सुखानी शहीद स्मृति गोल्डकपको फाइनलमा झापा र ताप्लेजुङ भिड्ने

२८ फाल्गुन २०७६, बुधबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी प्रदेश नम्बर १स्तरिय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा साविक विजेता कर्णसिंह सोनम फुटबल क्लब ताप्लेजुङ र कनकाई नगर खेलकुद विकास समिति झापा भिड्न भएको छ ।

अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा बुधबार सम्पन्न प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा धनकुटा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले झापासँगको भेट पक्का गरेको हो ।

ताप्लेजुङको जीतका लागि खेलको १५औं मिनेटमा सुनकला राईले र ५७औँ मिनेटमा युकी गुरुङले गोल गरेका थिए । खेलको वुमन अफ दी म्याच घोषित ताप्लेजुङकी सुनकला राईलाई प्रदेश नम्बर १का सांसद् एवम् सुशासन तथा योजना समितिका सभापति अर्जुन राई र अर्जुनधारा नगर पशुपन्क्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईले संयुक्तरुपमा नगद ३ हजारसहित ट्रफी प्रदान गरेका थिए । त्यस्तै, खेलमा पहिलो गोल गर्ने सुनकलालाई स्थानीय शिवलाल गिरीले नगद एक हजार प्रदान गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको सन्दर्भमा बिहीबार आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठान र अर्जुनधारा प्रेस क्लबबीच मैत्रीपूर्ण फुटबल हुने भएको प्रतिष्ठानका व्यवस्थापक पुष्पलाल तिवारीले बताए । अर्जुनधारा ९ वडास्तरीय खेलकुद विकास समितिका अध्यक्ष सुरेन राईले अर्जुनधारा प्रेस क्लबलाई जर्सीका लागि नगद ५ हजार प्रदान गरेका छन् ।

प्रदेश १ कै सर्वाधिक राशिको प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश एक लाख २५ हजार र ७५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । शुक्रबार हुने फाइनल खेलको समुद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here