बिर्तामोडमा सञ्जीवको ‘हंस’को चर्चा

३० फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

झापाको विर्तामोडमा आयोजित कार्यक्रमका वीच प्रा.डा. सञ्जीव उप्रेतीको दोस्रो उपन्यास ‘हंस’को चर्चा परिचर्चा गरिएको छ । नेपाली लेखक संघ झापाको आयोजनामा विर्तामोडस्थित भेटघाट चौतारीमा भएको कार्यक्रममा ‘हंस’को चर्चा परिचर्चा गरिएको हो ।

नेपाली लेखक संघ झापाका अध्यक्ष गोपालकुमार वस्नेतको अध्यक्षतामा भएका कार्यक्रममा साहित्यकार मायामितु न्यौपाने, रिर्डस झापाका उपाध्यक्ष दामोदर ढुंगेल लगायतले पुस्तकको वारेमा समिक्ष्यात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु कृष्ण अविरल , कृष्ण वराल , कुमार भट्टराई , लिला अनमोल , टिका भट्टराई नेपाल , सुनिता तामाङ , पत्रकार दिपिन राई, रजिना रोदन , तुलसीप्रसाद निरौला , शिला उप्रेती लगायतले पुस्तक वारे जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा लेखक प्रा.डा. सञ्जीव उप्रेतीले ‘हंस’ उपन्यासको भाषामा नयाँ प्रयोग गरेको बताए । उनले अहिलेसम्म समाजमा मानवकेन्द्रित विश्वदृष्टि मात्रै लेखिएको उल्लेख गर्दै यसबाट बाहिर निस्कने प्रयास गर्न उपन्यासले सुझाउने बताए ।
लेखक उप्रेतीले प्रकृतिलाई मूर्तरुपमा बुझ्नुपर्यो भनेर चरा र मान्छेका सम्बन्धको कथा लेखेको बताउँदै ‘हंस’ उपन्यासमा चराको भाषा र संवादलाई समेत प्रयोगात्मकरुपमा प्रस्तुत गरेको जानकारी दिए ।

चरामा समर्पित १२ खण्डमा विभाजित ‘हंस’ उपन्यासले मानिस र प्रकृतिमा रहने अनेक प्राणीको प्रेमलाई समभावमा हेर्न र बुझाउन खोजेको उनले बताए । संसारमा मानिस र प्राणीमा हुने प्रेम उस्तै हो भने यिनका भाषा एक अर्काले बुझ्न सक्छन् कि सक्दैनन् त भन्ने संवेदनशील पर्यावरणीय पक्षलाई पनि उपन्यासमा उठाइएको उनले बताए ।

मानिस आफैंले बनाएको समाज र सभ्यताको माकुरे जालोमा कसरी प्रताडित छ भन्ने यथार्थ उपन्यासले बोलेको बताउँदै उनले उपन्यासले पर्यावरणीय चेतनामार्फत् मानवीय हंसको संकुचन वा साँघुरो घेराको तुलनामा पक्षी वा हंसको फराकिलो जीवनशैलीको तुलना मात्र नगरी प्राकृतिक जीवनशैलीबाट विमुख हुँदै गएको मानव सभ्यताको समस्या र संकटलाई पनि संकेत गरेको बताए । कार्यक्रमको सञ्चालन साहित्यकार मुनाराज शेर्माले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here