लालझोडा घटना अझै रहस्यमय

0
418

विनोद सापकोटा/झापा।

एकै परिवारका चार जनाको ज्यान जाने गरी भएको आगलागी घटनाको भग्नावशेष नहटाउँदा स्थानीय बालबालिकाको मनोविज्ञानमा गम्भीर असर परिरहेको स्थानीय बताउँछन् ।

झापाको शिवसताक्षी–७स्थित लालझोडामा १३ महिना अघि आगलागी हुँदा एकै परिवारका चार जनाको जलेर ज्यान गएको थियो । ०७५ मंसिीर १० गते राति घरमा लागेको आगोले दुई नावालकसहित चार जनाको घटनास्थलमै ज्यान गएको थियो ।

घटनामा ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका, ४ वर्षीया छोरी चन्द्रा र पाँच महिनाका छोरा टीकारामको जलेर मृत्यु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान भन्दै यतिका दिनसम्म वास्तविकता बाहिर ल्याउन सकेको छैन । घटना लगत्तै स्थानीय प्रहरीदेखि काठमाडौसम्मका प्रहरी अधिकृत अनुसन्धानमा खटिएका थिए ।

स्थानीयका अनुसार ठूला–ठूला अपराधका घटनामा नेपाल प्रहरीले विश्वमा छबि बनाएको छ । तर, लालझोडाको कहालिलाग्दो घटनाको चिरफार त के प्रतिवेदन समेत सार्वजनिक गर्न सकेको छैन । प्रहरीलाई सोध्यो भने अनुसन्धान हुँदैछ भन्ने मात्र जवाफ आउँछ । इलाकादेखि जिल्ला हँुदै प्रदेश र केन्द्रीय प्रहरी प्रमुख पटक–पटक परिवर्तन भए । तर, लालझोडा घटनाको वास्तविकता भने अझै बाहिर आउन सकेन ।

घटनाका बिषयमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगलागी भएको भोलिपल्टै घटनास्थल पुगेर घटना भवितव्य हुनै नसक्ने बताएका थिए । स्थानीयले पनि प्रवक्ता शर्माको भनाइलाई समर्थन जनाउँदै अपराधिक मानसिकता भएका व्यक्तिबाट खनाल परिवारको बंशनाश भएको बताएका थिए । घटनाको सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाएर कारबाही गर्न नेपाल सरकारसँग प्रवक्ता शर्माले सार्वजनिक रुपमै माग गरेका थिए । तर, १३ महिना बित्दा कार्वाही त के, आगलागीको घटना प्रहरीले भवितव्य र नियोजित के हो छुट्याउन समेत सकेन ।

घटनास्थल यतिबेला झाडीले पुरिएको छ । यतिका अवधिसम्म आगलागीबाट डढेको घरको भग्नावशेष नहटाउँदा नजिकैको भानु माध्यमिक बिद्यालयका बालबालिका त्रासको शिकार भएका छन् । बिद्यालय आउँदा होस् वा जाँदा, उनीहरुमा डर छ । प्रधानाध्यापक डामकुमार कुँवरले भने– ‘यो प्रशासनको लापरवाही हो, घटनाको मुचुल्का र अन्य आवश्यकीय प्रमाण संकलन गरेपछि देख्दै डर लाग्ने भग्नावशेष राखिरहनु ठीक होइन ।’ बिद्यालयले स्थानीय प्रशासन र शिवसताक्षी नगरपालिकालाई लिखितै अनुरोध गरेको छ । तर, प्रशासनले आगलागीबाट डढेको घरको भग्नावशेष हटाएको छैन र हटाउन अख्तियारी समेत दिएको छैन ।

मृतक लक्ष्मणका बुवा रामकृष्ण खनालले भग्नावशेष हटाए प्रमाण नष्ट हुने भन्दै डढेको घरको खाँवा लगायतका काठ हटाउन दिएका छैनन् । उनले भने– ‘जबसम्म प्रहरीले मेरो छोराको हत्यारा पत्ता लगाएर सार्वजनिक गरी कारवाही गर्दैन, तबसम्म घटनास्थल जस्ताको तस्तै रहन्छ, म हटाउनै दिन्नँ ।’
मैले पटक–पटक प्रशासनलाई भनेको छु, घटनाकै दिन पत्रकारसँग बोलेको कुराको स्मरण गर्दै उनले भने– ‘बाँच्नलाई गुहार माग्दा पनि बाँच्न नपाउने गरी मेरो एउटा वंश सखाप बनाइयो । के अपराध ग¥योे मेरो छोराले ? खाउँ–खाउँ भन्ने उमेरका मेरा छोरा–बुहारी र ती अवोध नातिनातिनाले के बिराएका थिए ? ६५ वर्षको उमेरमा मैले कसरी चित्त बुझाउने? मेरो ठाउँमा आएर उभिदेऊ सरकार ।’

मृतक लक्ष्मणका वुवा रामकृष्णले अगाडि भने– ‘त्यो घटना दुर्घटना हुँदै होइन । छोराको घरमा आगो लागेको एक साताअघि लालझोडाकै डम्बर निरौलाको बारीका सयौँ बिरूवा काटिनु, घरमा पार्किङ गरिएको अटो खोलामा ल्याएर फालिनु अनि मेरो वंशनै विनाश हुने गरी घरमा आगो लगाएर मेरो परिवारको कायरतापूर्वक हत्या गर्नु, लालझोडामै बाछीलाई करणी गर्नु । यतिका प्रतिनिधिमूलक घटनाले पनि त्यो घटना नियोजित हो भन्ने आधार हुँदाहुँदै किन प्रशासनले कानमा तेल हालेर बस्यो ?’

स्थानीयले उक्त घटना बिर्सन सकेका छैनन् । झिलझिलेबाट महाभारा जाने सडकको १०० मिटर पश्चिममा आगलागी भएको घटनाको भग्नावशेष दिनहुँ देखिन्छ । लालझोडा पश्चिम सृजना चोक जाने बाटैमा रहेको घटना स्थलमा रात बिहान सर्वसाधारण हिँड्न पनि डराउँछन् । मेलापात र बजार गर्दासँगै हिँड्ने खनाल दम्पत्तिका दौंतरी र नजिकैको विद्यालयमासँगै पढ्ने चन्द्राका साथीले आगलागीको घटनाको भग्नावशेष आँखै अगाडि देख्दा घटना विर्सनसकेका छैनन् ।

आगलागीपछि लालझोडाका स्थानीयमा त्रास अझै छ । रातभर निद्रा नलाग्ने, डर पैदा हुने, तर्सिने, आगलागीकै घटना सपनामा आउनेजस्ता समस्या रहेको स्थानीय डम्बर निरौलाले बताए । स्थानीयले भग्नावशेष हटाइदिन स्थानीय प्रशासन र पालिकालाई अनुरोध गरेका छन् । घटनास्थलमा पुराण लगाउने स्थानीयको योजना मृतकका आफन्त र प्रशासनकै कारण तुहियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here