प्रहरीले झापामा होलीमा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने

0
950

भद्रपुर,

झापा जिल्लामा आज मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वमा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने भएको छ।

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिने त्रासलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय झापा र प्रहरी कार्यालय झापाले होलीका दिन उच्च सुरक्षा सतर्कता अपनाउँदै लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने आव्हान गरेको छ।

होलीका दिन जिल्लामा विभिन्न स्थानीय तहका सडक तथा होटलहरूमा लाइभ कन्सर्टसहित एक ठाउँमा जम्मा भएर होली मनाउने परम्परागत चलन छ। सोही कुरालाई मध्यनजर गरी यसवर्ष कोरोना भाइरसको कारण जिल्लामा यस्तो सुरक्षा सतर्कता लागू गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

‘एक ठाउँमा जम्मा वा भीडभाड गरेर होली मनाउँदा कोरोना सर्ने जोखिम छ,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘त्यसैले होली मनाउँदा झापावासीले आफैँ विचार पुर्‍याएर मनाउन आग्रह गर्दछु।’

यसअघि प्रशासन कार्यालय झापाले होली पर्वलाई लक्षित गरी पानीमा नभिज्न, अबिर र लोला हान्ने कार्य नगर्न र एकै ठाउँ भीड नगर्न सूचना प्रकाशन गर्दै अनुरोध गरिसकेको छ। यता जिल्लामा होलीका दिन हुने उच्छृङ्खल गतिविधि रोक्न व्यापक प्रहरी परिचालन गरिने प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, तीनजना चढ्ने जस्ता व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गरिने उनको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here