झापामा आपत्कालीन क्वारेन्टाइन

0
1174

भद्रपुर।

कोरोना भाइरस (कोभिड– १९) को सम्भावित संक्रमणको प्रतिरक्षाको पूर्व तयारी गर्न झापामा आपत्कालीन क्वारेन्टाइनको तयारी गरिएको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमणका बिरामी नेपालमा नभेटिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकार लागीपरेका छन् ।

यता जिल्ला प्रशासन कार्यालय झापामा कार्यालय बसेको प्रमुखहरूको बैठकमा कोभिड–१९ विरुद्ध सचेतना दिँदै जिल्लाका १५ वटा स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइनको तयारीमा लाग्न झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले निर्देशन दिएका थिए ।

सो निर्देशन बमोजिम कोरोना संक्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न जिल्लाकै सदरमुकाम रहेको भद्रपुरमा क्वारेन्टाइन बनाउने गृह कार्य शुरु भएको छ । नगरपालिकाले भद्रपुर–१०स्थित कलवलगुढी प्रशिक्षण केन्द्र परिसरभित्र क्वारेन्टाइन बनाउने भएको छ ।

मंगलवार भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, रेडक्रस, कर्मचारीसहितको टोलीले कलवलगुढी प्रशिक्षण केन्द्रको स्थलगत अनुगमन गरिसकेका छन् ।

प्रशिक्षण केन्द्रमा २५ बेड क्षमता भएको क्वारेन्टाइन निर्माणका लागि भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीसहितको समिति गठन भइसकेको नगरपालिकाका मेयर श्रेष्ठले जानकारी दिए । आज बुधवारदेखि क्वारेन्टाइन बनाउने काम शुरु हुने उनले बताए ।

सबै निकायलाई आ–आफ्नो जिम्मेवारी बाँडिसकेको बताउँदै उनले भने– प्रशिक्षण केन्द्रको अनुगमन पश्चात् त्यहाँ क्वारेन्टाइन निर्माणमा चाहिने खानेपानी, बिजुली, घेरावारा, सरसफाइ, निर्माण सामग्रीको व्यवस्थापन कार्य शुरु भइसकेको छ । दुई दिनभित्र क्वारेन्टाइन बनाइसक्ने उनको भनाइ छ । कोरोना संक्रमणको शंका लागेका बिरामीको स्वास्थ्य परीक्षण गराउन हाल जिल्लामा कुनै स्थान नरहेकोले त्यसकै लागि प्रशिक्षण केन्द्रमै क्वारेन्टाइन बनाउन लागेको प्रमुख जिल्ला अधिकारी मगरले जानकारी दिए । ‘सदरमुकाममा मात्र नभई जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन बनाउन र त्यसका लागि जमिन खोज्न आग्रहसहितको निर्देशन दिइसकेको छौं’– उनले भने ।

प्रहरीलाई मास्क वितरण

विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय झापाले मास्क वितरण गर्ने भएको छ ।

प्रहरी कार्यालय झापाले जिल्लाका प्रत्येक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । जिल्लामा एक हजारभन्दा बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।

बजारमा मास्कको अभाव भएपछि प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क सिलाएर वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘जनताको सेवामा समर्पित प्रहरी कर्मचारीको मास्क नहुँदा कोरोना लाग्ने सम्भावना बढेको छ’– प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने– ‘प्रहरीकै सुरक्षासँगै जनतामा सचेतना फैलाउन मास्क दिन लागेका हांै ।’

त्यति मात्र नभई प्रहरी कार्यालय झापाले जिल्लाको प्रत्येक प्रहरी कार्यालयको गेट अगाडि हात धुने व्यवस्था पनि गरिसकेको छ । कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य साबुन पानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयका इञ्चार्जलाई निर्देशन दिइसकेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here