विराटनगरको संशोधित नीति तथा कार्यक्रम सर्वसम्मत

0
655

मोहम्मद सदरुल / विराटनगर,

विराटनगर महानगरपालिकाको प्रमुख भीम पराजुलीले पाँचौँ नगरसभा आज सर्वसम्मतले सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयनको प्रगति समीक्षा, संशोधित नीति तथा कार्यक्रमका विषयमा छलफल गरेको थियो ।

रासससँग आज कुराकानी गर्दै प्रमुख पराजुलीले आफ्नो एकमात्र उद्देश्य विराटनगर महानगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी आफ्नै कार्यकालमा गुणात्मक विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले उपलब्ध आर्थिक स्रोतसाधनको अधिकतम प्रयोग र परिचालन गरी कामकारवाही अगाडि बढाइरहेको बताउँदै सङ्घीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधार विकासका आयोजना अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

विराटनगरमा ८७५ विभिन्न योजनामध्ये हालसम्म ४४७ योजना सम्झौता भएको र ७४ योजना सम्पन्न भएको, सडक कालोपत्र गर्ने काम द्रुतगतिमा भइरहेको, महानगरका वडा नं २, ३, ४, ६, १०, ११, १२, १५ र १७ वडा कार्यालयका भवनहरु नयाँ निर्माण, मर्मत तथा स्तरोन्नति गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख पराजुलीका अनुसार विराटनगरका तीन स्थानमा ओभरहेड पुल निर्माणको कार्य डिजाइन भई कार्यारम्भ हुन लागेको, अत्याधुनिक सुविधा र नयाँ थप सर्भिस ब्लकहरुसहित वीरेन्द्र सभागृह पुनः निर्माणको कार्य भईरहेको छ ।

यही वर्षमै शुरु गरिन लागेको, प्रदेश सरकार र महानगरको साझेदारीमा विराटनगर रानीमा स्वागतद्वार ठेक्का सम्झौता हुने क्रममा रहेको छ । बैझनाथपुर रङ्गशालाको थप स्तरोन्नति गरिने क्रममा रहेको, विराटनगरका ऐतिहासिक मठमन्दिर र धार्मिक क्षेत्रको विकासका काम गरेको, तारिणीप्रसाद कोइराला सञ्चारग्राम, आरोहण गुरुकुल नाट्यघर निर्माण, आधुनिक पशु बधशाला निर्माणका लागि कार्य भइरहेको साथै शिक्षा, स्वास्थ्य, खानेपाने, खेलकूद विकासलगायत क्षेत्रमा उल्लेख्य काम भइरहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here