बिर्तामोड, सरकारले कोरोना भाइरस नियन्त्रणका लागि तयारी शुरु गरेसँगै जिल्ला प्रशासन कार्यालय झापाले भाइरस नियन्त्रणका लागि १५ बुँदे निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले भाइरस नियन्त्रणका लागि भारतबाट नेपाल प्रवेश गर्ने जो कोही व्यक्तिलाई मुख्य नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र गैरसरकारी संस्था लगायत स्वास्थ्यसँग सम्वन्धित अन्य निकाय एवम् संस्थाहरुले कोरोना भाइरस परामर्श केन्द्रमा परामर्श गर्दै सहजीकरण गर्ने निर्णण गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार बजारमा देखिएको मास्क अभाव, स्यानिटाइजर, स्वास्थ्य सम्बन्धी उपकरणहरु लगायत स्वास्थ्यसंग अति आवश्यक उपभोग्य बस्तुको वारेमाा बजार अनुगमनलाई तीब्र रुपमा अगाडि बढाइने भएको छ ।
कोभिड १९को सम्भावित संक्रमणको रोकथाम, नियन्त्रण र सजगता अपनाउन जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरु, स्थानीय तह, सञ्चारमाध्यमहरु, नागरिक समाज, पेशाकर्मी समाजसेवी, सामाजिक अगुवाहरुसँगको सहकार्यमा सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।
नजिकिँदै गरेको फागू पूर्णिमा (होली) लगायत सबै प्रकारका सभासम्मेलन, भेला तथा भीडभाड नगर्न, भीडभाडमा सामेल नहुन प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्लामा रहेका सरकारी, सामुदायिक, निजी अस्पताल, स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यकर्मीहरु आवश्यक परेको समयमा स्वास्थ्य सेवामा उपलव्ध गराउने गरी तयारी अवस्थामा राख्न प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
त्यस्तै कोरोना भाइरस सम्वन्धी जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रशारण गर्ने, कोरोना भाइरसका सम्वन्धमा आधिकारिक सूचना प्रवाह तथा समन्वय गर्न स्वास्थ्य कार्यालय झापाका प्रमुखलाई फोकल पर्सनका रुपमा जिम्मेवारी दिइएको छ ।
भाइरसको जोखिम न्यूनीकरणका लागि यसअघि जिल्लामा बसेका विभिन्न वैठकले गरेका निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै स्थानीय तहमा हुने भेला, सभा, सम्मेलन हुन नदिने, मेची अस्पताल भद्रपुर तथा जिल्लास्थित सबै अस्पतालहरुमा कोरोना भाइरसका कारण हुन सक्ने महामारीको पूर्व तयारीका लागि कम्तीमा १० जनालाई उपचार हुने गरी आइसोलेशन कक्षको व्यवस्था गर्ने, दमक, काँकरभिट्टा, भद्रपुर तथा बिर्तामोडका बसपार्कहरुमा हेल्प डेस्कको व्यवस्था गर्ने, प्रदेश स्तरीय क्वारेन्टाइनको व्यवस्थाका लागि प्रदेश सरकारलाई आग्रह गर्ने, प्रत्येक विद्यालयमा ज्वरो नाप्ने इन्फरेड थर्माेमिटरले ज्वरो परीक्षण गर्ने, कोरोना भाइरस सम्वन्धी परीक्षण गर्न तथा ल्यावका लागि प्रयोग हुने सामग्रीका लागि प्रदेश सरकारलाई आग्रह गर्ने र स्थानीय तहले आइसोलेशन रुम तथा सोको सामग्रीहरुको व्यवस्था मिलाउन पहल गर्ने निर्णय भएको छ ।
झापाका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुसहितको वैठकले झापामा कोरोना भाइरस सम्वन्धी सचेतना जगाउन सबै एक हुने निर्णय समेत गरेको छ ।
यसैबीच झापाको बिर्तामोडमा रिपोटर्स क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै मेची अस्पतालका सुपरिटेन्डेन्ट डा. पिताम्वर ठाकुरले कोरोना भाइरस हल्ला गरेजस्तो भयाभह स्थितिको रुपमा नरहेको बताएका छन् । उनले सम्भावित जोखिमबाट बच्नुपर्ने तर, गलत हल्लाको पछि लागेर यसलाई भयभित बनाउन नहुने धारणा राखे । भाइरसका कारण यस अघि पनि धेरैले ज्यान गुमाउने गरेको तर कोरोना भाइरसका वारेमा धेरै हल्ला गरिएको उनले बताए । नेपालमा हालसम्म एक जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिएको र उनलाई आइसोलेशनमा राखेर उपचार भइरहेको डा. ठाकुरले जानकारी दिए । उनले झापामा हालसम्म कोराना भाइरसको उपचारका लागि कुनै पनि अस्पतालमा आइसोलेशन कक्षको व्यवस्था नगरिएको बताए ।
स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले सबै स्थानीय तहहरुलाई कोरोना भाइरसविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सर्कुलर गरिसकिएको बताए । उनले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर बजार अनुगमन समेत शुरु गरेको जानकारी दिए ।
बीएण्डसी अस्पतालका डा. राकेश मण्डलले इवोला, सार्स लगायतका भाइरस भन्दा कोरोना भाइरसका कारण कम मानिसको मृत्यु भएको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण भन्दा पनि हल्ला धेरै भएको बताए । डा. मण्डलले रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसको मृत्यु भएको भन्दै बढी भीडभाड भएको स्थानमा नजान र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले कोरोना भाइरसबाट बच्न सबै सजग हुनुपर्ने धारणा राखेका थिए । उनले वाणिज्य संघले सिलाइबुनाइ व्यवसायीसंग सहकार्य गरेर कपडाको मास्क बनाएर बितरण गर्ने तयारी गरेको जानकारी दिए ।
प्याब्सनका प्रतिनिधि हरिकुमार पाठकले कोरोना भाइरसविरुद्ध विद्यालय तहमा सचेतनामूलक कार्यक्रम शुरु गरेको बताए । सरकारले चैत ५ गतेभित्र कक्षा ९ सम्मको वार्षिक परीक्षा सक्न आग्रह गरेपनि सोही समयमा परीक्षा सक्न सम्भव नभएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले झापा भारतसँग सीमाना जोडिएको जिल्ला भएकाले सीमवर्ती क्षेत्रमा रहेका २८ वटा प्रहरी बिटहरुबाट निगरानी शुरु गरेको जानकारी दिए ।
उनले भारतमा समेत कोरोना भाइरसका बिरामी फेला परेको र नेपाल प्रवेश गर्नेहरुलाई प्रहरीले निगरानी गर्दै स्वास्थ्यकर्मीलाई खवर गर्न शुरु गरेको बताए । उनले होली पर्ब आ–आफ्नै परिवारसंग मनाउन आग्रह गर्दै सार्वजनिक स्थानमा कुनै पनि कार्यक्रम हुन नदिने दावी गरे ।
यसैबीच सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले जीवन बरदान कार्यक्रम अन्तर्गत आफ्ना सदस्यलाई कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने साबधानीका विषयमा जानकारी गराएको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले ‘कोरोनाविरुद्धको अभियानमा सहारा’ भन्ने मूल नाराका साथ झापाका विभिन्न संस्थाको सहयोगमा कोरोना भाइरससहित विभिन्न रोगहरुका बिषयमा प्रशिक्षण प्रदान गरेको छ ।
तालिममा सरुवारोग कोरोना भाइरस, प्रेसर, सुगर, थाइराइड, ग्याष्ट्रिक, बाथ, दम, नशा, योग, थेरापी, घरायसी जडीबुटी लगायतका बिषयमा सदस्यलाई जानकारी गराएका थियो । सहभागीलाई डा. ब्रजेश मेहताले कोरोना भाइरस र मानव स्वास्थ्य तथा सरकारी नीति, सरुवा रोग एवम् पोषण सम्बन्धी जानकारी दिएका थिए । त्यस्तै डा. दिनेशकुमार थापाले प्रेसर, सुगर, थाइराइड, ग्याष्ट्रिक, दम, नशालगायतका रोग रोकथामका विषयमा जानकारी दिए ।
डा. राधेश्याम पोखरेलले प्राकृतिक चिकित्सा, योग र थेरापीका विषयमा र डा. सतेन्द्र यादवले आयुर्वेद शिक्षा तथा जडीबुटीसहित खानपान र जीवनशैलीका विषयमा प्रशिक्षण दिएको सहारा साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले जानकारी दिए । ६५ जना सदस्यको उपस्थितिमा भएको कार्यक्रममा योग प्राणायाम, व्यायाम, श्वास प्रश्वासका बिषयमा समेत प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमकाबीच दुर्गादेवी आचार्यलाई २ लाख र कल्पना जोगीलाई एक लाख रुपैयाँ परिवार राहत वितरण गरिएको थियो । लक्ष्मीपुर सहयोग समिति संयोजक केदारशम्शेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाईका अध्यक्ष प्रेमबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि अर्जुनधारा नगरपालिका वडा नं. ५का अध्यक्ष ध्यानबहादुर भारती, विशेष अतिथि वीएण्डसी हस्पिटलका डा. दिनेशकुमार थापा, सहारा नेपालका साकोसका जीवन वरदान कार्यक्रम संयोजक भक्तबहादुर खड्कालगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन लक्ष्मीपुर सेवा केन्द्र प्रमुख भारतीले गरेका थिए ।






























