झापा ।
कोरोना भाइसले विश्व ब्यापी रुपमा महामारीको अवस्था सिर्जना गरिरहेका बेला सरकारले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि युरोपसहित खाडी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।
कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको सङ्क्रमण रोकथामको लागि फिल्म हल, जिम सेन्टर, रङ्गशाला, पौडी पोखरी, डान्सबार र क्लबहरु बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य मुलुबाट आउने नागरिकमाथि रोक लगाएको हो ।
माथि उल्लेख गरिएका देशबाट आउने सबै यात्रुलाई २० मार्च २०२० (शनिवार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० (बैशाख ३ गते) सम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यस सम्बन्धी सूचना विदेशस्थित कुटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरुमा संप्रेसण गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय गरेको छ । यस कार्यको अनुगमन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने बैठकले गरेको छ ।
बैठकले अत्यावश्यक कामबाहेक नागरिकलाई हिँडडुल गर्न पनि प्रतिबन्ध लगाएको छ । धार्मिक, सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा धेरैलाई भेला हुन रोक लगाइएको छ । यसको अनुगमन गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायले गर्नेछन् । गाडीमा भिडभाड नगर्न, क्षमताभन्दा धेरै यात्रु नबोक्न र गाडी चलाउनुअघि गाडीमा किटाणु मार्ने औषधि छर्न सरकारले निर्देशन दिएको छ ।
एसईई परीक्षा स्थगित गर्नुका साथै बालविकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालय र विश्वविद्यालयको पढाइ चैत मसान्तसम्म रोक्न पनि सरकारले निर्देशन दिएको छ । १५ बुदे निर्णयमा सरकारले भ्रम सिर्जना गर्ने ब्यक्ति तथा सञ्चार माध्यमलाई कडा कारबार्ही गर्ने जनाएको छ । संवेदनशिल अवस्थामा सबैलाई सजग हुन सरकारले आग्रह गरेको छ ।