च्याङथापूमा कोरोना भाइरस परीक्षण सहायता कक्ष

0
339

फिदिम, 

पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूमा कोरानो भाइरस परीक्षण सहायता कक्ष स्थापना गरिएको छ । नेपाल र भारतको सिक्किम जोड्ने चिवाभञ्ज्याङ नाकाबाट ओहोरदोहोर गर्ने यात्रुलाई लक्षित गरी आजबाट सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाको व्यवस्थापनमा उक्त सहायता कक्ष स्थापना गरिएको हो । चिवाभञ्ज्याङ नाकाको प्रयोग गरी पारिवारिक भेटघाट, पशुपक्षी तथा सामान ओसारपसार हुने गरेको छ । च्याङथापू हुँदै पैदल यात्रु नाकामा आवतजावत गर्ने भएकाले उक्त स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रविन खत्रीले जानकारी दिनुभयो ।

उक्त नाकाबाट ओहोरदोहोर गर्ने यात्रुमा उक्त रोगको सङ्क्रमणबारे सचेतना फैलाउने, उक्त रोगसँग मिल्ने लक्षण देखिने बिरामी भेटिए विशेष निगरानी गरी परीक्षण र उपचारमा पठाउन मद्दत गर्ने उद्देश्यले उक्त सहायता कक्ष स्थापना गरिएको हो । भारतमा कोरोनाभाइरस (कोभिड–१९) का बिरामीको सङ्ख्यामा बढ्न थालेका कारण सो नाकाबाट ओहोरदोहोर गर्ने यात्रुलाई विशेष निगरानी गर्न उक्त सहायता कक्ष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वताउनुभयो ।

सहायता कक्षले अत्यावश्यक काम बाहेक कोभिड–१९को प्रकोप रहेसम्म भारतको भ्रमण नगर्न यात्रुलाई सचेत गराउने, सीमा क्षेत्रमा कोभिड–१९को प्रकोप तथा सचेतनाका उपायबारे सचेतना फैलाउने र कोभिड–१९सँग लक्षण मिल्ने बिरामी भेटिए तत्काल विशेष निगरानी गरी माथिल्ला निकायमा जानकारी गराउने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

सहायता कक्षबाट स्थानीयवासीका लागि दैनिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । सहायता कक्षमा बिहान ८ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म स्वास्थ्यकर्मी रहनेछन् । स्वास्थ्यकर्मी यहाँको च्याङथापू स्वास्थ्य चौकी र फलैँचास्थित सामुदायिक स्वास्थ्य एकाइबाट खटाइएको प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो ।

नेपालीभाषी बाहुल्य भारतको सिक्किम राज्य तथा पश्चिम बङ्गालको पहाडी क्षेत्रसँग पाँचथर र ताप्लेजुङका स्थानीयको पारिवारिक सम्बन्ध, पशुपक्षी खरिद बिक्री, खाद्यान्न लगायत सामान खरिद विक्री हुने गरेको छ । पछिल्ला दिनमा पारिवारिक भेटघाटका लागि दैनिकजसो नेपाली सिक्किम जाने गरेका छन् भने सिक्किम र दार्जिलिङवासी नेपाल आउने गरेका सीमा प्रहरी चौकी च्याङथापूका प्रमुख प्रहरी नायब निरीक्षक बज्रबहादुर राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here