‘चौतर्फी मारमा परेका कारण फर्निचर व्यवसाय धरासायी हुने अवस्थामा’

५ चैत्र २०७६, बुधबार मा प्रकाशित

अमित खम्बू / अर्जुनधारा ।

हजारौं युवालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने फर्निचर व्यवसाय चौतर्फी मारमा परेका कारण व्यवसाय धरासायी हुने अवस्थामा पुगेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । झापाको अर्जुनधारा–८स्थित सामुदायिक भवनको सभाहलमा फर्निचर तथा फर्निसिङ व्यवसायी अर्जुनधारा नगर समितिको बुधबार आयोजित प्रथम अधिवेशनका सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा सहभागी संघ झापाका संस्थापक अध्यक्ष टेकबहादुर खजुमले मुलुकलाई आर्थिक सम्वृद्धिको पाटोमा अगाडी बढाउने वर्तमान सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्बन्धित निकायले साना उद्योग र व्यवसायको संरक्षण गर्नुपर्ने बताए । उनी भन्छन्–“हजारौं युवालाई प्रत्यक्ष रोजगार प्रदान गर्ने यस प्रकारको व्यवसायको संरक्षण गर्न चासो नदिने हो भने,‘सरकारको घोषणा नारामा सिमित हुनेछ ।”

त्यसैगरी आप्रवासी कामदारहरु जथाभावी यस व्यवसायमा संलग्न भएका कारण मुलुकभित्रको लाखौं रुपैयाँ बाहिरिरहेको अवस्थामा त्यसको नियन्त्रण गर्न स्थानीय सरकारले चासो दिनुपर्ने संघ झापाका अध्यक्ष चन्द्रप्रसाद गिरी बताउँछन् । उनले सम्पूर्ण व्यवसायीहरु एकजुट भएको खण्डमा फर्निचर व्यवसायप्रति राज्यको दृष्टिकोण सकारात्मक हुने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य भगिरथ लुँइटेल चौतर्फीरुपमा दबाबको सामना गर्नुपरेको फर्निचर व्यवसायको प्रबद्र्धन गर्न सबैको सहयोग आवश्यक रहेको बताउँछन् ।

यता अधिवेशनको समुद्घाटनपछी सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले फर्निचर व्यवसायमा देखिएको समस्याहरुको राम्रोसँग पहिचान गरी समाधान गर्न नगरपालिकाको भूमिका सकारात्मक रहने बताए । तर त्यसको लागि फर्निचर व्यवसायीहरु पनि एकजुट भई गुणस्तरिय उत्पादनको लागि सधैं लाग्नुपर्नेमा प्रमुख रानाको जोड रहेको थियो ।

संघका उपाध्यक्ष जीवनकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सचिव राकेश लुँइटेलले र कार्यक्रमको सञ्चालन संघ झापाका पूर्व सचिव छत्र कार्कीले गरेका थिए । सोही अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि राकेश लुँइटेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा जनक चौलागाईं, उपाध्यक्षमा सूर्य न्यौपाने, सचिवमा विजय राई, सहसचिवमा रुद्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा अप्सरा राई र सदस्यहरुमा अर्जुन श्रेष्ठ, चतुर चौधरी, नविन कार्की, प्रदिप चौधरी, मोती राजवंशी, मोहन खतिवडा र राजेन्द्र बुढाथोकी चयन भएका छन् ।

त्यसैगरी राजेश सुब्बाको संयोजकत्वमा छत्र कार्की, जीवनकुमार राई, विर्ख कुँवर र हरि माझी सदस्य रहेको पाँच सदस्यीय सल्लाहकार समिति गठन भएको बताइएको छ । हाल नगरमा दर्ता भई सञ्चालनरत् ६५ वटा फर्निचर उद्योगमा अनुमानित पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएको अध्यक्ष लुँइटेलले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here