पशु तस्करीको स्थायी समाधान खोज

३० फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

सम्पादकीय

कृषि प्रणालीमा आधुनिकता हावी हुँदै गएपछि परम्परागत कर्म विस्थापित हुन थालेको छ । अहिले शहर बजारमा मात्र होइन दुरदराजका ग्रामीण क्षेत्रहरुमा समेत गाईवस्तु पालन हुन छाडेको छ । उहिले देशको आम्दानीको मूल स्रोत कृषि थियो भने बहुसंख्यक नेपाली कृषि पेशामा आवद्ध थिए । कृषि कर्मसँगको आबद्धता घट्दै जाँदा पछिल्लो समय हामी नेपाली कृषि उत्पादनमा समेत पराश्रित भइरहेका छौं । यही समय सरकारले उत्पादकत्व बढाउन कृषिलाई आधुनिकीकरण गर्दै आवश्यक पर्ने प्रविधि, उपकरण, बीऊ–बिजन लगायतका सेवा उपलब्ध गराउन थालेको छ । जसका लागि उत्पादनका क्षेत्रहरुलाई वर्गीकरण गर्दै कतै खाद्यान्न त कतै सागसब्जी र कतै नगदे खेतीका लागि विशेष सहुलियत र सेवा दिन थालिएको छ ।

विशेष ‘जोन’ घोषणापछि प्रवाह गरिएको सेवाका कारण कृषि कार्यमा प्रविधिले प्रवेश पाएको छ । जसका कारण परम्परागत हलो, गोरु, जुवा, फालीको प्रयोग नहुने मात्र होइन पूर्णतः विस्थापन भएको छ । त्यहीकारण गाईवस्तुलाई सहायक पेशा मान्ने किसानका घरमा ग्वाली छैनन् भए पनि एउटा–एउटा गाईका लागि मात्र छन् । गाई–भैंसी पालेर दूध खाने, तिनका जन्मिएका बाच्छा, पाडा ठूला भएपछि हलो जोत्ने कारणले गाई भैंसी अनिवार्य र दोस्रो पेशामा गनिन्थ्यो । एकातिर विषादिको प्रयोग गर्नु हुँदैन भन्ने र अर्कातिर कृषि कर्ममा आवश्यक मलखादका लागि समेत उपयोगी हुने पशुपालनलाई विस्थापन गर्ने नीतिका कारण नेपाली जीवन अन्यौलग्रस्त छ ।

हामीसँग ठूला गौशालाहरु छैनन् । भएका एक–दुई पनि सञ्चालन र व्यवस्थापनका कारण संकटग्रस्त छन् । गाई पाले पनि तिनका सन्तानमध्येका बाच्छाहरु बजारमा बिक्दैनन् । बाच्छीको तुलनामा तिनको कुनै उपयोगिता नहुने कारणले पशुपालकले सित्तैमा होइन बाच्छा सँगै पैसा थपेर निःशुल्क बेच्नुपर्ने अवस्था छ । यसरी बेचिएका बाच्छा, गोरु मांसाहारकै प्रयोजनका लागि भारततर्फ निकासी हुने गरेको छ । तर, भारत सरकारले समेत तिनलाई प्रतिबन्ध लगाएका कारण गाईगोरु र बाच्छाहरुको चोरी निकासी हुने गरेको छ । सुदूरपूर्वको जिल्ला झापामा प्रहरी स्वयम् अग्रसर भई गाईको तस्करी नियन्त्रण गर्न लागेपछि तस्कर समूहले बाटो परिवर्तन गरी चोरी निकासी गर्दै आएको छ । यसक्रममा नेपालबाट कचनकवलको घेराबारी नाका हुँदै गाईगोरु भारततर्फ लैजाँदै गर्दा भारतीय एसएसवीले रोक्न खोज्दा भएको झडपमा भारतीय प्रहरी नै घाइते भए । यसका पछि ‘सेटिङ कारण हुन सक्छ, मिलेर अनि नमिलेर ।

गाईवस्तु पालक कृषकका लागि समेत अप्ठ्यारो भएको बाच्छा र पाडाहरुको व्यवस्थापनमा राज्यको चासो नदेखिँदा पशुपालन नै बोझ हुन थालेको छ । तिनको उपयोग अग्र्यानिक मलखाद र औषधिमा गर्न सकिए मात्रै भारततर्फ चोरी निकासी गर्ने समस्या कम हुनसक्थ्यो । सीमानाकामा नेपाल–भारत दुबैतर्फका प्रहरी तैनाथ हुन्छन् । झापाको दमक, घैलाडुब्बा, धुलाबारी गाईवस्तुको खरिदबिक्रीको मुख्य हाट हो । त्यहाँ पशुचौपाय बिक्रीका लागि लगिन्छन् । तर, किसानले पशुपालन गर्न छोडेपछि ती हाटको आकर्षण लगभग समाप्त भएको हुनसक्छ । अझ भारतबाट मध्य नेपाल हुँदै पूर्व ल्याइएका गाईगोरु समेत पूर्वीनाका हुँदै भारत लगिन थालेको सन्दर्भले पशु निकासी वैध जस्तै भएको छ । त्यसैले यी दुबै अवस्थालाई सम्बोधन हुने गरी राज्यले नीति–निर्माण गर्नुमात्र स्थायी समाधान हुन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here