श्रीकृष्ण कथा ज्ञान महायज्ञ जारी, विभिन्न व्यक्तित्वलाई सम्मान

0
537

रोहित काफ्ले

विर्तामोड, स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत छैठौं दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

महोत्सवको अवसरमा आयोजित साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञमा श्रीकृष्ण प्रणामी धर्मका गुरुहरुले प्रवचन तथा आशीरवर्चन प्रदान गरेको मूल आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिए । उनले अनुष्ठानमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको बताएका छन् । मंगलबार होली पर्वको अवसरमा विशेष समारोहको आयोजनासहित महोत्सव समापन गरिने पनि उनले जनाए ।


महोत्सवअन्तर्गत मंगलबार श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषदको सम्मेलन सम्पन्न भएको छ । परिषदका झापा अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा सम्पन्न सोही भेलाको अवसमा परिषदले झापामा १०८ पारायण आयोजना गर्ने दुईवटा मन्दिरलाई विशेष सम्मान गरेको थियो । महासचिव मुली कोइरालाले सञ्चालन र उपाध्यक्ष विष्णु प्रसाईंले स्वागत गरेको कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका निवर्तमान केन्द्रीय अध्यष मदन शर्माले श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारी र श्रीकृष्ण प्रणामी मन्दिर माईधामलाई सम्मान गरेका थिए । धुलाबारी मन्दिरका जीवन सापकोटा र माईधाम मन्दिरका विष्णु प्रसाईंले सम्मान ग्रहण गरेको महोत्सव प्रचारप्रसार संयोजक टहलदास ओलीले जानकारी दिए ।

यसैगरी, श्रीकृषण प्रणामी बाइजुराज समितिले पनि भेला आयोजना गरी तीनजनालाई सम्मान गरेको थियो । समितिले नेपालकी प्रथम महिला भागवत वाचिका तारा घिमिरे मातालाई विशेष सम्मान गर्नुका साथै धुलाबारी बाइजुराज समितिकी अध्यक्ष रीता सापकोटा र २५ बिगा बाह्रदशी समितिकी माताजी रतनबाईलाई सम्मान गरिएको थियो । बाइजुराज समिति झापाकी अध्यष प्रेमकुमारी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तारा कट्टेल र स्वागत उपाध्यक्ष विमला वाग्ले घिमिरेले गरेका थिए भने अतिथिहरुलाई बाइजुराज मीरादेवी अधिकारी ओलीले स्वागत–सम्मान गरेकी थिइन् । मंगलबार बाबा कर्नालधामका श्री १०८ जगतराज महाराजजीबाट कथा प्रवचन भएको प्रचारप्रसार संयोजक ओलीले जानकारी दिए ।

फागुन २१ गते शुरु भएको उक्त अनुष्ठानको चौथो दिन लगभग १० हजार भक्तजनको आगमन भएको स्वर्ण महोत्सव मूल आयोजक समितिका प्रचार प्रसार संयोजक एवम् श्रीकृष्ण प्रणामी युवा परिषद झापाका उपाध्यक्ष टहलदास ओलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here