काठमाडौँ,
कीर्तिपुर नगरपालिकाले ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन’ पारित गर्दै कार्यान्वयनमा अगाडि बढाएको छ । साथै आगामी वर्षदेखि सार्वजनिक शौचालयको योजना बनाउने तयारीमा जुटेको छ ।
सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउन ल्याइएको सो मार्गदर्शन कार्यान्वयन गर्ने सो नगरपालिका काठमाडाँै उपत्यकाभित्रका नगरपालिकामध्ये नै पहिलो बनेको जनाइएको छ ।
नगरको सरसफाइ र स्वच्छ वातावरणका लागि सार्वजानिक शौचालय महत्वपूर्ण अङ्ग मानिन्छ हो । तर उपत्यकाभित्र रहेका त्यस्ता शौचालय फोहर, अपर्याप्त पानी, कमजोर व्यवस्थापन, महिला, अपाङ्गता तथा तेस्रो लिङ्गी मैत्री अभाव, हात धुने ठाउँ नहुनु, रसाउने र चुहिने समस्या, हात धुने ठाउँको अभाव तथा सबैका दिसा गर्ने सुविधा नहुनु समस्या रहेका छन् ।
शौचालयमा हुनुपर्ने सेवासुविधा तोकिएको आधिकारिक मापदण्ड रहेको छैन । भएका शौचालयको अनुगमन र मूल्याङ्कन गर्ने कुनै निकाय नभएका कारण पनि शौचालयको अवस्थामा सुधार आउन कठिनाइ भएको बताइन्छ । यस समस्यालाई समाधान गर्न मार्गदर्शन आवश्यक रहेको जनाइएको छ ।
कीर्तिपुर नगरपालिकाले गत वर्ष सार्वजनिक शौचालयका समस्या समाधान गर्न उपप्रमुख सरस्वती खड्काको अध्यक्षतामा एक समिति गठनसमेत गरेको थियो । साथै सो नगरपालिकासहित काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले र गुथी नामक गैरसरकारी संस्थाको सहयोगमा ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन मस्यौदा’ तयार गरिएको थियो ।
ती नगरपालिकामा रहेका सार्वजनिक शौचालयको समस्या समाधान गर्न मस्यौदामा बनेको गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । यसैबीच मस्यौदालाई अन्तिम रुप दिन कीर्तिपुर नगरपालिका र सो संस्थाद्वारा संयुक्त रुपमा शुक्रबार छलफल कार्यक्रम सम्पन्न भयो ।
छलफलका क्रममा मार्गदर्शनलाई कार्यान्वयनमा कसरी लाने भन्ने विषयमा वडाध्यक्षहरुले विभिन्न सुझाव दिनुभएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख रमेश महर्जनले भन्नुभयो, “ मानिसको मनमस्तिष्कमा शौचालय भनेको फोहर हो भन्ने मान्यता छ । हाम्रा लागि ठूलो चुनौतीको रहेको छ । यो सोचमा परिवर्तन ल्याउन र जनचेतना जगाउन आवश्यक छ ।”
कार्यक्रममा उपप्रमुख खड्काले भन्नुभयो, “सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन नगर सभाद्वारा पारित भई राजपत्रमा आउने क्रममा छ । म पहिलोपटक नगरपालिका आउँदा यहाँको शौचालयको अवस्था राम्रो थिएन । असह्य भएर पानी र डस्टबिनको व्यवस्था गरेँ ।
अहिले यो मार्गदर्शन पारित गरी सार्वजनिक शौचालयका समस्यालाई सम्बोधन गर्न हामी धेरै उत्साहित छौँ। अब आउने आर्थिक वर्षमा यसै मार्गदर्शनअन्तर्गत रहेर सार्वजनिक शौचालयको योजना बनाउने छौँ ।”






























