कोभिड–१९ : स्थानीय तहमा दु्रत प्रतिकार्य टोली गठन

0
669

दमौली, 

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने उद्देश्यका साथ तनहुँ जिल्लाका दुई स्थानीय तहमा दु्रत प्रतिकार्य टोली गठन गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरोकारवाला सम्मिलित प्रतिकार्य टोली गठन गरिएको हो । आँबुखैरेनी गाउँपालिकाका योजना अधिकृत बुद्धिप्रसाद भुषालको संयोजकत्वमा गठित गाउँपालिकास्तरीय टोलीमा वडाध्यक्ष कटकबहादुर थापा र पूर्णबहादुर आले, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रम सोसाइटी र इलाका प्रहरी कार्यालयका प्रतिनिधि, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, टोल विकास संस्थाका पदमराज काफ्ले तथा प्राविधिक चिजकुमार श्रेष्ठ सदस्य रहनुभएको छ भने समितिको सदस्य सचिवमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अगमराज उपाध्याय चयन हुनुभएको छ ।

उक्त समितिले कोरोना भाइरस लागेका शङ्कास्पद व्यक्तिको निगरानी र पहिचान गरी शङ्का लागेमा प्रदेश सरकारले व्यवस्थापन गरेको आइसोलेसन श्ययासहितको स्वास्थ्य संस्थामा उपचारका लागि पठाउन समन्वय गर्ने गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । गाउँपालिकाले आइतबारमात्र आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजीपमा दुई स्वास्थ्यकर्मीसहित सहायता कक्ष सञ्चालनमा ल्याएको थियो ।

यसैगरी शुक्लागण्डकी नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवको संयोजकत्वमा १३ सदस्यीय नगरस्तरीय टोली गठन गरिएको छ । टोलीमा स्वास्थ्य शाखाका चिकित्सक, ल्याब एसिस्टेन्टलगायत सदस्य हुुनुहुन्छ । यो टोलीले नगरमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी फेला परेमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला पठाउन सहयोग गर्ने टोली संयोजक श्रीवास्तवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here