लक्ष्मी उप्रेती/ काँकरभिट्टा,

नोभल कोरना भाइरसको संक्रमण फैलन नदिन मेचीनगर नगरपालिकाले नगरक्षेत्रमा सचेतनामुलक कार्य सञ्चालन गर्ने तथा नगरवासीलाई अनावश्यकरुपमा हुने भीडभाडमा नजान आग्रह गरेको छ । नगरपालिकाले आफ्ना १५ वटै वडामा सचेतनामुलक कार्यक्रम गर्ने तथा आवश्यक परे मोवायल टोली समेत परिचालन गर्ने बताइएको छ ।
मेचीनगरपालिका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्था ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय सहित अन्य महत्वपुर्ण निर्णय गरेको हो ।
समितिका संयोजक नगरप्रमुख विमल आचार्यको सभापतित्वमा बसेको बैठकले चारआलीस्थित नेपाली सेनासँग सहकार्य गरेर नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा र चारआलीमा कोरोना भाइरस परामर्श सहायता कक्ष स्थापना गर्ने,नगरपालिकामा नगरप्रमुख संयोजक र उपप्रमुख सहसंयोजक रहने गरी समन्वय समिति गठन गर्ने र प्रत्येक वडामा कम्तिमा एउटा तथा बढीमा आवश्यकता बमोजिम समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
स्थानीय तहमा गठित समन्वय समितिको सदस्यहरुमा सवै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहर रहने छन् भने वडा स्तरीय समन्वय समितिमा सम्बन्धित वडाका जनप्रतिनिधिहरु, सम्बन्धित वडामा रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानध्यापकहरु, वडा कार्यालय सचिवहरु रहने छन् ।
नगरप्रमुख आचार्यले नगरवासीहरुलाई सफाईमा ध्यान दिन तथा अनावश्यक भीडभाडमा नजान आग्रह समेत गर्नुभयो । नाकालाई व्यवस्थित बनाउन जोड दिदैं उहाले चेकजाँचमा कडाई गर्नुपर्ने उहाँको भनाई थियो । प्रत्येक ठाउँमा स्थानीय संघ सस्थासंन समन्वय गरेर नगरका विभिन्न ठाउँमा हातधुने व्यवस्था मिलाईने उहाँको भनाई थियो ।
अहिले आफुहरुसँग पर्याप्त स्रोत साधन नभएपनि नेपाल प्रवेशको पहिलो द्वार काँकरभिट्टाबाट नेपालमा यसको संक्रमण भित्रन र फैलन नदिन तथा शंकाष्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्थामा समेत सक्रिय रहेको बताउनुभयो ।
नोवल कोरोना भाइरस नियन्त्रणमा वा संक्रमणबाट बच्न चेतनामुलक कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सार्वजनिक स्थलमा जताभावी मानिसको अनावश्यक भीडभाड नगर्न तथा खुला सीमालाई व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । सवैभन्दा पहिला अनावश्यक हुने भीड नियन्त्रण गर्न जोड दिदैं चेतनामुलक पर्चा पम्प्लेट वितरण तथा विभिन्न सञ्चारमाध्यमबाट यसका लक्ष्ण बच्ने उपायका बारेमा प्रचार प्रसारलाई तीव्र पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले नोवल कोरोना भाइरसले संक्रमित व्यक्ति नेपालमा देखिनुधेरै संवेदनशील भएकाले पुर्वीनाकाबाट रोग भित्रिन नदिन हेल्थ डेक्समार्फत विशेष सजगता अपनाएको बताउनुभयो । उहाँले नगरका विभिन्न ठाउँमा चेतनामुलक नारा वा कोरोनाका लक्षण यसबाट बच्ने उपायका बारेमा लेखिएका वोर्डहरु राख्ने बताउनुभयो ।
वैठकमा कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा संयोजक शशीकला राई, नेपाली सेना, विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विहीबारमात्र एक युक्रेन दम्पतिलाई कोरोनाको आशंकामा पुर्वीनाकाबाटै फिर्ता गरिएको थियो ।































