प्रदेश २ काे नाम र राजधानीका लागि आज मतदान हुँदै

0
598

काठमाण्डाै,

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि मङ्गलबार प्रदेशसभामा मतदान हुँदैछ । नाम र राजधानीका लागि प्रदेशसभाका सांसदले गोप्य मतदान गर्ने र त्यसअघि छलफल गर्ने तयारी रहेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

प्रदेशसभामा नामाकरणसम्बन्धी तीन वटा प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । यस्तै नेकपाले प्रदेशकाे नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ भने काङ्ग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएकाे छ ।

प्रदेशकाे राजधानी भने जनकपुरधामलाई बनाउनुपर्नेमा सबै दलको सहमति छ । यद्यपि वीरगञ्ज आसपासका केही सांसदले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भए पनि यो कुनै दलसँग छैन ।

प्रदेश २ मा एक सय सात जना सांसद रहेकोमा सङ्घीय समाजवादी पार्टीका ३०, राजपा नेपालका २५, नेकपाका ३२, काँग्रेसका १९ सांसद छन् । यसअघि नाम र राजधानी सहमतिमै टुङ्गो लगाउन र प्रस्तावमाथि छलफल गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिए पनि दलहरुबीच सहमति हुन नसक्दा मतदान हुन लागेको हो ।-उज्यालोबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here