सुखानी शहीद स्मृति गोल्डकपको उपाधि कनकाईलाई

३० फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ।

कनकाई नगर खेलकुद विकास समितिले झापाको अर्जुनधारामा आयोजित प्रदेश नम्बर १ स्तरिय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको उपाधि जितेको छ ।

अर्जुनधारा–९स्थित नमुना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरमा पराजित गर्दै कनकाईले उपाधि जितेको हो ।

कनकाईको जीतका लागि खेलको २८औं मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । ताप्लेजुङको लागि खेलको ६९औं मिनेटमा पवित्रा लिम्बूले गोल गरेकी थिइन् ।

प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले क्रमश नगद पुरस्कार एक लाख २५ हजार र ७५ हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगिताको व्ुमन अफ द टुर्नामेन्ट कनकाईकी कुसुम खतिवडालाई १२ हजार, फाइनल खेलको वुमन अफ द म्याच कनकाईकी नेहा चौधरीलाई पाँच हजार र बेस्ट कोच कनकाईका सन्त रायमाझीले पाँच हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै बेस्ट फरवार्ड कनकाईकी लक्ष्मी श्रेष्ठ, बेस्ट मिडफिल्डर ताप्लेजुङकी सुनकला राई, बेस्ट डिफेन्स कनकाईकी सुस्मिता चौधरी र बेस्ट गोल किप्पर कनकाईकी जशोदा लावतीलाई जनही सात हजारसहित ट्रफी प्रदान गर्दा प्रतियोगिताको फेयर प्ले पारीजात महिला फुटबल क्लब झापालाई नगद पुरस्कार १० हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश नं.१का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकाश राज्य मन्त्री जसमाया गजमेर, प्रदेश सांसद्त्रय अर्जुन राई, वृख प्रधान र हिरा थापा, बिर्तामोड नगर प्रमुख धु्रव शिवाकोटी, अर्जुनधाराका वडाध्यक्षद्धय पुष्पप्रसाद प्रसाईं र बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराईलगायतले नगद तथा पुरस्कारहरु प्रदान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सांसद् एवम् प्रतिष्ठानका सदस्य वृख प्रधानले र कार्यक्रमको सञ्चालन महासचिव हर्कराज राईले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here