महेशपुरबाट ९ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

0
912

झापा ।

सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ। जिल्लाको विभिन्न स्थानबाट करिब नौ लाख रूपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ।

रातीको समयमा अवैधरूपमा कपडा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा भन्सारबाट खटिएको टोलीले रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट उक्त कपडा बरामद गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले जानकारी दिए।

‘रामग्राम–७ उजैनी, रामग्राम–४ जीतपुर, पाल्ही क्याम्पस सडकलगायतका स्थानबाट एकैपटक उक्त कपडा बरामद गरिएको छु, उनले भने, ‘म आफैं पनि खटिएर ठूलो मात्राको उक्त सामान बरामद गर्न सफल भइयो, कपडा र तस्करले प्रयोग गरेका दुई मोटरसाइकल पनि बरामद गरिएको छ, तस्करी नियन्त्रणका लागि हामी निरन्तर लागिरहेका छौँ। कपडा र मोटरसाइकल बरामद भए पनि तस्करहरु भने भाग्न सफल भएको भन्सार कार्यालयले जनाएको छ।

यहाँबाट भारतबाट लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्न बढी मात्रामा तस्करी हुने गरेको छ भने कालो मरिच, मटर, केराउ, सुपारीलगायतको चोरी निकासी बढ्दो छ। जिल्लाको भुजहवा र विष्णुपुरा छोटी भन्सारबाट बढी मात्रामा चोरी निकासी पैठारी हुने गरेको महेशपुर भन्सारले जनाएको छ।

महेशपुर मूल भन्सारको पश्चिमतर्फ रहेको भारतको खुला सिमानासँग जोडिएका नेपालको गोपालपुर, मुडेरा, गेरमी, विष्णुपुरा, रगरगञ्ज, सनई पडरी हुँदै सदरमुकाम परासीसम्मको बाटो तस्करले बढी प्रयोग गर्ने गरेको बताइन्छ।

यसैगरी महेशपुर भन्सारकै पूर्वतर्फ रहेको भारतको खुला सीमासँग जोडिएको नेपालको रमपुरवा, भुजहवा, हर्सपुरा, बसहिया, गुठीप्रसौनी, बलीनगर, रतनगञ्ज, सुस्ता, त्रिवेणीसम्मबाट पूर्वपश्चिम राजमार्गअन्तर्गतको बर्दघाट, भूमही, चिसापानी, भूताहा, बासालगायतका स्थानमा ल्याउने र यस क्षेत्रमा चल्ने सवारी प्रयोग गरी बुटवल, नारायणगढलगायतका शहरमा तस्करहरुले मालवस्तु पठाउने गरेको स्थानीयवासी बताउँछन्।

चोरी निकासी पैठारी नियन्त्रणका लागि सुराकी परिचालन, एकल गस्ती, संयुक्त गस्ती, सम्बन्धित क्षेत्रका छोटी भन्सारको सक्रियता, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय एवं सहकार्य गर्दै आएको भन्सार प्रमुख शर्माले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here