सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल,बिर्तामोड।

झापामा सञ्चालित अधिकांश सहकारी संस्थाले बचत तथा ऋणको मात्र कारोवार गरिरहेका बेला नेपाल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले कृषकलाई कृषि कर्ममै आत्मनिर्भर बनाउने अभियान शुरु गरेको छ ।
विगत केही वर्षदेखि पशुपालन र कागती खेतीमा जोड दिँदै आएको सहकारीले अहिले एकीकृत नमूना कृषि फर्म सञ्चालन गरेर कृषकलाई आधुनिक र व्यवसायिक खेतीका लागि ज्ञान प्रदान गर्न शुरु गरेको छ ।
एनएमसीका सदस्यलाई कृषिमा व्यवसायिकीकरण गर्दै समृद्धितर्फ उन्मुख गराउन सहकारीले अहिले एकीकृत नमूना कृषि फर्म सञ्चालन गरेर प्रोत्साहित गर्न शुरु गरेको बताइएको छ ।
सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार सहकारीले अहिले मेचीनगर–१४ दुवागढीमा १६ विगाह क्षेत्रफलमा नमूना कृषि फर्म सञ्चालन गरेको छ । जहाँ तरकारीका विरुवा उत्पादनदेखि व्यवस्थित गाई फर्म समेत सञ्चालन हुने छ । जसका लागि सहकारीले १० करोड रुपैयाँ लगानी गरेको छ ।
प्रदेश नम्वर १मै नमूना कृषि फर्म सञ्चालन गर्ने लक्ष्य सहित सहकारीले सदस्यलाई सहभागी गराएर एनएमसीको उत्पादन सोझै उपभोक्तासम्म पु¥याउने योजना अघि सारेको छ । डेरी उद्योग सञ्चालन गर्दै आएको सहकारीले अब एग्रो फर्म समेत सञ्चालन गर्ने भएको छ ।
८० हजार तीन सय सदस्य रहेको सहकारीले कृषकलाई व्यवसायिक र आधुनिक खेतीतर्फ प्रोत्साहित गराउन तरकारीका विरुवासंगै प्रविधि समेत सिकाउने भएको छ । जसका लागि कृषि प्राविधिकको समेत व्यवस्था गरिएको अध्यक्ष उप्रेतीले बताए । उनले भने– हामीले यहाँ सञ्चालन गर्ने नमूना कृषि फर्ममा हाम्रा सदस्यलाई आधुनिक खेती कसरी गर्ने र कस्तो खेती गर्दा बढी मुनाफा लिन सकिन्छ भन्ने विषयमा प्रयोगात्मक रुपमा सिप सिकाउँदै कृषि कर्मका लागि आवश्यक पर्ने सामग्री समेत प्रदान गर्छाै. ।
तरकारी खेती गर्नेले अब एनएमसीको फर्मबाट सोझैं आफूले के उत्पादन गर्ने हो विरुवा लिएर जान सक्छ, त्यो व्यवस्था हामीले मिलाएका छौं– अध्यक्ष उप्रेतीले भने– ‘जसका लागि हामीले तरकारी बेर्ना बैंक नै स्थापना गरेका छौं ।’
सहकारीले आफ्ना सदस्यलाई लक्षित गर्दै गाईपालन, माछापालन, तरकारी खेती, फलफूलको नर्सरी, टे«निङ सेन्टर र कृषि औजार उपकरण भाडामा दिने योजना पनि अघि सारेको बताइएको छ ।
त्यस्तै सहकारीले कृषकले उत्पादन गरेको उत्पादनलाई खरिद गर्दै खाद्य बालीको खेती समेत गर्ने भएको छ । सहकारीले कृषकले उत्पादन गरेको तरकारीलाई खरिद गर्दै तरकारी एग्रो मार्टबाट सोझै बजार र कृषकको घर–घरमा मोवाइल बैकिङ सिस्टमबाट पु¥याउने योजना अघि सारेको अध्यक्ष उप्रेतीको भनाइ छ ।
तरकारी उत्पादनलाई सुरक्षित गर्दे सहकारी आफैंले कोल्डस्टोर निर्माण गर्ने र उत्पादित तरकारीलाई क्लिनिङ र ग्रेडिङ गर्दै उपभोक्तासम्म पु¥याइने योजना रहेको अध्यक्ष उप्रेतीले बताए । कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा स्थापित गर्दै किसानलाई व्यवसायिक कृषि खेतीप्रति प्रोत्साहित गर्ने लक्ष्यका साथ एनएमसीले कृषि फर्म सञ्चालन गरेको बताइएको छ ।
नेपालमै कृषिमा प्रशस्त सम्भावना भए पनि सामुहिक कृषि खेतीप्रति ज्ञान नहुनु, प्राविधिक ज्ञानको अभाव र परम्परागत कृषि प्रणालीका कारण कृषि पेशाप्रति निराशा बढेको भन्दै यसलाई बदल्न सहकारीले आधुनिक प्रणालीबाट कृषि फर्म सञ्चालन गरेर व्यवसायिक कृषि कर्म तर्फ उत्प्रेरित गर्ने शुरु गरिएको अध्यक्ष उप्रेतीले बताए ।
सरकारले कृषि क्षेत्रमा लगानी गरे पनि त्यसको बजारीकरणमा ध्यान नदिइरहेका बेला सहकारीले भने कृषकलाई कृषि पेशामा प्रोत्साहित गर्दै किसानले उत्पादन गरेका वस्तुलाई सहकारीले आफैं खरिद गरेर बजारीकरणको समस्या हुन नदिने अध्यक्ष उप्रेतीको भनाइ छ ।
किसानले उत्पादन गरेको वस्तु सहकारीले खरिद गर्ने भएपछि बजारको समस्या हुँदैन– अध्यक्ष उप्रेतीले– किसानले पनि उचित मूल्य पाउँछन्, उपभोक्ताले शुपथ मूल्यमा खरिद गर्न सक्नेछन्, यसमा बिचौलिया हावी हुँदैन ।
सहकारीले किसानलाई कागती खेती तर्फ प्रोत्साहित गर्ने उद्देश्यले यसअघि झण्डै तीस हजार विरुवा बितरण गरेको थियो । त्यसले उत्पादन समेत दिन शुरु गरेको बताइएको छ ।
कागती खेतीप्रति उत्साहित हुँदै ४२ जना किसानले व्यवसायिक कागती खेती शुरु गरेको अध्यक्ष उप्रेतीले बताए । उनले भने– सहकारीबाट प्रदेश सांसद गोपाल बुढाथोकीले लानु भएको कागतीको विरुवाले उत्पादन दिन शुरु गरेसँगै उहाँले व्यवसायिक खेती शुरु गर्नुभएको छ । सांसद वुढाथोकीले एक विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा कागती खेती शुरु गरेको अध्यक्ष उप्रेतीले बताए ।
झापामा कागतीको व्यवसायिक खेती हुन शुरु गरेपछि सहकारीले तरकारीलाई पनि व्यवसायिकता प्रदान गर्दै वेर्ना बैंकको अवधारणा अघि ल्याएको बताइएको छ । वैंकबाट कुरिलो, लौका, फर्सी, काँक्रा, करेला, भिन्डी लगायतका मौसमी र वेमौसमी तरकारीको बिरुवा उत्पादन र वितरण गर्न शुरु भएको छ ।
बैंक पनि तरकारी !
मौसमी तथा बेमौसमी तरकारीका विरुवा उत्पादन गर्दै सदस्यलाई वितरण गर्न सहकारीले अहिले तरकारीको नर्सरी तयार गरेको छ । जसलाई सहकारीले तरकारीको बेर्ना बैंक नामकरण गरेको छ । जहाँ कुरिलोदेखि करेलासम्मका तरकारीका विरुवा उत्पादन गरेको छ । जुन विरुवा आफ्ना शेयर सदस्यसहित सर्बसाधारण जो कोहीलाई वितरण गर्दै आएको छ ।
सहकारीले नै वेर्ना बैंक सञ्चालन गरेपछि बजारबाट बीऊ किनेर विरुवा उत्पादन गर्नुपर्ने झञ्झटबाट किसानमुक्त भएका छन् ।
बजारमा गुणनस्तरहीन बीऊ विक्री बितरण हुने र नउम्रने समस्याले किसानलाई पिरोलेको थाहा पाए लगत्तै आफूहरुले गुणस्तरीय विरुवा उत्पादन गरेर किसानलाई वैंकमार्फत तरकारीका विरुवा वितरण गर्न शुरु गरिएको अध्यक्ष उप्रेतीले बताए ।
जन्मकुण्डलीसहितको गाईपालन !
पशुपालनमा लागेका किसानले पशुपालनबाट आफूले सोचे अनुसारको आम्दानी गर्न नसकिरहेको अबस्थामा किसानलाई समेत आधुनिक र व्यवस्थित गाईपालनमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यसहित नमूना गाई फर्म सञ्चालनको अन्तिम चरणमा पुगेको छ । जहाँ उन्नत जातका गाईपालन गरिने र बाच्छी उत्पादन गर्दै कृषकलाई वितरण गर्ने तयारी गरिरहेको सहकारीका अध्यक्ष उप्रेतीले बताए । उनले भने– एनएमसीको फर्ममा उत्पादन भएको बाच्छीको जन्म कुण्डली बनाइन्छ । जसका कारण कस्तो पशुपालन गर्दा कति आम्दानी गर्न सकिने रहेछ भन्ने विश्लेषण सहित पशुपालनमा लाग्ने कृषकलाई आबश्यक ज्ञानसहित बाच्छी विक्री गर्दै गाईपालनमा प्रोत्साहित गर्छाैं ।
केही वर्ष अघिसम्म झापामा चार वटा मात्रै दूध चिस्यानका लागि चिलिङभ्याट रहे पनि अहिले कृषकले पर्याप्त दूध उत्पादन गर्न शुरु गरेपछि ४० भन्दा बढी चिलिङभ्याट सञ्चालनमा रहेको अध्यक्ष उप्रेतीले बताए । झापा पछिल्लो समय दूधमा आत्मनिर्भर भएको छ । कृषकले उत्पादन गरेको दूध सहकारी आफैंले खरिद गर्न थालेपछि पशुपालन गर्ने कृषक समेत उत्साहित भएका छन् ।
पशुपालन सञ्चालनसँगै साइलेस प्रविधिको घाँस उत्पादन गर्ने सहकारीको लक्ष्य रहेकाले कृषकले हरियो मकैको घाँस समेत विक्री गर्ने अवस्था सृजना भएकाले किसानलाई जताबाट पनि आत्मनिर्भरका लागि सहज हुने अध्यक्ष उप्रेतीको भनाइ छ । किसानले उत्पादन गरेको मकैको बोट काँचैमा हामी साढे तीन रुपैयाँले खरिद गर्छाैं– अध्यक्ष उप्रेतीले भने– हाम्रो फर्मले पशुपालनसंगै अब प्राङ्गारिक मल समेत उत्पादन गर्छ । अग्र्यानिक खेतीतर्फ कृषकलाई प्रोत्साहित गर्दै आवश्यक पर्ने कृषि औजारसमेत हामीले नै भाडामा दिने भएपछि आसपासका मानिसले समेत आधुनिक खेतीमा जोड दिने र उत्पादन बढाउने अपेक्षा सहकारीले लिएको छ– अध्यक्ष उप्रेतीले भने– एनएमसी अब आम किसानको दुःखको साथी बन्ने छ ।
सहकारीले कृषि पेशालाई आधुनिक र व्यवसायिकीकरणमा जोड्न कृषि फर्म सञ्चालन गरेपछि झण्डै ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । अहिले दैनिक १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने झण्डै १५ जना ज्यालादारीमा काम गर्दै आएको अध्यक्ष उप्रेतीको भनाइ छ ।






























