पितृभवनमा पितृस्मृति अक्षयकोष स्थापना

0
832

बिर्तामोड ।

अर्जुनधारा–७ मा रहेको सामुहिक उद्धार तथा उपकार संघ पितृभवनमा पितृस्मृति अक्षयकोष स्थापना गरिएको छ ।

सम्पूर्ण पितृहरुको उद्धार गर्ने उद्धेश्यले सामुहिक उद्धार तथा उपकार संघ पितृभवनको आयोजनामा गत बिहीबारदेखि भइरहेको श्रीमद् गरुड पुराण सप्ताह ज्ञान महायज्ञका प्रमुख अतिथि जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले ५० हजार प्रदान गर्दै पितृस्मृति अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष विशाल शिवाकोटीले बताए ।

त्यसक्षेत्रका ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटन गराउने , ज्येष्ठ नागरिकका लागी डे केयरको व्यवस्था गर्ने लगायतका उद्धेश्यले पितृस्मृति अक्षयकोष स्थापना गरिएको उनले वताए ।
१० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने र त्यसको व्याजवाट ज्येष्ठ नागरिकको हकहितका लागि कार्य गर्ने अध्यक्ष शिवाकोटीले बताए । पुराण श्रवण गर्न आउने भक्तजनहरुले अक्षयकोषका लागि रकम प्रदान गरिरहेको उनले जानकारी दिए ।

त्यस्तै पितृकार्य(काजकिरिया) गर्ने स्थानको ब्यवस्था गर्ने उद्धेश्यले संस्थाले भूमिदान कार्यक्रम अघि सारेको अध्यक्ष शिवाकोटीले बताए । पुराण श्रवण गर्न आउने भक्तजनहरुले भूमिदान गर्न चाहे प्रतिस्क्वायर फिट पाँच सय रुपैयाँ तोकिएको र हालसम्म भूमिदानका लागि एक लाख रुपैयाँ संकलन भएको उनले बताए ।

पितृकार्य( काजकिरिया ) गर्ने स्थानका लागि एक कठ्ठा जग्गा आवश्यक भएकाले भूमिदान गरी पुण्यको भागि वन्न उनले सवैसंग अनुरोध गरेका छन् । त्यस्तै संस्थाले निकट भविष्यमै अखण्ड दीप शुरु गर्ने उनले वताए । अर्जुनधारा जलेस्वरधामका व्यासाचार्य स्व.पुष्पलाल निरौलाको परिकल्पना रहेको अखण्ड दीपका लागि सुवेदार भीमबहादुर भट्टराईले एक लाख एक हजार रुपैयाँ प्रदान गरेको उनले वताए ।

कुनै समय कात्रो समेत किन्न नसकेर काजकिरिया गर्न नपाएका तत्कालिन शनिश्चरे हाल अर्जुनधारा–७ का वासिन्दालाई सहयोग गर्दै स्थापना गरिएको सामुहिक उद्धार तथा उपकार संघले हाल काजकिरिया गर्न , स्वास्थ्य उपचारका लागि , आय आर्जनका लागि सहयोग गर्दै आएको अध्यक्ष शिवाकोटीले बताए ।

उक्त कार्य गर्नका लागि संस्थाले सदस्यहरुमाझ ऐचोपैंचो कार्यक्रम सञ्चालन गरिएको र सो कार्यका लागि प्रत्येक सदस्यले प्रत्येक महिना दुई सय रुपैयाँ जम्मा गर्ने गरेको उनले वताए ।
स्व.धनमाया र नन्दप्रसाद शिवाकोटीको स्मृतिमा उनका छोराहरुले १० धुर जग्गा प्रदान गरेको र संस्थाले १५ धुर जग्गा खरिद गरी हाल एक कठ्ठा पाँच धुर जग्गामा संस्थाको दुई तले भवन निर्माण गरिएको उनले वताए ।

भवनको पहिलो तलामा पुराणका लागि मण्डप , श्रवण हल , लगायत रहेको र दोश्रो तलामा चार वटा कोठा रहेको उनले बताए । चार वटा कोठामध्ये दुई वटा कोठामा त्यस क्षेत्रका धार्मिक स्थलमा भ्रमणका लागि आउने पर्यटक तथा भक्तजनका लागि आवास सुविधा उपलव्ध गराइने र एउटा कोठा विवाह , जन्मदिन ,व्रतवन्ध तथा सेमिनार ,पार्टी गर्न उपलव्ध गराइने उनले वताए ।

हाल सामुहिक उद्धार तथा उपकार संघ पितृभवनमाश्रीमद् गरुड पुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको उनले जानकारी दिए । आगामी फागुन २८ गते सम्पन्न हुने महायज्ञको प्रमुख वाचक पण्डित उदयनाथ दाहाल र उपवाचक पण्डित घनश्याम काफ्ले रहेका छन् । महायज्ञ अवधिमा दैनिक पुजा आरती, महात्मयकथा भजन किर्तन, लक्ष्यवर्तीका दिप प्रज्वलन, पूर्णाहुती, तिलकपाती प्रसाद वितरण कार्यक्रम रहेको उनले बताए ।

पितृभवन निर्माणमा स्थानिय सरकार , प्रदेश सरकार , दाता महानुभावहरुले सहयोग गरेकोमा उनीहरुलाई धन्यवाद दिँदै अध्यक्ष शिवाकोटीले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको वताए । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गरी बढी भन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको उनले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here