मेची क्याम्पसलाई गुणस्तर प्रमाण पत्र

0
1110

भद्रपुर।

भद्रपुरमा रहेको मेची बहुमुखी क्याम्पसले गुणस्तर प्रमाण पत्र अर्थात् क्युएए पाएको छ । विगत एक दशकदेखि विकेन्द्रीकरण हुँदै तीन बर्षअघि स्वायत्तमा गएको मेची बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगको कार्यालय सानोठिमी भक्तपुरमा आयोजित कार्यक्रममा गुणस्तर प्रमाणपत्र क्युएए प्रदान गरिएको हो ।

आयोगका अध्यक्ष प्रा.डा.भीम सुवेदीले क्याम्पस प्रमुख कमल गुरागाईंलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए । क्याम्पस प्रमुख गुरागाईले क्याम्पसमा कार्यरत सबै प्राध्यापक, कर्मचारी, विद्यार्थी, व्यवस्थापन समिति र पूर्ववर्ती क्याम्पस प्रमुखहरुको पनि सहयोग र सद्भावले क्याम्पसले गुणस्तर प्रमाणपत्र पाएकोमा सबैलाई बधाई तथा धन्यवाद दिएका थिए ।

वि.सं.२०२१ सालमा स्थापित यस क्याम्पसमा हाल मानविकी, व्यवस्थापन, विज्ञान विषय, पाँच वटा विषयमा स्नातकोत्तर कक्षाका साथै बीबीए, बीसीए, बीएसस्सी, सिएस आइटि र विएस डल्यु विषयमा स्नातक तहको पठनपाठन हुने गरेको बताइएको छ ।

पठनपाठन, उत्तीर्ण प्रतिशत, पर्याप्त भौतिक सुविधा, पुस्तकालयमा आवश्यकीय पर्याप्त पुस्तक र ई–लाइब्रेरी, योग्य शिक्षक, राम्रो व्यवस्थापन आदिका आधारमा अयोगको क्युएए काउन्सिलको सिफारिसमा कुनै पनि शैक्षिक प्रतिष्ठानलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर प्रमाणपत्र प्रदान गर्ने गरेको छ ।

त्यसैगरी ललितपुरको पुल्चोक क्याम्पस र काठमाडौंको बर्नहार्ट क्याम्पसले पनि गुणस्तर प्रमाणपत्र पएका छन् । क्युएए प्रमाणपत्र पाएपछि विश्वमै यस क्याम्पसबाट उत्तीर्ण हुने विद्यार्थीको महत्व बढी हुने बताइएको ।

क्युएए प्रमाण पत्र पाँच बर्षका लागि दिइएको र पाँच बर्षपछि क्याम्पसले अहिलेको सुविधा र व्यवस्था कायम राख्न सकेमा नवीकरण हुनेछ भने नसकेमा उक्त प्रमाणपत्र खोसिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here