाबमा परे पनि संयमित खेलेका हरिशले आक्रामक खेलेका राकेशको हरेक चाललाई विफल पार्दै लगे र ७७ औँ चालमा राकेशलाई हात्ती बलिदान गर्न बाध्य बनाए । अन्ततः ८० औँ चालमा खेल बराबरीमा रोके ।

यसैगरी, भारतकै रिशव निशाद र राकेश गुरुङ दोस्रो र तेस्रो भए । रिशवले नवौँ चरणको खेलमा भारतकै कुमार गौरवसँग बराबरी खेलेका थिए । दुवैको समान साडे ७ अंक भएता पनि बुकोहम टाइब्रेकरको आधारमा रिवले दोस्रो स्थान हात पारेका हुन् । रिशवले ४० हजार पाउँदा राकेशले २५ हजार नगद हात पारे ।

नेपालका कृष्ण थापा चौथो स्थानप्रप्त गरेका थिए । उनले नगद १८ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै, भारतका किरण साइ, कुमार गौरव, राघव श्रीवास्तव, प्रशान्त करिया क्रमशः पाँचौ, छैठौँ, सातौँ र आठौँ स्थानमा रहे भने नेपालका सुमन राई नवौँ र भारतका सम्भ्रांत गोयल दशौँ स्थानमा रहे ।

बीसौँ स्थानसम्मका खेलाडीलाई आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार भेट्रानतर्फ उत्कृष्ट ठहरिए । महिलातर्फ भारतका स्नेहा हल्डेर प्रथम भइन् । झापाका सुमन श्रेष्ठले प्रदेशतर्फ पहिलो स्थान हात पर्दा राजन सुवेदी झापा जिल्ला उत्कृष्ट ठहरिए ।

प्रतियोगिता आयोजक नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण समारोहमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती विशिष्ट अतिथि संविधान सभा सदस्य उषा गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याललगायतले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

फागुन २० गतेदेखि शुरु प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १ सय ३२ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा सबैभन्दा बढी ८० वर्षका राजस्थानका आरके गुप्ताले पनि प्रतिस्पर्धा गरेका थिए । क्लबका महासचिव अशोक राईले सञ्चालन र प्रथम उपाध्यक्ष सुरेन्द्र बुडाथोकीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि उप्रेती, विशिष्ट अतिथि गुरुङ, विजेता खेलाडी हरिश शर्मालेलगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here